सामाजिक सञ्जाल, भ्रमको खेती र वास्तविकता – Janadesh Daily | ePaper

सामाजिक सञ्जाल, भ्रमको खेती र वास्तविकता


  • डा. शैलेन्द्र गिरी

विषय प्रवेशः

सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अंग बन्न पुगेको छ । यसको विकास बिस्तारलाई नियाल्दै जाने हो भने यसले कैयौं मूल्य र मान्यता स्थापित पनि गरको छ जस्तैः सूचना संप्रेषण गर्नेे, सूचनामाथिको पहुच राख्ने, ज्ञान आर्जन गर्ने, कुनै पनि सीप सिक्ने, जान्ने, नाता सम्बन्ध जोड्ने व्यापार प्रवर्द्धन र गुणस्तरीय सेवा प्रवाह । सामाजिक सञ्जालको प्रयोग गरेर संसारमै कैयौं राम्रा काम पनि भएका छन् ।

यस आलेखमा लेखकले सामाजिक सञ्जालका नकारात्मक पक्षलाई केलाउँदै वास्तविकता खेज्ने प्रयास हुनेछ । यसले संसारका खरबौं मानिसमा भ्रमको खेतीगर्न पनि सफल भएको छ । मानिसमा अनेक खालका पीडा, डर, बेचैनी, डिप्रेसन र अन्तमा मृत्युको मुखसम्म पनि यसले मानिसलाई पुर्याएको तथ्य छ ।

यससँग खेल्दा अत्यन्त रमाइलो, मजाक हुने, समय बितेको पत्तै नहुने बनाइदिन्छ । घर बिसाइदिन्छ, परिवार बिसाइदिन्छ । नाता सम्बन्ध बिसाइदिन्छ । आफ्नो टाढा र पराइ नजिक बनाइदिन्छ । यसको गलत प्रभावमा परेर कयौको घरबार बिग्रेकोछ । व्यापार डुबेको छ । कम्पनी टाट पल्टेको छ ।

धनसम्पतिमाथि अरुको रजाइ चलेको छ । विद्यार्थीको पढाइ चौपट भएको छ । ससाना नानीको क्रिएटिभिटीमा कमी हँदै गइरहेको छ । घरबाहिर खेल्ने, सिक्ने समय पनि बर्बाद भइरहेकोे छ । समाजमा विभिन्न विकृति विसंगति श्रृजन गर्न, विभिन्न जाति धर्म, विचारविरुद्ध आमसर्वसाधारण नागरिकबीच विभ्रम फैलाउनमा सामाजिक सञ्जालले मलजल गरेको छ ।

विभिन्न व्यक्ति समुहका लागि पूर्वाग्रह साध्ने साझा चौतारी बनेको छ सामाजिक सञ्जाल ।  कतिपयका लागि समाज र राष्ट्रमा भ्रम फैलाउने र सूचनामाथि जाजूसी गर्ने साधन बनेको छ । गलफती गर्ने र ननाथरी कुरा काट्नेका लागि चियापसल बनेको सामाजिक सञ्जाल । यसको गलत अभ्यासले कयौं देशका सरकारलाई समय समयमा अप्ठ्यारो पारिदिएको छ र राज्यले ठूलो मूल्यसमेत चुकाउनु परेको छ ।

वर्तमान अवस्था :

सामाजिक सञ्जालको प्रयोग गरी आफुलाई रिस उठेको मान्छेको हुर्मत काढ्ने, गालीगलौज गर्ने, लज्जास्पद र लाल्छना युक्त शब्द प्रयोग गर्ने प्रवृत्ति अत्यन्त हाबी हुदै गएको छ । कसैसँग बदला लिन उसको फोटो बिगारी, अश्लिल सामाग्रीको भिडियो बनाई विभिन्न व्यक्ति, समुह र आफन्तजनलाई ट्याग गरि पठाइदिने अनि घर, परिवार, समाज र राष्ट्रमा घृणा फैलाउने, भ्रम सिर्जना गर्ने कार्य दिनहुँ बृद्धि हुँदै गइरहेको छ ।

ब्रुस स्नाइअर (असार ६, २०७६, नयाँ पत्रिका र न्युयोर्क टाइम्स) लेख्नुहुन्छ, ‘सामाजिक संञ्जालले धेरै हदसम्म दुष्प्रचार बढाउन सहयोग गरिरहेका छन् । सामाजिक संञ्जालमा छाउने हल्ला, गलत सूचना र झुठा तथ्यविरुद्धको संघर्ष अहिले अत्यन्त महत्वपूर्ण हुँदै गएको छ । यिनीहरुले हल्ला, झुठो समाचार, सत्य तथ्यमा अधारित समाचार स्रोतलाई ओझेलमा पारिदिने गरि फैलिन्छन् । किनकि ती अवसरमा मानिसले तीब्र रुपमा ट्वीट, तस्वीर र भिडियो सेयर गर्ने गर्दछन् । यीमध्ये धेरैले राम्रो मनसायले नै त्यसो गरेको भए तापनि त्यसको परिणाम अत्यन्त खराब र कतिपय अबस्थामा घातक साबित हुने गरेको छ ।’

सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न बाहना बनाई नजिक हुने, घर, परिवार, व्यावसाय, संगठन र राज्यको बारेमा सूचना प्राप्त गर्ने र पछि त्यसैलाई दुरुपयोग गरी उनीहरुमाथि नै जाइ लाग्ने गरेका कयौं घटना छन् । मानिसले शब्द, तस्वीर, श्रव्य, दृश्य सामाग्री तयार गरी व्यक्ति, परिवार, समाज राष्ट्रविरुद्धमा विभिन्न भ्रम, अफवाह फैलाउने गरिरहेका पनि छन् ।

सामाजिक सञ्जालको गलत प्रयोग गरी कयौं ठाउँमा ठगी, अपहरण, बलत्कार, गालीगलौच, बैंकको पैसा चोरी गर्ने पनि गरेका छन् । भाद्र ५, २०७६ कान्तिपुर लेख्छ, ‘बारा जितपुरका २६ बर्षीय सागर मैनालीले यतिबेला साइबर अपराधको मुद्दा खेप्नु परेको थियो ।

केही समय पहिले उनले प्रधानमन्त्री खड्कप्रसाद शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेतालाई खुकुरी देखाउँदै अश्लिल गाली गर्दै गरेको ३० सेकेण्डको भिडियो फेसबुकमार्फत् सार्वजनिक गरेका थिए । यसले आममानिसमा नेताप्रति भ्रम, तिरष्कार, द्वेष। नैराश्यता, कुण्ठा पैदा गरेको प्रहरीले जनाएको छ ।’

‘सामाजिक सञ्जालमा छाएका व्यक्ति, समुह एकै विचार र समुहका हुँदैनन् । विविध समुहका ती मानिस, जो स्वप्न संसारमा रमाउन चाहन्छन्, आफ्ना असामाजिक विचारसहित रमाइरहेका हुन्छन्,’ किशोर नेपाल (मंसिर ७, २०७५ नयाँपत्रिका) लेख्नुहुन्छ ।

सामाजिक सञ्जालमा प्रेषित सामाग्री झुठा, भ्रम फैलाउने, दंगाफसाद गराउने, अरुको चरित्र हत्या गरी मानमर्दन गर्ने खालका रहेको हुँदा अब यो असामाजिक सञ्जाल बन्न पुग्यो । सामाजिक सञ्जाल ज्यादा असामाजिक विचार र सामाग्रीले भरिएका छन् ।

समाजिक सञ्जाल घुस्याहाले इमान्दारीको साथ शफथ खाने चौतारी बन्दैछ । समाजिक सञ्जालको कुनै परिभाषाको सीमा छैन र परिणाम पनि छैन् । कतिपयले समाजिक सञ्जालमा लाइक, कमेन्ट, सेयर, ट्याग र नयाँ विषय पोष्ट गर्न सल्लाह दिइरहेका हुन्छन् । उनीहरु स्वंमलाई थाह नहुन पनि सक्छ कि यसको परिणम के हुन्छ र यस कार्यले कुन सजाय आकृष्ट गर्छ भनेर ।

सामाजिक सञ्जाल र वास्तविकता :

सामाजिक सञ्जाल आफैमा सकारात्मक र नकारात्मक हुनेगरी विभाजित भएको हुँदैन । यो त सबै प्रयोगकर्ताका लागि साझा चौतारीजस्तै हो । तर यसका माध्यमबाट पे्रषित हुने समाचारको विश्वासनियता नजाँची त्यसलाई जथाभावी सेयर गर्नाले चर्चित व्यक्ति, परिवार र संस्था बदनाम हुन पुगेका छन् । उनीहरुको पीडामाथि झन पीडा थोपरिएको छ ।

हाम्रो समाजमा पनि कसैले गरको गल्ती वा अपराधको दोषी प्रमाणित कानुन वा न्यायलयले होइन्, समाजिक सञ्जाल प्रयोग कर्ताले न्याय दिने वा दण्डको फैसला गर्ने जस्तो देखिदैछ । उनीहरु आफै वकिल, आफै न्यायधीश बनी भए नभएका प्रमाण समाजिक सञ्जालमा पेश गरिरहेका हुन्छन् ।

वास्तविकताभन्दा अफवाहमा लहडिनेको भीड यसमा ज्यादा देखिन्छ । यस्ता कार्यले पीडक वा पीडितको पक्ष वा विपक्षमा न्याय दिलाउनुभन्दा भ्रम सिर्जना गर्न टेवा पुर्याइरहेको हुन्छ । निष्पक्ष अनुसंधानमा बाधा पुरयाइरहेको हुन्छ ।

सामाजिक सञ्जाल प्रयोग कर्तालाई के कुराको हेक्का हुँदैन भने आफुले लेखेको वा बोलेका कुरा कुनै व्यक्ति, परिवार, समाज र राष्ट्रको हितमा छ वा अहितमा, कानुनको पक्षमा वा विपक्षमा तर कतिपयले त यसो जानीजानी पनि गरेको पाइन्छ ।

उनीहरु भाइरल हिरो बन्न र युटुवलाई माध्यम बनाएर पैसा कमाउन चाहन्छन् । यी कुरामा चित्त नबुझेर होला बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला सामाजिक सञ्जाललाई ब्यंग्य गर्दै नयाँ पत्रिकामा लेख्नुहुन्छ, ‘नाम सामाजिक काम असामाजिक !’

फेसबुकले ३ लाखभन्दा बढी खाता अफवाह फैलाउने उद्देश्यले खोलिएको भए तापनि प्रयोगमा आउनुअघि नै निष्क्रिय गराइएको उसले जनाएको छ । त्यस्तै गरी फेसबुकले पनि ७ बटा पेज, ३ बटा समुह र ५ बटा खाता हटाएको जनाएको छ ।

नेपालमा समाजिक सञ्जाललाई नियमन र नियन्त्रण गर्ने कानुन नभएको होइन । कानुन लगाएरमात्र नियन्त्रण गर्न सकिन्छ यसो पनि होइन् । सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोगको हिसाबले हामी धेरै नै अपरिपक्व अवस्थामा छौं ।

हाम्रा बुवाआमा, आफन्त, गुरुहरु, मान्यजन, अंग्रजरु, भाइबहिनी, छोराछोरी र साथीसंगी सबै सामाजिक सञ्जालको प्रयोगमा रमाइरहेका छन् । के हेर्ने के नर्हेने, के लेख्ने के नलेख्ने, के सेयर गर्ने के नगर्ने, कस्तो सामाग्री राख्ने कस्तो नराख्ने धेरैलाई ज्ञान अलि कम छ, त कतिलाई छैन नै ।

पाए जति र भेटाए जति सबै हेर्ने, प्रयोग गर्ने त्यसो गर्दा त्यो दुरुपयोग भइसकेको थाह नहुन पनि सक्छ । जब हाम्रा बुवाआमा, आफन्त, गुरुहरु, मान्यजन, अंग्रजरुमा सामाजिक सञ्जाल संचालन र प्रयोगको बारेमा चेतना, ज्ञान आउँछ तबमात्र हाम्रो घर, परिवार, समाज, विद्यालय, महाविद्यालय र विश्वविद्यालयका गुरुले नियन्त्रणको प्रयास गर्नुहुने छ ।

आफन्तजन, अंग्रजले सल्लाह सुझाब दिनुहुनेछ जो अहिले उहाँलाई आवश्यक छ । अतः राज्यको ध्यान नियमन र नियन्त्रणभन्दा पहिले सामाजिक जागरणमा जान जरुरी छ । शिक्षक, प्रशिक्षक, समाजसेवी तयार गर्न जरुरी छ ।

राज्यले गुरु योजना बनाएर लागु गरेमा गर्न नसकिने कुरा पनि होइन । आमसंचारका माध्यम र सामाजिक संजाललाई नै सामाजिक जागरणमा कार्यक्रममा उपयोग गर्न सकिन्छ ।

सारांश :

सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगको हिसाबले हामी पनि अन्य विकसित देशका नागरिकभन्दा कम छैनौ । सामाजिक सञ्जाल प्रयोगकर्ताको दैनिक गतिविधि नियाल्दा लाग्छ यसको सदुपयोगमा भन्दा दुरउपयोगमा अलि बढी ध्यान गएको हो कि ?

आफुले प्रयोग गरेका र सामाजिक संजालमा राख्ने गरेका सामाग्रीको सकारात्मक र नकारात्मक पक्षको बारेका ज्ञानको कमी भएको हो कि ? यो हाम्रो सामाजिक मूल्य र मान्यताभित्र पर्छ कि पर्दैन, हाम्रो धर्म र संस्कृतिभित्र पर्छ कि पर्दैन ? हाम्रो कानुनले के कति कुरा छुट दिएको छ ? कति दिएको छैन ?

त्यस तर्फ हेक्का नभएको हो कि ? कारण जे सुकै भए तापनि आज कयौं सोझा नागरिक सामाजिक सञ्जाल सही तरिकाले संचालन र प्रयोग गर्न नजान्दा प्रहरीको फन्दामा पर्न बाध्य भएकाछन् । कतिले कानुनमा के लेखेको छ भन्ने थाहै नपाई समाजिक संजालमा जे मन लाग्यो त्यो लेख्दा, तस्वीर पोष्ट गर्दा मुद्दा खेपिरहेका छन् ।

शेखर खरेल (माघ २३, २०७५ नयाँपत्रिका) लेख्नुहुन्छ, सामाजिक सञ्जाल अहिले धेरैलाई ‘जन्जाल’ भएको छ । आफुलाई सामाजिक सञ्जालको पक्ष विपक्षमा उभ्याउनु पहिले यसका सकारात्मक र नकारात्मक पक्षबारे जानकारी हुन जरुरीछ ।

सामाजिक सञ्जालमा गरिने हल्का फुल्का र अनावश्यक टिका टिपप्णीले गर्दा, कानुनी झामेला बेहोर्नेदेखि जेल बस्नु परेका घटना हाम्रै समाजमा ताजा छन् भने कतिले स्थायी जागीरबाट समेत हात धुनु परेको पीडा त छदैछ ।

राज्यले अनुसन्धान गर्दा अपराधी नछुटुन् र सोझा जनता नफसुन् भन्ने कुरामा ध्यान केन्द्रित गर्न जरुरी छ । अन्यथा, धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तै हुनेछ । सूचना प्रविधि प्रयोगको अत्याधिका फाइदा उठाउँदै समाजिक संजालको उपायोग गर्दा सबै सचेत र सजग बनौं !

 

# (लेखक सूचना प्रविधि विज्ञ हुनुहुन्छ)

#  हालः कार्यकारी निर्देशक- स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुर
# Email: shailendra.giri@rec.edu.np

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्