जनादेश वेदर वाच।
आज पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । तराईका केही भू–भागमा हुसु र कुहिरो रहेको छ । काठमाडौंमा आज विहान पौने ६ बजेको तापक्रम ७ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आज मौसममा आंशिक बदली हुनेछ । यद्यपि, काठमाडौंमा वर्षाको सम्भावना भने छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू–भागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति प्रदेश–१ मा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
वर्षा, हिमपात र हुस्सुका कारण देशका अधिकांश भू–भागमा तापक्रम घट्दै गएकाले जाडो बढेकाले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।