जनादेश सोसल मिडिया वाच।
४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य चुनावमा उम्मेदवाहरूको प्रचार प्रचारका लागि सामाजिक सञ्जाल फेसबुक राम्रो माध्यम बनेको देखिन्छ । हालसम्म उम्मेदवार र संघसंस्थाले ३ हजार २ सय ५८ सामग्री फेसबुकबाट प्रवर्द्धन (विज्ञापन) गरेका छन् । जसबाट ४४ लाख ८७ हजार ४ सय ७२ रुपैयाँ (३३,९९६ डलर) फेसबुकलाई तिरेका छन् ।
मेटाले नेपालमा ७ सेप्टेम्बरबाट पोलिटिकल एड ट्रान्सपरेन्सी टुल सुरु गरेको थियो । यसबाट उम्मेदवारले कतिवटा सामग्री कति डलरमा प्रवर्द्धन गरेको हो, हेर्न सकिन्छ ।
‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो,’निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले भने, ‘निर्वाचनमा फेसबुकबाट हुन सक्ने द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार रोक्न सहयोग पुग्छ ।’ दल र उम्मेदवारहरूले फेसबुकलाई बढीभन्दा बढी सदुपयोग गरून् भन्ने उद्देश्य मेटाको हो । त्यसैले मेटाले केही हप्ताअघि नेपालका राजनीतिक दलहरूलाई कस्तो सामग्री फेसबुकबाट प्रचारप्रसार गर्ने भनेर तालिमसमेत दिएको थियो ।
मेटामा नेपाली कर्मचारी
कसले कति खर्च गरेका छन् ? द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार भए नभएको हेर्न फेसबुकको मातृ कम्पनी मेटाले नेपाली कर्मचारी नै राखेको छ । तर कतिको संख्यामा राखिएको छ, त्यो भने खुलाइएको छैन । ‘दल र उम्मेदवारले नेपालीमा लेखेको हुन्छ । त्यसैले नेपाली भाषा बुझ्ने मेटाले राखेको छ,’ उपसचिव भट्टराईले भने ।
कसरी गर्दैछ आयोगले नियमन ?
पैसा नहुने उम्मेदवारले बुस्ट नगरी प्रचार सामग्री फेसबुकमा राख्छन् भने पैसा हुने उम्मेदवारले धेरैको माझमा पुर्याउन प्रचार सामग्री बुस्ट गर्ने गरेका छन् । पैसा हुने र नहुने दुवै उम्मेदवारका लागि समान अवसर दिन आयोगले प्रवर्द्धनका लागि फेसबुकबाट गरेको खर्च पनि आयोगले तोकेको सीमाभित्र गर्नुपर्ने प्रावधान गरेको छ । ‘सबै उम्मेदवारका लागि बराबर ठाउँ दिनुपर्छ भन्ने आयोगको नीति हो । उम्मेदवारले फेसबुकबाट खर्च गर्न सक्छन् तर सीमाभित्र रहेर गर्न भनिएको हो,’ भट्टराईले भने ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ बन्दसूचीमा रहेको एक उम्मेदवारले २ लाख खर्च गर्न पाउनेछन् । बन्दसूचीमा ११० जना उम्मेदवार भएमा उक्त पार्टीले २ करोड २० लाखसम्म खर्च गर्न सक्नेछन् । प्रदेशसभाको समानुपातिकतर्फ आयोगले बन्दसूचीमा रहेको एक उम्मेदवारले १ लाख ५० हजार खर्च गर्न पाउनेछन् । प्रदेशतर्फ २ सय २० सिट रहेकाले सबै उम्मेदवार बन्दसूचीमा रहेको पार्टीले ३ करोड ३ लाख खर्च गर्न पाउनेछन् । दलले प्रतिनिधिसभा र प्रदेशसभा गरेर जम्मा ५ करोड ५० लाखसम्म खर्च गर्न पाउने आयोगले जनाएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभाको एक उम्मेदवारले २५ देखि ३३ लाख र प्रदेशसभामा १५ देखि २३ लाख खर्च गर्न पाउने आयोगले सीमा तोकेको छ । फेसबुकबाट गरिएको खर्च पनि यही सीमाभित्र हुनुपर्ने आयोगले जनाएको छ ।
सूक्ष्म निगरानी, खर्चको विवरणमा समावेश नगरे कारबाही
दल र उम्मेदवारले फेसबुकलाई विज्ञापन गरेको र तिरेको रकम खर्चको विवरणमा समावेश नगरे कारबाही हुने जनाइएको छ । ‘फेसबुकमा कुन उम्मेदवारले कति खर्च गरेको हो, त्यो रिपोर्ट ७ वर्षसम्म रहन्छ । सहजै हेर्न मिल्ने भएकाले उम्मेदवारले खर्चको विवरणमा समावेश नगरे आयोगले जरिवाना लगाउँछ,’ भट्टराईले भने । आयोगले तोकेको खर्चको सीमाभन्दा बाहिर गएर दल र उम्मेदवारदले खर्च गरे नगरेको सूक्ष्म निगरानी गरिरहेको छ । ‘आयोगले निर्वाचका लागि तोकेको खर्च सीमाभित्र भयो भएन भनेर हेर्न नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई सूक्ष्म ढंगले अनुगमन गर्न आग्रह गरेका छौँ,’ प्रमुख आयुक्त दिनेश थपलियाले भने ।
प्रचारका लागि सजिलो माध्यम, कसले कति खर्च गरे ?
फेसबुकमा एमाले, माओवादी, कांग्रेसका शीर्ष नेताहरूले पनि आफ्नो चुनावी सामग्रीको विज्ञापन गरेका छन् । मओवादी केन्द्रका अध्यक्ष एवं गोरखा–२ का उम्मेदार पुष्पकमल दाहालले १०७ डलरमा २ वटा सामग्री प्रवर्द्धन गरेका छन् । जसपाका उपेन्द्र यादावले ३८० डलरमा १९ वटा सामग्री प्रवर्द्धन गरेका छन् । कांग्रेसका शशांक कोइरालाले १०० डलरमा ४ वटा र पूर्णबहादुर खड्काले ३ वटा प्रवर्द्धन गरेका छन् ।
कांग्रेसकै विश्वप्रकाश शर्माले १४० डलरमा १५ वटा विज्ञापन गरेका छन् । एमालेका प्रदीप ज्ञवालीले ११६ डलरमा ११ वटा सामग्री प्रवर्द्धन गरेका छन् । राप्रपा नेपालका कमल थापाले १०० डलरमा चारवटा सामग्री प्रवर्द्धन गरेका छन् । जसपाका मोहम्मद इस्तियाक राईले ६३५ डलरमा ६४ वटा विज्ञापन गरेका छन् । एकीकृत समाजवादीका सोमप्रसाद पाण्डेले ७१५ डलर खर्च गरेका छन् । उनले ११ वटा सामग्री प्रवर्द्धन गरेका छन् । एमालेका अग्नि खरेलले १०० डलर खर्च गरेका छन् । उनले १ वटा सामग्री प्रवर्द्धन गरेका छन् । मानुषी यमी भट्टराईले १० वटा सामग्रीका लागि २७४ डलर खर्च गरेकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झाले २१ वटा सामग्रीका लागि ३८७ डलर खर्च गरेका छन् । राप्रपाकी कुन्ती पोखरेलले ३० वटा सामग्रीका लागि ३६२ डलर फेसबुकलाई तिरेकी छिन् । जसपाका राजेन्द्र श्रेष्ठले ४८ वटा सामग्रीको लागि ६८२ डलर तिरेका छन् । एमालेकी भगवती चौधरीले चारवटा सामग्रीका लागि १०० डलर खर्च गरेकी छन् । जसपाका दीपेन्द्र झाले १२ वटा सामग्रीका लागि १३५ डलर तिरेका छन् ।
कांग्रेसका प्रदीप पौडेलले सातवटा सामग्रीका लागि २४८ डलर खर्च गरेका छन् । माओवादी केन्द्रकी पम्फा भुसालले १० वटा सामग्री प्रवर्द्धनमा १८३ डलर खर्च गरेकी छन् । राप्रपाका प्रकाशचन्द्र लोहनीले दुईवटा विज्ञापनमा १०० डलर खर्च गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले ५५ वटा सामग्रीका लागि १५१ डलर तिरेका छन् । त्यसैगरी, कांग्रेसका सुरजचन्द्र लामिछानेले सातवटा सामग्रीका लागि २५० डलर खर्च गरेका छन् । एमालेका किरण पौडेलले १७ वटा विज्ञापनमा ५८४ डलर खर्च गरेका छन् ।
बढी खर्च गर्नेमा स्वतन्त्र उम्मेदवार
फेसबकुबाट आफ्नो सामग्री धेरै बुस्ट गर्नेमा स्वतन्त्र र साना पार्टीका उम्मेदार धेरै छन् । काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार श्री गुरुङले ८ वटा विज्ञापनका लागि १२९१ डलर तिरेका छन् । काठमाडौं ५ कै स्वतन्त्र उम्मेदवार सुशान्त श्रेष्ठले ४४ वटा सामग्री प्रवर्द्धन गर्न १४३९ डलर खर्च गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले १३ वटा विज्ञापनमा ६३५ डलर खर्च गरेका छन् ।
काठमाडौं २ का स्वतन्त्र उम्मेदवार अनुप बोहराले ३१ वटा विज्ञापनमा ६११ डलर खर्च गरेका छन् । काठमाडौं–४ का स्वतन्त्र उम्मेदवार शिवेन्द्र केसीले २३ वटा विज्ञापनमा ४९८ डलर खर्च गरेका छन् । काठमाडौं ५ ‘ख’ का स्वतन्त्र उम्मेदवार जगन्नाथ लामिछानेले तीनवटा विज्ञापनमा ४४३ डलर खर्च गरेका छन् ।
काठमाडौं ५ का स्वतन्त्र उम्मेदवार शैलेन्द्र बस्नेतले १८ वटा विज्ञापनमा २७५ डलर खर्च गरेका छन् । काठमाडौं ९ का स्वतन्त्र उम्मेदवार मिलन पाण्डेले एउटा विज्ञापनका लागि १०० डलर तिरेका छन् । काठमाडौं ५ की स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले २० वटा विज्ञापनमा १०८ डलर खर्च गरेकी छन् । नेपालका लागि नेपालका पार्टीका डा. सुरेश बस्नेतले २८ वटा सामग्रीमा १५६८ डलर खर्च गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले १४ वटा विज्ञापनका लागि ४१४ डलर खर्च गरेका छन् ।
अरु मिडियामा पैसा तिरेर प्रचारप्रसार गर्नुभन्दा फेसबुक सस्तो र सजिलो माध्यम भएको बताउँछन् उम्मेदवारहरू । ‘सबैको घरघरमा पुग्न गाह्रो हुने रहेछ । फेसबुबाट धेरैमाझ पुग्न सजिलो हुने रहेछ । खर्च पनि कम लाग्ने भएकाले प्रयोग गरेको हुँ,’ नेपालका लागि नेपाल पार्टीका डा. सुरेश बस्नेत भन्छन् । पर्चा पम्प्लेट बनाउनुभन्दा सहज र सजिलो माध्यम फेसबुक नै भएको उनको तर्क छ ।