बाबुरामको प्रस्तावः प्रचण्ड र स्वर्णिमको जुगलबन्दी गरौँ, गोरखालाई विकासको नमूना बनाऔँ – Janadesh Daily | ePaper

बाबुरामको प्रस्तावः प्रचण्ड र स्वर्णिमको जुगलबन्दी गरौँ, गोरखालाई विकासको नमूना बनाऔँ


जनादेश सोसल मिडिया वाच।

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको विकासका लागि अर्थविद् र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी जुगलबन्दी गर्न प्रस्ताव गरेका हुन् । उनले शनिवार राति एक ट्वीट गर्दै यस्तो प्रस्ताव गरेका हुन् । उनले गोरखालाई विकास र समृद्धिको नमूना बनाउनका लागि वाग्ले र प्रचण्डको चुनावी जुगलबन्दी हुनुपर्ने बताए ।

उनले विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन वाग्ले र प्रचण्डमा रहेको बताउँदै यसबारे गम्भीर भएर सोच्न समेत आग्रह गरेका छन् । उनले भनेका छन्,’मित्रहरूलाई अन्यथा लाग्दैन भने गोरखामा प्रचण्ड र स्वर्णिम वाग्लेको चुनावी जुगलबन्दी गर्दा कसो होला ? गोरखालाई विकास/समृद्धिको नमूना बनाउने हो भने विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन हुनैपर्छ । यी दुई व्यक्तित्वमा ती गुण छन् । गम्भीर ढंगले सोचौं !’

माओवादीमय बनेका बाबुराम
बाबुराम नेसपा बनाएपछि माओवादी केन्द्रसँग नजिकिएका छन् भने पार्टी एकताको गृहकार्य समेत अघि बढेको छ। भट्टराई आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्नको सांकेतिक अर्थ भएको बताएका छन्।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने सहमति गरेका थिए। सोही अनुसार, नेपाल समाजवादी पार्टीका केही नेताहरु माओवादीको चुनाव चिह्न ‘गोलाकारभित्रको हँसिया हथौडा’बाट प्रतिस्पर्धामा उत्रिँदैछन्।

त्यस्तै, यी दुवै पार्टीले साझा समानुपातिक सूची पनि बुझाएका थिए। त्यसका लागि निर्वाचन आयोगमा निवेदन समेत दिएका थिए। साझा बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका चार जना नेताहरु परेका छन्। नेपाल समाजवादी पार्टीकी दुर्गादेवी भट्टराई खस आर्य (महिला) को दशौं नम्बरमा छिन्। त्यसैगरी, ईश्वर रिजाल खस आर्य (पुरुष)को आठौं नम्बरमा, उमरावती देवी यादव मधेसी (महिला)को दोस्रो नम्बरमा र दुर्गा सोव दलित (महिला)को पाँचौं नम्बरमा छन्।

प्रचण्ड चितवन छोडेर गोरखाबाट उम्मेदवार हुने भएपछि एकथरिको रोइलो सुरु भएको छ। काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवार उठ्ने तयारी गरेका अब्दुस मियाँलाई ओलीले गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धामा उतारेका छन्। पार्टीले गरेको निर्णय अनुसार प्रचण्ड आगामी निर्वाचनमा गोरखाबाट उम्मेदवार बन्दै छन्। गोरखा- २ मा प्रचण्डलाई उम्मेदवार बनाउने निर्णय उचित रहेको माओवादी नेता कार्यकर्ताले बताएका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्