काठमाडौंमा घातक वायु प्रदूषणः तत्काल पानी नपर्ने, चिकित्सकले दिए दीर्घरोगी र वृद्धवृद्धा जोगाउन सुझाव – Janadesh Daily | ePaper

काठमाडौंमा घातक वायु प्रदूषणः तत्काल पानी नपर्ने, चिकित्सकले दिए दीर्घरोगी र वृद्धवृद्धा जोगाउन सुझाव


जनादेश वाच।
काठमाडौं उपत्यकामा जाडोसँगै वायु प्रदूषण बढ्दै गएको छ । आइतबार साँझ ४ः४५ बजेकोे अपडेटअनुसार वायु प्रदूषण मापन सूचक (एक्यूआई) ११५ पुगेको छ । शनिबार यो सूचक १५९ सम्म पुगेको थियो । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ५० सम्म भएको वायुलाई स्वस्थकर मानिन्छ । यस्तै, १०० भन्दा माथि एक्यूआई भएको वायुलाई विशेष समूहका लागि घातक मानिन्छ । त्यस्ता समूहमा छातीको समस्या भएका, वृद्धवृद्धा, मुटुसम्बन्धी रोग भएका तथा बालबालिका पर्दछन् ।

तत्काल वर्षाको सम्भावना छैन
वायुको गुणस्तर सूचकांक (एक्यूआई)मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यूआईले वायुमा हुने आँखाले देख्न नसकिने १० र २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई एकीकृत स्वरुपमा बुझाउँछ । एक्यूआई जति बढ्दै गयो, त्यति घातक मानिन्छ । काठमाडौंमा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्डभन्दा ५ गुणासम्म बढी हुने गरेको यसअघिको तथ्यांक छ । मंसिरबाट बढ्दै गएको प्रदूषणको मात्रा पुस र माघमा २.५ को मात्रा सबभन्दा अधिक हुने गरेको छ ।

डिसेम्बर पहिलो सातासम्म वर्षा हुुुनुपर्ने भए पनि तेस्रो सातासम्म पनि वर्षाको सम्भावना नहुँदा बाक्लो तुँवालो जमेर बसिरहेको मौसमविद् बताउँछन् । यो समयमा वर्षा हुनुपर्ने हो, तर कमजोर न्यून चापीय प्रणालीका कारण छिटफुटबाहेक तत्काल वर्षाको सम्भावना देखिँदैन । र, यो मौसमा ठूलो हावाहुरी पनि नआउने हुँदा बाक्लो तुवाँलो र सवारीजन्य धुलोधुवाँका कारण वायुमण्डल प्रदूषित भएको देखिएको मौसमविद् मञ्जु बासी बताउँछिन् ।

दीर्घरोगी र वृद्धवृद्धा जोगाऔँ
विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण मृत्युको चौथो प्रमुख कारक हो । प्रदूषित वायुका कारण विश्वमा वार्षिक ७० लाख मानिसको मृत्यु हुने गरेको छ । ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ का अनुसार नेपालमा वायु प्रदूषणजन्य रोगका कारण बर्सेनि ४२ हजार १०० जनाको मृत्यु हुने गरेको छ । अहिले बढ्दै गाएको वायु प्रदूषणलाई ‘एन्टी अक्सिजन पोलुसन’ भनिएको छ । अर्थात् वातावरणमा अक्सिजनको मात्रा कम हुनु र अन्य दूषित ग्यासहरु हावी हुनु । एन्टी अक्सिजन पोलुसनले छालाको बाहिरी तहलाई चाहिने भिटामिन ‘सी’ र ‘ई’को मात्रालाई घटाइदिन्छ । यसको परिणाम छालाको बाहिरी तहमा विभिन्न समस्या हुँदै यसको असर भित्रसम्मै पुग्छ ।

त्यस्तै, अचानक हुने यस्तोखाले मौसम परिवर्तनलाई मानिसको छालाले तुरुन्तै पचाउन सक्दैन । र, एलर्जी, छाला सुख्खा हुँदै जाने डिहाइड्रेसन, एक्जिमाजस्ता समस्या देखा पर्न सक्छन् । त्यसैले पनि यो प्रदूषणको समयमा सकेसम्म बाहिर नहिँड्न तथा हिँड्नैपरे छालाको लागि विशेष सुरक्षा कवच अपनाउन आवश्यक हुन्छ । जाडो बढेसँगै प्रदूषित हावापानीका कारण त्रिवि शिक्षण अस्पतालमा श्वासप्रश्वासका बिरामी बढेको बताउँछन् वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बम । ज्येष्ठ नागरिक, रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकहरुका लागि प्रदूषित हावापानीका कारण संक्रमणले छिटो आक्रमण गर्ने, श्वासप्रश्वासमा समस्या निम्त्याउने तथा निमोनियाको सम्भावना बढाउने हुँदा सतर्कता अपनाउन उनको सुझाव छ ।

सामान्य अवस्थाका व्यक्तिलाई समेत प्रदूषित हावापानीले छाती घ्यारघ्यार हुने, लामो समय ज्वरो आउनेजस्ता समस्या निम्त्याउने भएकाले यस्ता समस्या देखिइहाले तुरुन्तै चिकित्सकको सल्लाह लिन डा. बम सुझाउँछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्