युवराज पंगाली,
सुर्खेत । सुनका गहनासहित एक जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । गएराति करिब ९ बजे वीरेन्द्रनगर–३ स्थित मनबहादुर सुनारको घरबाट सुर्खेत प्रहरीले झण्डै २० तोला हिरा जडित सुनको गहना बरामद गरेको थियो ।
विशेष सुराकीको आधारमा स्थानीय मनबहादुर सुनारले घरमा लुकाएर राखेको अवस्थामा प्रदेश र जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको छ भने सुनारालाई पक्राउ गरेको छ ।
करिब ४ दिनअघि सुन ल्याइएको बारे प्रहरीलाई सूचना आएपछि डीएसपी रामप्रसाद घर्तीको कमान्डमा टोली परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले बताए ।
एसपी राजेन्द्र भट्टका अनुसार सुनका २ वटा कडा, १६ वटा चुरा, ५ वटा झुम्का, ३ वटा काँटा र ४ वटा श्रीफूल बरामद गरिएको छ । थप सुनसमेत लुकाइएको आशंकामा खोजी कार्य जारी रहेको उनले बताए । सुन सुर्खेत भन्दा बाहिरबाट चोरी गरेर ल्याइएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको एसपी भट्टले बताए ।
पक्राउ गरिएको व्यक्तिले सबै कुरा नभनेकाले पनि यथार्थ खुल्न नसकेको उनको भनाई रहेको छ ।
सुन बरामद गर्न गएका डीएसपी घर्तीका अनुसार घरको हात धुने धाराको खाली स्पेसमा सुन लुकाइराखिएको अवस्थामा भेटिएको थियो ।
सुनारका भतिजालाई समेत पक्राउ गरी ल्याइएको उनले बताए । सुन नजोखेरै सिलबन्दी गरेर राखिएकोले कति छ भन्ने यकिन नभएको उनको भनाइ छ ।