मुना न्यौपाने –भक्तपुर । स्वीडेन अलुम्नी नेटवर्क नेपालले डोको रिसाइक्लर्स (फोहोर व्यवस्थापन र पुन प्रयोग गर्ने काममा संलग्न संस्था) र प्लोग्गा (एयिननब, स्वीडेनमा सुरु भएको वातावरण स्वस्थ राख्न शुरु भएको पहल)सँगको सहकार्यमा चाँगुनारायण मन्दिर क्षेत्रमा हालसालै ‘प्लोग्गिङ्ग’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम स्वीडिस इन्सटिट्युटको आर्थिक सहयोगमा भएको थियो ।
चाँगुनारायण मन्दिर परिसरमा आयोजित उक्त कार्यक्रममा करिब ६० विद्यार्थी, उद्यमी, सामाजिक संस्थामा सम्बद्ध व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमबाट १०९ किलो फोहोर संकलन गरिएको छ ।
प्लोग्गिङ्ग (स्वीडिसमा प्लोग्गा) भन्ने अवधारणा स्वीडेनका एरिक ओहल्स्तोर्मले विकास गरेका हुन् जसको अर्थ जोग्गिङ्ग गर्नुका साथै फोहोर उठाउनु हो । यो अवधारणाले आफू दैनिक सक्रिय रही आफ्नो स्वास्थ्यको ख्याल गर्दा वातावरणलाई पनि सफा गरी वातावरणको पनि किन ख्याल गर्ने कुरामा जोड दिन्छ । उक्त कार्यक्रम सोही अवधारणाअन्तर्गत जोग्गिङ्ग गर्दा फोहोर उठाउने बानी विकास गर्ने लक्ष्यका साथ गरिएको थियो ।
उक्त कार्यक्रममा एरिक ओहल्स्तोर्म आफैँ उपस्थित थिए जो हाल नेपालको प्लोग्गिङ्ग टुरमा रहेका छन् । उनलाई प्लोग्गिङ्गको लागि साथ दिँदै एक स्वीडिस शेफ एल्ला निकिसकोभा पनि उक्त कार्यक्रममा उपस्थित थिइन् ।
यस कार्यक्रममा फोहोर व्यवस्थापनमा पहिचान बनाएका डोको रिसाइक्लर्सले सङ्कलित भएको फोहोर व्यवस्थापनमा सहयोग गर्नुभएको थियो । संकलन भएको फोहोर डोको रिसाइक्लर्सको सानोठिमी भक्तपुरमा रहेको मेटिरियल रेकोवेरी फसिलिटीमा व्यवस्थापन र पुन:प्रयोग हुनेछ । यस्तै चाँगुनारायण मन्दिर परिसरमा फोहोर संकलन अनि व्यवस्थापनको लागि दुईवटा फोहोर जम्मा गर्ने बाकस तथा डोको पनि चाँगु नगरपालिकाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो ।