बिबिसी । च्याटजिपिटीले छोटो समयमा विश्वभर तरंग फैलाइरहँदा कतिले यसलाई सिर्जनात्मक खतराको पूर्वसंकेतसमेत भएको बताएका छन्
कृत्रिम बौद्धिकता (एआई)को एउटा टुल सार्वजनिक भएको धेरै समय भएको छैन । गत वर्ष नाभेम्बरमा सार्वजनिक भएको च्याटजिपिटीले छोटो समयमा विश्वभर तरंग फैलाएको छ । कतिले यसलाई सिर्जनात्मक खतराको पूर्वसंकेतसमेत भएको बताएका छन् ।
खासमा च्याटजिपिटीले कन्टेन्ट लेख्ने काम गर्छ, जुन अति सटिक हुन्छ । झट्ट हेर्दा मान्छेले नै लेखेको जस्तो प्रतीत हुन्छ । यही टुल गुगलका लागि खतराको संकेत बनेको र दुई वर्षभित्र यसले गुगललाई ध्वस्त पार्ने जिमेलका संस्थापक पलले केही समयअघि भनेका थिए । हाल यो प्रोग्राममा केही कमी देखिन्छन् । तर, समयसँगै च्याटजिपिटी बलियो हुँदै जानेछ । यसलाई लिएर केहीले खुसी व्यक्त गरिरहँदा केहीले भने भयको महसुस गरेका छन् । इन्टरनेटमा च्याटजिपिटीबारेका टीकाटिप्पणी पढ्दा बारम्बार खतरा भन्ने शब्द आउँछ । केही मानिस यो प्रोग्रामले तीव्र रूपमा मानव मस्तिष्कको नक्कल गरिरहेको बताउँछन् ।
के हो च्याटजिपिटी ? : च्याटजिपिटी च्याटबट हो । यसले विभिन्न प्रश्नको लिखित जवाफ दिन्छ । त्यो पनि सटिक । साथै, व्यक्तिगत समस्यामा पनि यसले सल्लाह दिन्छ । अतः यो टुल्समार्फत बढीभन्दा बढी कन्टेन्ट सिर्जना गर्ने अपार सम्भावना देखिएको छ ।
उदाहरणका लागि यसले सरल उपाय सुझाउन सक्छ । साथै, सोही उपायको नयाँ संस्करण पनि तत्काल सिर्जना गर्न सक्छ । कविता लेख्नेदेखि एकेडेमिक पेपर र विशेष मान्छेलाई लेखिने पत्र लेख्नमा पनि च्याटजिपिटीले सहयोगी भूमिका खेल्न सक्छ । च्याटजिपिटी एउटा यस्तो प्रोग्राम हो, जसले हरेक प्रश्नको जवाफ केही क्षणमै दिन्छ । कविता लेख्ने काम दिनुस् या प्रेमपत्र, यसले तत्काल लेखेर स्क्रिनमा देखाइदिन्छ । यद्यपि, यसको स्तरबारे अनेक कोणबाट बहस गर्न सकिन्छ । तर, जुन गतिमा लेख्छ, त्यसबारे होइन । अंग्रेजीसहित करिब १०० वटा भाषामा उपलब्ध च्याटजिपिटीले अंग्रेजीमा भने सटिक उत्तर दिन्छ ।
यो सिस्टमलाई ओपन–एआई नामक कम्पनीले सन् २०१५ मा स्याम अल्टमेन र एलन मस्कले विकसित गरेका थिए । तर, पछि सन् २०१८ मा मस्क यसबाट छुट्टिएका थिए । सार्वजनिक भएको पाँच दिनमै च्याटजिपिटीका पाँच लाखभन्दा बढी प्रयोगकर्ता बने । यो प्रोग्रामलाई परिष्कृत बनाउन प्रयोगकर्तासँग च्याटबटको प्रश्नोत्तर प्रयोग गरिएको थियो ।
ओपन–एआईका अनुसार च्याटबट परीक्षण र शोधको अवधिमा सबैका लागि निःशुल्क हुनेछ । तर, केही मानिसले भविष्यमा च्याटजिपिटी प्रयोगार्थ ओपन–एआईले शुल्क लिन सक्ने आकलन गरेका छन् । यसैबीच, कम्पनीले च्याटबट अझै परीक्षण अवधिमै रहेकाले कहिलेकाहीँ गलत उत्तर पनि दिन सक्ने बताएको छ । कारण, च्याटबटमा सन् २०२१ सम्मको मात्रै डेटा हिस्ट्री समावेश छ ।
गुगललाई चुनौती : अहिले सबैभन्दा ठूलो गुरु भनेकै गुगल हो । आफूलाई चाहिने जानकारी गुगलबाट एक क्लिकमै पाउन सकिन्छ । तर, कतिपय भने गुगलको दबदबालाई चुनौती हुने बताउँछन् । यति हुँदा पनि च्याटबटले सही नै उत्तर बताउँछ भनी आँखा चिम्लनु गलत हुनेछ ।
यस्तो एआई प्रोग्रामले धेरैभन्दा धेरै डेटा संकलन गरेर राख्छ । च्याटजिपिटीको मुख्य ध्येय शब्द र संवादबीचको अनुमानमा उत्तर दिने हो । यसले अल्गोरिदम प्रयोग गरी शब्द वा वाक्यलाई सही ढंगले लेख्छ । यसलाई ‘लार्ज ल्यांग्वेज मोडल’ (एलएएम) पनि भनिन्छ ।
अहिले सबैभन्दा ठूलो गुरु भनेकै गुगल हो । आफूलाई चाहिने जानकारी गुगलबाट एक क्लिकमै पाउन सकिन्छ । तर, कतिपय भने च्याटजिपिटी गुगलको दबदबालाई चुनौती हुने बताउँछन् । यति हुँदा पनि च्याटबटले सही नै उत्तर बताउँछ भनी आँखा चिम्लनु गलत हुनेछ ।
साओ पाउलो विश्वविद्यालयका प्रोफेसर अल्भारो मचादो डायसका अनुसार यस्तो च्याटबट निर्माण गर्दा यसलाई कैयौँ साधारण प्रश्न सोधिन्छ । त्यसपछि टेक्निसियनले यसको विस्तृत जवाफ दिन्छन् । यदि च्याटबटको जवाफ सही नभएको खण्डमा सिस्टममा सही जवाफ राखिन्छ । र, यस्तो थुप्रै प्रश्नमा गरिन्छ । च्याटजिपिटी हुबहु मान्छेझैँ बोल्न सिक्छ । मचादोका अनुसार भाषा बुझ्न सक्ने भएकैले यसलाई विशेष बनाउँछ । इन्जिनियर पनि अहोरात्र यसलाई स्मार्ट बनाउन लागिपरेका छन् ।
खासमा, इन्जिनियर अल्गोरिदममार्फत दिइएका जवाफ चेक गर्छन् । अनि प्रोग्रामलाई प्रतिक्रिया दिँदै यसलाई अझै सुदृढ बनाउने कोसिस गर्छन् । प्रयोगकर्ताको प्रश्नको जवाफ अक्षरमा हुन्छ, जुन आफैँमा गम्भीर हुन्छ । यस्तै, च्याटजिपिटीलाई गल्ती स्वीकार गर्ने तालिम पनि दिइएको हुन्छ । यसले गलत धारणालाई ठीक गर्दै असान्दर्भिक प्रश्नलाई अस्वीकारसमेत गर्छ ।
कति खतरनाक ? : च्याटजिपिटीले सुविधा र संकट सँगसँगै ल्याएको छ । जुन जागिर शब्द र वाक्यमा निर्भर थिए, त्यसमा खतराको घण्टी बज्न थालेको छ । उदाहरणका लागि पत्रकारितालाई लिन सकिन्छ । यदि सिस्टम अझै सुदृढ बन्यो भने पत्रकारको जागिर अपेक्षाअनुसार कम हुनेछ । हुन सक्छ, यस्तो समय पनि आउँछ, जहाँ उनीहरूको आवश्यकता नै पर्नेछैन । किनकि, हरेक आर्टिकल च्याटबटले नै लेख्नेछ । च्याटजिपिटीले कोडिङ गर्ने कम्प्युटर प्रोग्रामिङ सेक्टरमा पनि हस्तक्षेप गर्न सक्ने देखिन्छ । अमेरिकास्थित न्युयोर्कमा विद्यार्थीले च्याटजिपिटीमार्फत गृहकार्य गर्न थाले । परिणाम, लगभग सबै स्कुल र सार्वजनिक डिभाइसमा प्रतिबन्ध लगाउनुप¥यो ।
ओपन–एआई पनि आफ्नो च्याटबटद्वारा उत्पादित कन्टेन्टलाई भिन्दै परिचय दिने कोसिस गरिरहेको छ । टेक्स्ट (सामग्री) च्याटबटले लेख्यो वा कुनै व्यक्ति भन्ने पत्ता लगाउने अल्गोरिदम यसमा छन् । च्याटबटबाट नक्कल गरी होमवर्क र असाइनमेन्टमा पेस्ट गर्न सक्ने सम्भावनाले शिक्षा क्षेत्रमा भय सिर्जना गरिरहेको छ ।
आधा मानिस, आधा मेसिन : ‘आर्टिफिसियल इन्टेलिजेन्स : फ्रम जिरो टु मेटाभर्स’ कृतिका लेखकले परिवर्तन हुँदै गइरहेको समयसँगै आफूहरू पनि परिवर्तन हुनुपर्ने धारणा राख्छन् । उनका अनुसार जवाफभन्दा पनि प्रश्न विशेष बनेको छ । कसरी प्रश्न गर्ने र प्रश्न गर्न कसरी सोच्ने भन्नेतिर ध्यान दिनुपर्छ । यसले विद्यार्थीलाई आधा मान्छे र आधा मेसिनमा रूपान्तरण गर्नेछ । तर, अध्यापकले पनि यसलाई सही तरिकाले प्रयोग गर्न सिक्नुपर्ने माग उठिरहेको छ ।
यहाँ विद्यार्थीको चिन्ताको विषय मात्रै होइन, क्रिएटिभिटी र कन्टेन्टको काम गर्ने मान्छेमा चिन्ता र भयको सिर्जना गरेको छ । च्याटजिपिटी सार्वजनिक भएको १० दिनभित्रै सन फ्रान्सिस्कोका एक डिजाइनरले दुई दिनमा बालबालिकाका लागि सचित्र किताब तयार पारेका थिए । प्रोफेसर डायसका अनुसार क्रिएटिभिटी (सिर्जनात्मक शक्ति) का लागि असाधारण खुबी चाहिन्छ । तर, अल्गोरिदमको सहयोगमार्फत सिर्जना गरिएका चिजले मानिसमा सिर्जनात्मक हुने प्रवृत्ति कम हुन्छ ।