जनादेश वाच।
छोटो समयमा अधिकतम प्रयोगकर्ता आकर्षित गर्न सफल नवीनतम प्रविधि च्याटजीपीटीको विश्वव्यापी चर्चा छ। आर्टिफिसियल इन्टेलिजेन्ट एआईको ल्यांग्वेज मोडल च्याटबट, च्याटजीपीटीमा जति उत्सुकता सायदै यसअघिका कुनै सिलिकन भ्यालीका ’स्टार्टअप’मा थियो।
नोभेम्बर ३० मा मेटा भर्जनमा सार्वजनिक हुँदा च्याटजीपीटीले १० दिनमै एक करोडभन्दा बढी प्रयोगकर्ता बटुलेको थियो। त्यसयता, जीपीटीको कार्यक्षमताबारे विश्लेषण र सुझावसहित कैयौँ समाचार बनिरहेका छन्। घर, विद्यालय, क्याम्पस, कार्यालय, सामाजिक सञ्जाल जताततै गसिफको विषय बनिरहेको छ, च्याटजीपीटी।
प्रयोगकर्ताको आकर्षण र चर्चासँगै सशुल्क भर्जन च्याटजीपीटी ’प्लस’ सार्वजनिक गरेको केही समयमै नयाँ भर्जन च्याटजीपीटी–४ पनि सार्वजनिक गरिएको छ।
च्याटजीपीटी एआई (कृत्रिम बुद्धिमत्ता), यान्त्रिक सिकाइमा आधारित छ। यसले सोधिएका प्रश्नको तुरुन्तै र सहज जवाफ दिन्छ। प्रश्नकर्ताको जिज्ञासा मेटाउने मात्र नभई नयाँ संस्करणको च्याटजीपीटीले तस्वीरकै आधारमा ’रेसिपी’ (खानाका परिकार) बताइदिन सक्छ भने रोगको लक्षण बताएकै भरमा उपचार विधि सुझाउन सक्छ।
नवीन प्रविधि भएकाले यसको क्षमताको सीमितता कति छ? कसरी काम गर्छ? उत्तरका स्रोतहरू के हुन्? यसको प्रयोगले कुन क्षेत्रमा कस्तो प्रभाव पार्न सक्छ? प्रयोग बढ्दै जाँदा भाषा र लेखन क्षेत्रको रोजगारी त गुम्ने होइन? यीसहित च्याटजीपीटीबारे थुप्रै मानिस कौतूहल छन् र सशंकित पनि।
के हो च्याटजीपीटी?
आवश्यक जानकारी जसरी हामीले गुगलको सर्च इन्जिनमा गएर खोज्छौँ र जानकारी लिन्छौँ। च्याटबोट जेनेरेटिभ प्रिट्रेनिङ टान्सफर्मर, जीपीटीले पनि यसरी नै काम गर्छ, तर उन्नत शैलीमा। मुनाफा आर्जन नगर्ने उद्देश्यले सन् २०१५ मा स्थापना भएको कम्पनी ओपन एआईले च्याटजीपीटी ल्याएको हो। मानिसले जसरी सन्देश तथा सूचनाहरूमा प्रतिक्रिया जनाउँछन् च्याटजीपीटीले पनि त्यसरी नै काम गर्छ। यसका लागि च्याटजीपीटीमा ल्यांग्वेज ट्रान्सफर्मर मोडेल प्रयोग गरिएको छ जुन यान्त्रिक सिकाइमा आधारित छ। डिप लर्निङ अर्थात् गहन सिकाइको माध्यमबाट यसले प्रश्नकर्ताको जिज्ञासा मेटाउँछ। सोधेका प्रश्न र सूचनाबारे जानकारी दिँदा वस्तुस्थिति र अवस्थाअनुसार मानिसले जस्तै उत्तर दिन्छ।
छोटो समयमै प्रयोगकर्तामाझ लोकप्रिय बनेको च्याटजीपीटीको कार्यक्षमताले प्रविधिको क्षेत्रमा क्रान्ति नै ल्याइदिएको विश्लेषण गरिएको छ। समग्रमा बुझ्दा च्याटजीपीटी एउटा यस्तो शक्तिशाली प्रविधि हो जसमा मेसिनेले प्राकृतिक भाषाको प्रयोग गरी मानिसका उत्सुकता मेटाउने काम गर्छ। यसका लागि १० अर्बभन्दा बढी शब्दमार्फत पूर्वप्रशिक्षित गराइएको छ भने यसलाई ९५ वटा भाषामा प्रश्न सोध्न र उत्तर लिन सकिन्छ।
च्याटजीपीटीले दिने उत्तर केबल एउटा क्षेत्रमा सीमित छैन। चिकित्सा विज्ञान, सफ्टवेयर निर्माण, कानून, साहित्य, व्यावसायिक प्रस्तुतिलगायत कैयौँ क्षेत्रबारे साधेका प्रश्नको क्षणभरमै स्वीकार्य उत्तर दिने सामर्थ्य राख्छ।
ओपन एआई कम्पनी प्रमुख कार्यकारी निर्देशक साम अल्टम्यानका अनुसार हालै सार्वजनिक जीपीटी ४ अघिल्लो संस्करणभन्दा थप सक्षम र सटिक छ, तर त्रुटिरहित भने छैन। उनी भन्छन्, “पछिल्लो संस्करण अघिल्लोभन्दा बढी रचनात्मक छ भने कम त्रुटिपूर्ण र कम पक्षपाती छ।”
ओपन एआईले पनि च्याटजीपीटीले सबै प्रश्नको पूर्ण रूपमा सही उत्तर दिने यकिन गर्न नसकिने बताउँछ। सही तरिकाले प्रश्न नसोध्दासम्म च्याटजीपीटीले सही उत्तर पनि दिन नसक्ने कम्पनीको भनाइ छ।
च्याटजीपीटी के हो भन्ने प्रश्नमा अलजजिराका विज्ञान र प्रविधि संवाददाता मोहम्मद हद्दादले भन्छन्, “यो एउटा भाषा मोडेल हो। विभिन्न भाषा मोडेल प्रयोग गरी मानिससँग अन्तरक्रिया गर्न सक्छ। जस्तो कि च्याटजीपीटी कार हो भने जीपीटी ३ र जीपीटी ४ इन्जिन हुन्।”
एआईले कसरी काम गर्छ?
गुगल क्रोम, बिङजस्ता सर्च इन्जिनमा कुनै एउटा शब्दपछि अर्को शब्द के आउँछ भनेर पढ्न वा भाषा बुझाउन एउटा गणितीय सूत्र एल्गोरिदमले काम गरिरहेको हुन्छ। यस प्रविधिलाई ल्याङग्वेज मोडल भनिन्छ। जहाँ हामीले लेखेका शब्दपछि अर्को के शब्द र कुन कुन आउँछन् भन्ने कुरा एल्गोरिदमले तुरुन्तै बताइदिन्छ।
इन्टरनेटमा राखिएका लाखौँ करोडौँ वाक्यमध्येबाट उपयुक्त शब्द मेसिन आफैँले निकालेर हाम्रो जिज्ञासा हल गरिदिन्छ। यस्तो प्रविधि गुगलमा देख्न सकिन्छ। तर यसभन्दा पनि परिष्कृत रूपमा काम गर्न आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अध्येताहरूले ५० औँ वर्षदेखि काम गरिरहेका छन्। कम्प्युटरको क्षमता बिस्तार, हाडवेयर र सफ्टवेयरको क्षेत्रमा प्रविधिको विकासका कारण पहिले अपत्यारिलो लाग्ने कुरा सम्भव भइरहेका छन्।
वाक्य बनाउने मात्र नभएर एआईसँग मानिसले जस्तै कुरा गर्ने तर्क खुबी र भनेको जस्तो चित्र कोर्ने, निर्देशन दिएका आधारमा अडियो/भिडियो निर्माण गर्ने सक्ने प्रविधिको समेत विकास भइसकेको छ।
भाषासँग सम्बन्धित पछिल्ला र उल्लेखनीय उदाहरण हुन्, ओपन एआईले विकास गरेको च्याटजीपीटी र गुगलले परीक्षण गरिरहेको बार्ड।
च्याटजीपीटी यस्तो प्रविधि हो जहाँ मसिनले मानिससँग जसरी नै कुराकानी हुन्छ र सोधिएका प्रश्नको व्याकरण मिलेका र तार्किक वाक्य नै प्राप्त गर्न सकिन्छ।
एआईलाई थप परिष्कृत र असीमित क्षमताको बनाउन ओपन एआई र माइक्रोसफ्टबीच साझेदारी भएको छ। माइक्रोसफ्टले च्याट जीपीटीको उन्नत संस्करण जीपीटी-४ बिङमा सार्वजनिक गरेको छ।
गुगलले विकास गर्न लागेको एआई टुल्स बार्ड परीक्षणको चरणमा रहँदा चिनियाँ कम्पनी बाइडु, अलिबाबा, हुवाई लगायतले एआई प्रविधिमा आधारित अध्ययन थालेको बताइएको छ।
मानिसले लेखेका वाक्य र बनाएका चित्रहरूभन्दा पनि उत्कृष्ट काम गर्ने प्रविधि विकास भइसकेको छ। कुन सूचना साँचो र कुन झुटो भनेर छुटाउन मुस्किल पर्ने अवस्था पनि छ। त्यसैले एआईलाई नियन्त्रण, नियमन गर्ने र मानवीय मूल्य मान्यतामा आधारित बनाउनेतर्फ काम पनि भइरहेका छन्।
“विकास र प्रविधिको क्षेत्रमा कायापलट ल्याएको नयाँ एआई प्रविधि अहिले शुरूआती चरणमा छ। त्यसैले भविष्यमा के के गर्न सकिएला भनेर अहिले नै परिकल्पना गर्न उचित हुँदैन। केबल स्मार्ट सहयोगी रूपमा हाल प्रयोग भइरहेको छ। विकसित हुँदै जाँदा केही क्षेत्रमा मानिसको आवश्यकतालाई न्यून बनाउने, यसको मद्दतले मानिसको कार्य क्षमता बढाउने, एनिमेसन चलचित्र नै कम्प्युटरले बनाइदिने र अन्य थुप्रै कल्पना बाहिरका कुरा पनि सम्भव हुन सक्छन्,” स्टानफोर्ड विश्वविद्यालयका प्रविधि क्षेत्रका अध्येता विवेक पौडेल भन्छन्, “प्रविधिको विकास अहिले भूराजनीतिक हतियारको रूपमा पनि प्रयोग भइरहेको छ। धनी देशहरूले यस्ता प्रविधि देशबाहिर निर्यात नगर्ने र अरूको पहुँचबाट बचाउने नीतिसमेत ल्याइसके। विकासशील तथा गरिब देशहरूले भने उपलब्ध भएका प्रविधि खपत गर्नुबाहेक अन्य विकल्प नै छैन। किनकि यस्ता प्रविधि विकासमा धेरै वैज्ञानिक अनुसन्धान, स्रोत साधन र क्षमता आवश्यकता पर्छ।”
प्रयोग
च्याटजीपीटी सार्वजनिक भएपछि एआईप्रति मानिसहरूको साँचो बढ्दै गएको छ। साना ठूला कम्पनीहरूले पनि सेवा दिन च्याटजीपीटीको प्रयोग गर्न थालेका छन्। विद्यार्थीहरूले आफ्नो प्रोजेक्ट बनाउन, कामदारले प्रिजेन्टेसन बनाउन च्याटजीपीटीकै सहारा लिन थालेका छन्। विश्व प्रसिद्ध कम्पनीहरूले पनि आफ्ना व्यवसायमा यसलाई जोडेका छन्।
बुजफिडले आफ्नो कन्टेन्टहरू च्याटजीपीटबाट लेखाउने योजना बनाइरहेको समाचार बाहिरिएको छ। त्यस्तै, मानसिक स्वास्थ्य सेवा दिने कम्पनी कोकोले च्याटजीपीटीलाई आफ्ना ग्राहकको सहायतामा प्रयोग गरिरहेको छ।
च्याट जीपीटीमा १० बिलियन डलर खर्चिएको माइक्रोसफ्टले आफ्नो प्रतिद्वन्द्वी कम्पनी गुगलसँग प्रतिस्पर्धा गर्नका लागि आफ्नो सर्च इन्जिन बिङमा च्याट जीपीटीलाई समावेश गरेको छ। अनलाइन प्रशिक्षण सेवा दिने कम्पनी खान इजुकेसनले पनि च्याट जीपीटीलाई आफ्नो प्लेटफर्ममा उपलब्ध गराएको छ। यसले गर्दा च्याट जीपीटीजस्ता एआई टुलहरू विकासमा लगानी बढ्ने अपेक्षा गर्न सकिन्छ।
यता, बैंक अफ अमेरिकाका विश्लेषकको प्रक्षेपणअनुसार २०२६ सम्ममा नयाँ नयाँ एआई प्रविधिहरूको विकासका लागि ९०० बिलियन डलर लगानी हुने छ।
यस्तै, वित्तीय विश्लेषण गर्ने कम्पनी प्राइस वाटर हाउसकुपरले भनेको छ, “भारत र चीनसहित विश्व अर्थतन्त्रमा एआई क्षेत्रले सन् २०३० सम्ममा १५.७ ट्रिलियन डलरको योगदान गर्ने छ।”
प्रभाव
च्याटजीपीटीजस्ता एआई टुल्सका कारण अमेरिकामा वार्षिक रूपमा ८० हजार डलर आम्दानी गर्ने कामदारको जागिर जोखिममा पर्न सक्ने अध्ययनका क्रममा खुलासा भएको बिजनेस इन्साइडरले उल्लेख गरेको छ। अमेरिकी श्रम बजारमा च्याटजीपीटीले कस्तो प्रभाव पार्छ भनेर ओपन एआई र प्यान्सेलभेनिया युनिभर्सिटीका अनुसन्धाताहरूले संयुक्त रूपमा अध्ययन गरेका थिए।
अमेरिकी श्रम विभागको तथ्यांकका आधारमा भएको अध्ययनअनुसार थोरै तलब पाउनेभन्दा धेरै तलब लिने कामदारहरूलाई च्याट जीपीटीजस्ता एआई टुल्सले प्रभाव पार्नेछ, सूचना सम्प्रेषणको क्षेत्रको जागिर खतरामा पर्ने छ।
उत्पादन र कृषि क्षेत्रसँग सम्बन्धित उद्योगमा भने प्रभाव न्यून पर्ने छ। प्रोग्रामिङ र लेखनसँग सम्बन्धित कामदारको जागिर खोस्ने क्षमताका च्याट जीपीटीजस्ता नयाँ एआई टुल्सहरू विकास भइरहेको पनि अध्ययनले देखाएको छ।
तर ब्लक चेन इन्जिनियर, वित्तीय विश्लेषक, तथ्यांक विश्लेषणसँग सम्बन्धित काम अकाउन्टेन्ट, लेखा परीक्षक, गणितिज्ञ, सञ्चारसँग सम्बन्धित काम गर्नेहरू लेखक, ट्रान्सलेटर, कवि र गीतकार लगायतको जागिर प्रभावित हुने जोखिम सूचीमा राखिएको छ।
प्रतिस्पर्धा
च्याटजीपीटी बहसको विषय बनिरहेकै बेला यसको प्रतिस्पर्धीमा उत्रिने तयारीमा छ गुगलको एआई च्याटबट बार्ड। सीमित प्रयोगकर्तामाझ परीक्षण भइरहेको बार्डलाई गुगलले निकट भविष्यमा सार्वजनिक गर्ने तयारी गरेको छ। गुगलले अहिले फिक्सेल सुपरफ्यानलाई च्याटिङ अनुभव लिनका लागि अनुरोध गरेको छ।
बार्डले गत फेब्रुअरीमा जेम्स वेब टेलिस्कोपबारे सोधिएको प्रश्नमा गलत विवरण पेस गरेको थियो। त्यसपछि यो सार्वजनिक गर्ने मिति पर धकेलिएको थियो। बार्ड प्रयोगकर्तामाझ सार्वजनिक भएपछि च्याट जीपीटीको विकल्प बन्ने छ तर यी दुईमध्ये कसले प्रयोगकर्तालाई बढी आकर्षित गर्लान् त?
एआईको यात्रामा शुरूआती चरणमा रहेको बताउँदै गुगलका कार्यकारी प्रमुख सीईओ सुन्दर पिचाई भन्छन्, “धेरैभन्दा धेरै प्रयोगकर्ताले बार्डको क्षमता परीक्षण गर्दा तिनीहरूको प्रतिक्रियाले हामीलाई अचम्मित पार्ने छ। विवरणहरू गलत भेटिन सक्छन्।”
बार्डको कार्यक्षमताको विषयमा आलोचनात्मक प्रतिक्रिया आउन सक्छन् भन्दै पिचाइले आफ्ना कर्मचारीहरूलाई इमेलसमेत पठाएका थिए, “यात्रामा प्राप्त सबै प्रतिक्रियाको स्वागत गर्दै, सिक्दै कार्यक्षमता परिष्कृत गर्दै लैजाने छौँ।“ पिचाइका अनुसार ८० हजार गुगल प्रयोगकर्ताले बार्डको परीक्षणमा सहयोग गरेका छन्।
एआईबारे मस्क, गेट्स र नोम चोम्स्कीको धारणा
एआईको विकास र च्याट जीपीटीबारे पक्ष र विपक्षमा बहस जारी नै छ। यसै सम्बन्धमा माइक्रोसफ्टका सह संस्थापक बिल गेट्स प्रविधि क्षेत्रमा एआईको विकासको पक्षपोषणमा उभिएका छन्। गेट्सले एआईको विकासलाई प्रविधि क्षेत्रको दोस्रो क्रान्तिकारी प्रगति भनेका छन्। उनले च्याट जीपीटीलाई सन् १९८० मा ग्राफिक्स युजर इन्टरफेसपछिकै क्रान्तिकारी प्रविधिका रूपमा प्रस्तुत गरेका हुन्। ब्लग साइट गेट्स नोटमा एआईको युग शुरू भयो भन्ने शीर्षकमा लामो लेख लेख्दै आफूलाई एआईको पक्षमा उभ्याएका गेट्सले च्याट जीपीटीको मातृ कम्पनी ओपन एआईसँग सन् २०१६ मा जोडिएको र उनीहरूको प्रगतिले आफू प्रभावित भएको बताएका छन्।
“मैले भर्खरै प्रविधि क्षेत्रमा ग्राफिक्स युजर इन्टरफेस पछिकै महत्त्वपूर्ण प्रगति देखेको छु। यसले आगामी पाँचदेखि १० वर्षमा हासिल गर्ने सक्ने सबै चिजबारे सोच्न प्रेरित गरेको छ,” उनले भनेका छन्।
एआईको विकास माइक्रोप्रोसेसर, व्यक्तिगत कम्प्युटर, इन्टरनेट र मोबाइल फोन जतिकै मौलिक भएको उनको भनाइ छ। आगामी दिनमा एआईले मानिसहरूको काम गर्ने तरिका, सिकाइ, यात्रा, स्वास्थ्य हेरचाह र संवाद गर्ने तरिका बदल्ने प्रक्षेपण गर्दै उनी भन्छन्, “सम्पूर्ण उद्योग यसैको वरिपरि घुम्ने छन्। यसलाई कति उपयोगी तरिकाले प्रयोग गर्छन् त्यसैअनुसार व्यवसायले आफ्नो अलगै पहिचान बनाउने छन्।“
उनले अगाडि भनेका छन्, “संसारकै खराब अवस्थामा रहेको असमानता घटाउन एआईले कसरी काम गर्ला भनेर सोचिरहेको छ।“
ओपन एआईसँग शुरूआती अवस्थामा जोडिएर अलग भएका विश्वका धनाढ्य एलन मस्क भने एआईको विपक्षमा आफ्नो धारणा राख्छन्। एआईको विकासले मानव ‘सभ्यतामा लागि ठूलो जोखिम’ निम्त्याउने उनको चेतावनी छ।
दुबईमा आयोजित एक कार्यक्रममा मस्कले च्याटजीपीटीले एआईमा अविश्वसनीय प्रगति देखाए पनि भविष्यप्रति सबै चिन्तित हुनुपर्ने बताएका हुन्। “मानव सभ्यताको भविष्यका लागि सबैभन्दा जोखिमपूर्णमध्येको एक हो,” उनले भनेका थिए।
यो सकारात्मक र नकारात्मक दुवै भएको सुरक्षा संवेदनशीलतालाई हेरेर एआईलाई स्पष्ट रूपमा नियमन गर्नुपर्ने उनको धारणा छ। एआईको राम्रोसँग नियमन नभएको खण्डमा यो कार र विमान दुर्घटनाभन्दा पनि खतरनाक बन्ने मस्कको चेतावनी छ।
सिलिकन भ्यालीका लगानीकर्ता साम अल्टम्यानसँग मिलेर गैरनाफामुखी स्टार्टअपका रूपमा मस्कले ओपन एआई स्थापना गरेका थिए। संस्थाको सह–स्थापनामा योगदान पुर्याएका मस्कले २०१८ मा कम्पनी छोडेका थिए।
यता, भाषाशास्त्री नोम चोम्स्की प्रविधिको क्षेत्रमा भइरहेका क्रान्तिकारी प्रगतिहरूलाई आशासँगै चिन्ताको विषय ठान्छन्। लेखन वा संवादका क्रममा भोग्ने समस्यालाई एआईले समाधान गर्ने पक्षबाट आशावादी हुन सकिए पनि यसले भाषा र ज्ञानको मौलिक अवधारणालाई प्रविधिमा समावेश गर्दा भाषा विज्ञान र नैतिकता कमजोर बन्ने चोम्स्कीको तर्क छ। उनीसहितका लेखकहरूले न्युयोर्क टाइम्समा प्रकाशन गरेको लेखमा भाषामा एआईको प्रयोगलाई लिएर चिन्ता व्यक्त गरिएको छ। उनीहरूले एआईको क्षेत्रमा बढ्दो लगानीलाई हास्यास्पद र दुःखद भनेका छन्।