जनादेश, काठमाण्डौं । जब तपाईंले च्याट जीपीटीमा मलाई एन्जाइटी छ भनेर टाइप गर्नुहुन्छ । तब यसले तत्कालै फररर लेख्न सुरु गर्दछ -तपाईंले एन्जाइटीको सामना गरिरहनु भएको छ भन्ने थाहा पाउँदा म दु:खी छु । यो निकै चुनौतीपूर्ण अनुभव हुनसक्छ । तर तपाईंलाई यसका लक्षणहरु व्यवस्थापन गर्नका लागि सहयोग पुर्याउने केही रणनीतिहरु छन् ।
त्यसपछि सुझावको सूची आउँछ- रिल्याक्स भएर काम गर्ने, पर्याप्त सुत्ने, अल्कोहल तथा कफीको सेवन कम गर्ने, नकारात्मक सोचाइलाई हटाउने अनि परिवार तथा मित्रहरुको सहयोग लिने आदि ।
यद्यपि यसका सुझावहरु नौला छैनन् । जुन तपाईं हामीले डाक्टर तथा थेरापिस्टको कार्यालयमा सुनेका हुन्छौं वा एन्जाइटीसम्बन्धी विभिन्न अनलाइनमा लेखिएका आलेखमा पनि पढेका हुनसक्छौं । यसो हुनुको कारणचाहिं च्याट जीपीटीले इन्टरनेटमा उपलब्ध बृहत जानकारीहरुहरु बाटै आफ्नो जवाफ तयार गर्नु हो ।
यस विषयमा च्याट जीपीटीले प्रष्टीकरण दिँदै आफू मनोविज्ञ वा परामर्शदाताको विकल्प नभएको बताउने गरेको छ । तथापि धेरै मानिसले च्याट जीपीटीलाई आफ्नो निजी थेरापिस्टको रुपमा प्रयोग गर्ने क्रम रोकिएको छैन ।
रेडिटलगायतका प्लाटर्फममा मानिसहरुले आफ्नो व्यक्तिगत समस्या तथा जीवनमा भोगिरहेको ब्रेकअप लगायतका कुराहरुका विषयमा च्याट जीपीटीसँग सोधेर सुझाव माग्ने गरेको उल्लेख गर्ने गरेका छन् । कतिपयले त परम्परागत थेरापीभन्दा च्याट जीपीटी राम्रो रहेको अनुभव पनि शेयर गरेका छन् ।
मानिसको संवादजस्तै नक्कल गर्नसक्ने च्याट जीपीटीको क्षमताका कारण जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्सको क्षमताको बारेमा प्रश्न उब्जिएको छ । यसले मानसिक समस्या धेरै भएका तथा मानसिक समस्यालाई श्रापको रुपमा लिने खासगरी एसियाली मुलुकहरुमा एआईलाई मानसिक रोगको उपचारमा समेत प्रयोग गर्न सकिने बहस सुरु भएको छ ।
कतिपय विज्ञहरुका अनुसार एआईलाई खासगरी एन्जाइटी तथा डिप्रेसन जस्ता आमरुपमा जहाँतहीँ व्याप्त रहेका स्वास्थ्य समस्याको उपचारमा भरपूर उपयोग गर्न सकिनछ । जसको वास्तविक उपचार पनि थेरापिस्टलाई आफ्नो कुरा सुनाउने, बिरामीलाई ढाडस दिने तथा उनीहरुका समस्याको सम्बोधन गरी समाधानको व्यवहारिक उपाय सुझाउने हुने गरेको छ ।
आर्टिफिसियल इन्टेलिजेन्स हालको नियममा आधारित एपभन्दा पर स्वायत्त रुपमा मानसिक स्वास्थ्यको उपचार समेत गर्नसक्ने तहसम्म पुग्न सक्ला कि नसक्ला भन्ने विषयमा हालसम्म निकै कममात्रै अध्ययन भएका छन्
सिद्धान्ततः आर्टिफिसियल इन्टेलिजेन्स थेरापीले परम्परागत मानसिक स्वास्थ्य सेवाको तुलनामा छिटो र सस्तो पहुँच उपलब्ध गराउन सक्दछ । परम्परागत स्वास्थ्य सेवा पद्धतिमा जनशक्तिको अभाव, लामो समयसम्म पर्खिनुपर्ने बाध्यता, उच्च शुल्कको समस्याका साथै मानसिक बिरामीलाई ट्याबुको रुपमा लिइने समाजमा पीडितले आफ्नो समस्या तथा अनुभूतिलाई लज्जाको रुपमा लिनुपर्ने अवस्था समेत रहेको छ ।
जर्जटाउन विश्वविद्यालका चिकित्सा विज्ञानका विद्यार्थी एश्ले एन्ड्रेउका अनुसार मनोवैज्ञानिक थेरापी उनको आफ्नो देश क्यानडालगायतका विश्वका सबैजसो देशमा निकै महंगो हुनुका साथै लामो समयसम्म पालो पर्खिनुपर्ने अवस्था छ ।
उनका अनुसार अहिलेपनि मानसिक स्वास्थ्य समस्याको औषधिका साथै प्रमाणमात्र आधारित उपचारको पहुँच कम भएको अवस्थामा आर्टिफिसियल इन्टेलिजेन्सले स्वास्थ्यकर्मीसँगको सहकार्यमा मानसिक स्वास्थ्यको पहुँचमा वृद्धि गर्न सक्दछ ।
यद्यपि मानसिक स्वास्थ्यको उपचारमा आर्टिफिसियल इन्टेलिजेन्सलाई मिसाउनु वा यो प्रविधिलाई नै प्राथमिकता दिँदा त्यसले अनेक खालका नैतिक तथा व्यवहारिक चासोहरु सिर्जना गर्दछ ।
व्यक्तिगत जानकारी तथा मेडिकल रेकर्डहरुको सुरक्षा कसरी गर्ने भन्ने देखि कम्प्युटर प्रोग्रामले वास्तविक रुपमा बिरामीसँग समानुभूति गर्न तथा कुनै मानिसले आत्महत्या गर्नसक्ने लक्षणहरुको खतरा पहिचान गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नहरु ज्वलन्त रहेका छन् ।
च्याट जीपीटीको प्रविधिको अहिले निकै प्रारम्भिक अवस्थामा छ । त्यसैले च्याट जीपीटी तथा यसका अन्य प्रतिस्पर्धी च्याटबटहरु कतिपय क्षेत्रमा मानव व्यवहारको पहिचानमा असफल देखिने गरेका छन् । खासगरी दोहोरिएका प्रश्नहरु पहिचान गर्नमा च्याटबटहरुलाई समस्या हुने गरेको पाइन्छ । जसका कारण कतिपय प्रश्नमा अनुमान नै गर्न नसकिने, गलत वा आपत्तिजनक जवाफहरु समेत प्राप्त हुने गरेका छन् ।
हालसम्म डेडिकेटेड मानसिक स्वास्थ्य एप्लिकेसनहरुमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग नियममा आधारित प्रणालीमा सीमित छ । स्वास्थ्यसम्बन्धी एपहरु Wysa, Heyy र Woebot यसका उदाहरण हुन् ।
जेनेरेटिभ एआई अहिलेसम्म पनि ब्लाक बक्सको रुपमा रहेको छ । किनकि यो यतिधेरै जटिल छ कि यसको निर्णय निर्माण प्रक्रिया मानिसले पूर्णरुपमा बुझ्न र त्यसलाई मानसिक स्वास्थ्यको क्षेत्रमा प्रयोग गर्न गाह्रो हुन्छ ।
विजाका संस्थापक रमाकान्त भेम्पातीका अनुसार च्याट जिपिटी आएसँगै आर्टिफिसियल इन्टेलिजेन्स च्याट तीव्र रुपमा बढेको छ ।
उनका अनुसार विजामा जेनेरेटिभ टेक्स्ट तथा मोडेलको प्रयोग हुँदैन । यो एक संरचित संंवादको रुपमा हुन्छ, जसमा स्क्रिप्ट पहिले नै लेखिएको तथा प्रमाणित गरिएको हुन्छ । त्यसलाई निकै उच्च सुरक्षा डाटा सेटसँग प्रमाणित गराइको हुन्छ र प्रयोगकर्ताको प्रतिक्रियाबाट परीक्षण पनि गरिएको हुन्छ ।
त्यस्तै अमेरिकामा विकसित विबोट तथा सिंगापुरमा विकसित हेइले पनि उस्तै नियममा आधारित मोडेल अपनाउँछन् र लाइभ थेरापिस्टमा निर्भर हुन्छन् । साथै प्रयोगकर्तासँग कुरा गर्न रोबोट अवतारको च्याटबटको प्रयोग गर्नुका साथै जर्नलिंग, योगा पद्धति तथा निद्रा वा सम्बन्धजन्य समस्याको समाधानका लागि व्यायाम लगायतका सेवा पनि उपलब्ध गराइन्छ ।
यी तीनवटै एपले एन्जाइटी तथा डिप्रेसन जस्ता समस्याको समाधानमा व्यवहारजन्य थेरापीको विधि अबलम्बन गर्दै कुने बिरामीले सोँच्ने तथा देखाउने व्यवहार परिवर्तन गर्नमा केन्द्रित हुन्छन् ।
हालसम्म युरोप तथा अमेरिकामा पनि च्याट जीपीटी वा आरोग्य सेवा दाबी गरिएका अन्य कुनै पनि मानसिक स्वास्थ्यसम्बन्धी एपहरुको नियमनको प्रावधान छैन ।
आर्टिफिसियल इन्टेलिजेन्स हालको नियममा आधारित एपभन्दा पर स्वायत्त रुपमा मानसिक स्वास्थ्यको उपचार समेत गर्नसक्ने तहसम्म पुग्न सक्ला कि नसक्ला भन्ने विषयमा हालसम्म निकै कममात्रै अध्ययन भएका छन् ।
एआईले आफूलाई मानव थेरापिस्ट जस्तै बनाउनका लागि स्थानान्तरणको प्रक्रियालाई पुनर्सिजना गर्नुपर्दछ । यसमा बिरामीले डाक्टरप्रति व्यक्त गर्ने जस्तै फिलिंग्सको सिर्जना गर्ने तथा बिरामी र डाक्टर बीचको जस्तै सम्बन्ध सिर्जना गर्नु रहेका छन् ।
विज्ञका अनुसार मानसिक समस्याको उपचारको प्रभावकारितामा ४० देखि ५० प्रतिशतसम्म भूमिका बिरामी र डाक्टरबीचको सम्बन्ध र सञ्चारले खेलेको हुन्छ । यसले प्रभावकारी मनोवैज्ञानिक थेरापीका लागि मानवजन्य व्यवहारको ठूलो भूमिका रहेको देखाउँदछ । तर हालका च्याटबटमा यस्तो अन्तरक्रियाको क्षमताको अभाव छ । प्राकृतिक भाषा प्रोसेसिंग क्षमता भएको च्याट जिपिटी प्रभावशाली रहेपनि त्यसका पनि विभिन्न सीमा छन् ।
म्युनिख प्राविधिक विश्वविद्यालयको Institute for the History and Ethics of Medicine की वरिष्ठ अनुसन्धानकर्ता एमेलिया फिस्केका अनुसार भविष्यमा मानसिक स्वास्थ्यको उपचारमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिले वैकल्पिक स्थान ग्रहन गर्नेछ र यसलाई मानव थेरापिस्टसँगै प्रयोग गरिनेछ ।
त्यस्तै आर्टिफिसियल इन्टेलिजेन्सले यो क्षेत्रमा पर्दा पछाडि ठूलो भूमिका खेल्नेछ । खासगरी अनुसन्धानका कार्यलाई अगाडि बढाउन तथा विरामीको प्रगतिको मापनका लागि डाक्टरलाई सहयोग गर्नमा एआईको महत्वपूर्ण भूमिका हुनेछ । अलजजिराबाट