बन्दना ढकाल- एकथरी दर्शक/श्रोता भन्दैछन्, ‘वाह ! क्या प्रकाश सपूतजस्तो वर्गचेतले भरिपूर्ण व्यक्तिले यस्ता खाले गीत रचना गरिराख्नुपर्छ । हो, महिलाहरू ‘यौनकर्म’ मा लागेका हुन्, उनीहरू पनि श्रमिक हुन्, उनीहरूको ‘यौनकर्म’ पनि श्रममा गणना हुनुपर्छ र त्यसलाई मान्यता दिइनुपर्छ ।’ अर्काथरीले आलोचना र प्रश्न उठाइरहेका छन्– महिलाको ‘अस्मिता’ लाई ‘योनि’ मा राख्ने ? ‘महिलालाई पापी ठहर्याउने ?’
तर, गीतमाथिको समर्थन र आलोचनाबीच ध्यान नगएको पक्ष हो– पुँजीवादको चरम उपभोग पनि गर्ने, तर पुरुषको एक चुम्बनबाटै मृत्यु अँगाल्ने सकम्बरीजस्ता चरम अस्मितावादी र ढोंगी महिला पात्रलाई प्रधानता दिनु । पुँजीवादी संस्कृतिको द्योतक हो यो । यसबारे झन् बढी विमर्श हुनु आवश्यक छ ।
सपूतको गीतिरचना अर्थात् शब्द र गीतका लागि खिचिएको दृश्यकथालाई दुई खण्डमा विभाजित गरेर अध्ययन गर्न सकिन्छ । गीतका शब्द र दृश्यबारे बहस गर्न अनेक सामाजिक सन्दर्भ र अर्थराजनीतिक पृष्ठभूमि अघि सार्न पनि सकिन्छ । तर, त्यसअघि कुनै पनि कलासंगीत सिर्जनाको आधारभूमि के हो ? त्यो कुन समाज व्यवस्था र आर्थिक जग–धरातलमा उभिएको छ ? भन्ने निर्क्योलको खाँचो हुन्छ ।
अहिलेको नेपाली समाज चरम उपभोक्तावादको दलदलमा भासिएको छ । पुँजीवादी बजारले सबै विषय वा वस्तु नाफा कमाउने उद्देश्यले उपभोक्ताका निमित्त तयार पारेको हुन्छ । यहाँ गर्भ बिक्छ, यौवन किस्तीमा बेच्न राखिन्छ, युवतीका पिँडौला र स्तन बेच्नका लागि तयार पारिन्छन्, युवकका बलिष्ठ ज्यान देश वा विदेशमा बेच्नका लागि हुर्काइन्छ । प्रत्येक श्रमजीवी वर्गका ज्यान किस्ता–किस्तामा बेच्नका लागि किस्तीमा सजाएर राखिएको छ, चाहे त्यो खाडीका बगरमा पठाउन होस् वा गाडीका ढोका पिट्न । हवाईजहाज चढेर आएका सामान उपभोग गर्न जब मानिसले आफैंलाई दाउमा लगाउँछ, त्यस समाजको चरित्र लम्पट भइसकेको हुन्छ । देशभित्र न उद्यम, न उत्पादन, न सिर्जना छ । तर, सानकै लागि भए पनि हाम्रो समाज नयाँनयाँ भर्सनका मोबाइल, नयाँनयाँ फेसन, महंगा गाडीका पछिपछि कुदिरहेकै छ ।
युवतीले वर्ष दिनअघि लगाउने चिपिक्क परेका पाइन्ट अहिले ह्वारल्लाङे बनेका छन् । मोबाइल राख्ने खल्ती लुगामा हुनुको साटो औंलाका कापमा अड्याएर हिँड्ने मोबाइल–कभरले बजार खाएको छ । आवश्यकता अनुसारका सामान राख्ने झोलाको साटो पैसा मात्रै अट्ने छातीमा टाँस्ने पर्स लोकप्रिय छ । पाँच–छ महिनामा पुरानो भइजाने यस्ता फेसनेबल सामग्री सबै युवालक्षित छन् । सबैभन्दा उर्वर, सबैभन्दा सिर्जनशील अनि छिट्टै तरंगित र प्रभावित हुने युवावयलाई नै बजारले सबैभन्दा बढी दपेटेको हुन्छ ।
उच्च आर्थिक हैसियत हुने परिवारका सदस्यले त बजारका प्रत्येक सामान उपभोग गरिरहेकै छन् । ‘खान पुगोस्, दिन पुगोस्’ शैलीको जीवन बाँचिरहेकै छन् । तर, पेट पाल्न र आङ ढाक्न मात्रै पनि असाध्यै कष्टकर र श्रमसाध्य जीवन भोगिरहेको जुन वर्ग छ, तिनीहरूका निम्ति यो बजारले आतंक र पीडा मात्रै थपिदिन्छ । पेटमा तातो झोल परोस्–नपरोस्, बरु हातमा चम्किलो मोबाइल, फेसनअनुसारका लुगा हुनैपर्ने बनाइदिन्छ । बजारले आफ्नो यही मायावी गोलचक्करमा फसाएर युवाहरूलाई आफ्नो शरीर नै बन्धक राख्ने स्थितिमा पुर्याइदिन्छ । चाहे त्यो सुन्दरी प्रतियोगिता होस्, या अनेक नाममा जातजातअनुसार र उमेर–उमेरअनुसार हुने मोडल प्रतियोगिता– उनीहरू आफ्नो शरीरलाई कहिले उत्पादक कम्पनीको, कहिले ठेकेदारको र कहिले विज्ञापन एजेन्सीको बन्धक बनाइरहेका छन् । सपूतको दृश्यकथामा प्रयुक्त पात्र (सकम्बरी) ले पनि आफ्नो न्यूनतम आधारभूत आवश्यकताभन्दा मोडल बन्ने र त्योभन्दा बढी ‘नाम’ कमाउने वा ‘चल्ने’ नाममा आफ्नो शरीर प्रयोग गरेकी छन् । र, त गीतमा बारम्बार सोधिन्छ– कानैमा झुम्काना, कल्ले किन्दियो ?
यहाँ झुम्काना न त न्यूनतम आवश्यकता हो, न त पाउजू, न हातको घडी, न टीभी । यी त पेटको राँको निभाएपछि आउने द्वितीय आवश्यकता हुन् । त्यसैका लागि शरीरै दाउमा लगाउनुपर्ने बाध्यता हुँदैन । जब मानिस आफ्नो आवश्यकता अरूले निर्धारण गरिदिने बाटामा हिँड्छ तब यी झुम्काना, लालीपाउडर, हीराका फुली उसको अत्यावश्यक वस्तु बनिदिन्छ । र, त्यसको परिपूर्ति खातिर हिस्टेरिक रूपमा पछिपछि दौडिन्छ । र, महिला भन्छे, ‘मलाई खानाभन्दा झुम्काना र लालीपाउडर चाहिन्छ । मोबाइल किन्देऊ बूढा भैंसी बेचेर !’ र, पुरुष भन्छ, ‘प्रत्येक विश्वकपमा हामी सबैभन्दा नयाँ भर्सनका टीभी किनेर खेल हेर्छौं ।’ कसले कसलाई विलासी वस्तु किनिदियो ? त्यो अलग्गै बहसको विषय हो किनभने आजका धेरै महिला आत्मनिर्भर छन् । आत्मनिर्भरता बढेको छ, तर महिलाको आत्मनिर्भरता बजारमा बन्धक छ । ऊ कमाउन स्वतन्त्र छे, तर बजारले बेच्ने माल किन्न विवश छे । उसलाई लोग्ने वा अरू कसैमाथि निर्भर हुनु नपर्ला, तर देखासिकीमा स्कुटरै किन्नका लागि शरीरसम्म बेच्न खुसीखुसी तयार छे ।
‘नियत’ किताबमा पत्रकार डीबी खड्काले विलासी वस्तुकै चाहनामा एक युवती यौनधन्दामा लागेको यथार्थ–कथा लेखेका छन् । आफैं यौन–क्रेता बनेर ती युवतीसँग पुगेका उनले सरकारी कर्मचारीकी छोरी बजारको आवश्यकताले अविभूत भएर देहव्यापारमा पुगेको घटना प्रस्तुत गरेका छन् । स्कुटर चलाएर काठमाडौं घुम्ने रहर, त्यसमा बाउको सीमित कमाइ, उसका विलासीमध्येको एक स्कुटरको माग घरबाट अस्वीकृत हुँदा देहव्यापार लागेको कुरा खड्काले लेखेका छन् । ‘नर्क पुगेको एउटा स्कुटी’ शीर्षकको आलेखमा उनले कुनै ग्रामीण युवती होइन, काठमाडौं बालाजु बाइसधारा घर हुने एक शिक्षित युवती स्कुटरकै लोभमा कसरी देहव्यापार गर्न थाली भन्ने धरातलीय यथार्थ देखाएका छन् । जब आधारभूत आवश्यकताभन्दा बढी भोगविलासले मानिसलाई छोप्न थाल्छ, तब उसलाई बाउआमाका सही वचन पनि काँडाजस्ता लाग्न थाल्छन् र बजारले ढोकामा रातो कार्पेट ओछ्याएर अलि पर निस्सासलाग्दो भ्वाङमार्ग देखाउँदा पनि ती गुलाबजस्ता देखिन्छन् । अनि उपभोक्तावादको दास बनेर आफ्नै किड्नी र शरीर बेच्ने मार्गमा वेग मार्छन् ।
फूलमाया सकम्बरीमा रूपान्तरण भएपछि निर्देशकले जब हिरोइनको प्रस्ताव गर्छ, तब सकम्बरीले स्वीकृतिसँगै डिनर खाने प्रस्ताव गर्दै आफ्नै शरीर पस्किदिन्छे । यो दृश्यले बताउँछ– यो सकम्बरीको बाध्यता होइन, महत्त्वाकांक्षाले पार गरेको उच्चता हो । फूलमाया बनुन्जेल ऊ रोजीरोटीका लागि वेटर बनेकी हुन्छे, ग्राहकका खराब नियतसँग भिडिरहेकी हुन्छे । उसलाई उसका संरक्षणकर्ता, जागिरदाता र निकटका भनिनेहरूले अर्थात् समग्र परिवेशले नै गलत दिशामा लाग्न बाध्य गराउँछ, अनि बिस्तारै महत्त्वाकांक्षापूर्तिको गलत बाटोउन्मुख हुन्छे । धनाढ्य व्यक्तिसँग शरीरको सौदाबाजी गरेर पार्लर पुग्ने, बजार चल्तीका लुगा पहिरिँदै सफल मोडल र नायिका बन्ने लक्ष्योन्मुख हुन्छे, यहाँ उसले शरीरलाई भर्याङ बनाउन सिकिसकेकी हुन्छे । अनि प्रमुख बनिदिन्छ– ‘जाग्यो रहर पापी सहरको, छैन सिमाना आफ्नै रहरको ।’ पुँजीवादले व्यक्तिमा असीमित रहरहरू जन्माइदिन्छ र ती रहरहरू पूर्तिका लागि जुनसुकै मार्ग अँगाल्न पनि बजार खुला गराइदिन्छ ।
पैसा र शक्तिको आडमा यौवन किन्ने, उपभोग गर्ने पुरुषहरू छ्यासछ्यास्ती छन् । महिला होस् वा पुरुष, उपभोक्तावादले ग्रस्त भइसकेपछि अनावश्यक चीज पनि अत्यावश्यक भइसक्छन् । ‘कम्युनिस्ट घोषणापत्र’ मा मार्क्स–एंगेल्सले भनेझैं पुँजीवादी व्यवस्थामा महिलाको शरीरलाई पनि मुनाफा कमाउन प्रयोग गरिन्छ । सकम्बरी गीतले त्यही पुँजीवादी चरित्रको एक पक्षको यथार्थर् प्रतिविम्बित गरेको छ । बजारले महिला शरीरलाई वस्तुकरण गर्छ, अनि महिला पनि आफ्नो शरीरलाई कसरी शक्ति–आर्जनमा उपयोग गर्ने भनेर सोच्न थाल्छे । केही वर्षअघि एक जना राजनीतिकर्मी महिलाले साथीहरूबीचको चियागफमा भनेकी थिइन्, ‘यदि महिलाले राजनीति वा अरू कुनै क्षेत्रमा चाहेजस्तो सफलता, पद हासिल गर्ने हो भने आफ्नो शरीरको पनि उपयोग गर्न सिक्नुपर्छ ।’ यो भनाइ त्यही पुँजीवादी र उपभोक्तावादी चरित्रको प्रतिविम्ब हो । यसको अर्थ सबै महिला त्यस्ता हुन्छन् भन्ने होइन । कष्टसाध्य मिहिनेत, अनेक विद्रोह र निरन्तरको संघर्ष गरेर समाजमा स्थापित महिलाको जीवन आफैंमा सम्मानयोग्य छ । नेपाली समाजमा राजनीतिलगायत सबै क्षेत्रमा यस्ता संघर्षशील महिलाको ठूलो संख्या छ । नाम, पद र शक्ति हासिल गर्न शरीर प्रयोग गर्ने महिलाको संख्या बजारमा अति नै कम र सीमितै होला, तर यस्तो प्रवृत्ति नै नभएको चाहिँ होइन । यस्तै सीमित संख्याका महिलाले नै बाध्यात्मक अवस्थामा शरीर बेच्नुपर्ने महिलाका पीडालाई र वास्तवमै उत्पीडनमा परेका महिलाका न्यायका आवाजलाई भद्दा मजाक बनाइदिने गरेका छन् ।
प्रकाश सपूतको गीतका महिला पात्रहरू निर्विकल्प देहव्यापारमा संलग्न हुन पुगेको देखाइएको छ । ‘पीर’ गीतमा प्रयुक्त महिला वा पुरुष होस् वा अहिलेकी सकम्बरी, उनको सिर्जनामा महिला पात्रहरू किन यो दलदलमा गइरहेका छन् ? त्यो अलग्गै बहस र खोजीको विषय हुन सक्छ । सपूत मनोरञ्जन क्षेत्रका अँध्यारा–उज्याला पाटामा राम्रैसँग परिचित भएकैले होला, उनी त्यही पक्षमा बढी केन्द्रित छन् । मनोरञ्जन भनिने क्षेत्रमा जुन वर्गको पकड छ, त्यसका कारण पनि महिलामाथिको शोषण अत्यधिक छ भनिन्छ । त्यसैले पनि शक्ति–संरचनाका कारण फूलमायाबाट सकम्बरीतिरको यात्रा तय गराइएको हो कि ? सपूतको जुन वर्ग–धरातल छ, जुन उत्पीडित समुदायबाट उनी विकसित भएर आएका छन्, उनका सिर्जना क्रमशः यथार्थतिरको यात्राउन्मुख छन् । दोहोरी ब्याटलको ‘आयो तेरो मिस ः चुप लाग् साला ठिस्’ गीतदेखि ‘जाँदा आकाशमा आउँदा बाकसमा’ को पीडा बोक्ने ‘बोल माया’, हुँदै ‘सकम्बरी’ सम्म आइपुग्दा बजारको विकृति र उपभोक्तावादी प्रवृत्ति चित्रण गर्न सक्ने चेतना उनका सिर्जनामा विकसित भएका छन् । उनीबाट तत्काल जीवन शर्माले गाएजस्तै ‘चाहिँदैन मलाई सिसाको महल’ शैलीका गीत अपेक्षा गर्न सकिँदैन । कम्तीमा उनी आफू पनि प्रश्नको बीचबाट गुज्रिँदै आजको विकृत यथार्थलाई प्रश्न गर्न खोज्दै अघि बढिरहेका छन् ।
सकम्बरीको बाँकी यात्रा अब कता जाला ? गायक सपूतले सकम्बरीलाई शरीर–उपयोगकै बाटो हुँदै संसदीय राजनीतिमा र शक्तिमा प्रतिस्थापित गराउँछन् कि, आजको विकृत बजार–चेतना र उपभोक्तावादको चंगुलबाट निस्केर संघर्षको नयाँ यात्रामा हिँड्ने नयाँ फूलमाया निर्माण गर्छन् ? समयले गायक सपूतसँग यतिखेर यही प्रश्न गरिरहेको छ । कान्तिपुरबाट
Click to watch video: https://www.youtube.com/watch?v=8AvmY1bA4lg