जनादेश वेदर वाच।
देशका पहाडी भू–भागमा आज बिहान बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार आज राति कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । बदली र वर्षाको सम्भावना रहे पनि हिजोअस्तिको तुलनामा कम रहेको मौसमविद् सजिना शाक्य बताउँछिन् । “हिजोअस्तिको तुलनामा आजबाट वर्षा र बदलीको सम्भावना केही कम रहेको छ,” शाक्य भन्छिन्, “वर्षाको मात्रा र अवधि दुवै आजबाट कम हुने दखिन्छ ।” यद्यपि, प्रि–मनसुनको सिजन भएकाले वर्षा नहुने सम्भावना भने नरहेको उनी स्पष्ट पार्छिन् ।
आज काठमाडौंमा विगत केही दिनको तुलनामा मौसम सफा हुने मौसमविद् शाक्यको भनाइ छ । बिहान हुस्सु देखिए पनि घाम लागेसँगै हट्ने उनले जानकारी दिइन् । दिउँसो काठमाडौंको आकासमा केही बादल भने देखिने बताउँदै उनी भन्छिन्, “काठमाडौंमा आज दिउँसो वर्षाको सम्भावना न्यून छ ।” हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ ।