सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गोरखापत्र नेपालको इतिहासका विभिन्न कालखण्डको प्रत्यक्षदर्शी ऐतिहासिक सामग्री रहेको बताउनु भएको छ । गोरखापत्र दैनिकको १२३ औं तथा गोरखापत्र संस्थानको ६१ औं वर्ष प्रवेशका अवसरमा बधाई दिँदै मन्त्री शर्माले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बर्धनमा गोरखापत्रको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको हो।
” कुनै बेला गोरखापत्र नेपाली अखबारको पर्याय थियो । यो नेपालको इतिहासका विभिन्न कालखण्डको प्रत्यक्षदर्शी ऐतिहासिक सामग्रीको सङ्ग्रह पनि हो । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बर्धनमा यसको भूमिका महत्वपूर्ण छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिक विकासका लागि पत्रकारिताका माध्यमबाट गोरखापत्रले पुर्याएको योगदान अविस्मरणीय छ”, उहाँले भन्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट गोरखापत्रको बार्षिकोत्सवमा व्यक्त मन्तव्य
सभा अध्यक्षज्यू
प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्रीज्यू
मन्त्रालयका सचिव, संस्थानका महाप्रवन्धक, संचालक समितिका सदस्यहरु, गोरखापत्र तथा दि राइजिङ नेपाल, यहाँ उपस्थित विभिन्न निकायका प्रमुखरु, अन्य विशिष्ट व्यक्तित्वहरु, संस्थानमा कार्यरत विभिन्न संघ संगठन तथा युनियनका प्रतिनिधि, गोरखापत्र संस्थानमा कार्यरत सबै सञ्चारकर्मी, कर्मचारी समस्त पाठक वृन्द ।
सर्वप्रथम गोरखापत्र दैनिकको १२३ औं तथा गोरखापत्र संस्थानको ६१ औं वर्ष प्रवेशका अवसरमा म गोरखापत्र तथा गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी, प्राविधिक र सबै कर्मचारीलाई बधाई दिन चाहन्छु ।
विक्रम संवत् १९५८ वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको दिनलाई नेपाली पत्रकारिताको आरम्भिक दिन मानेर नेपाल सरकारले २०७३ देखि वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवसका रूपमा मनाउन थालेको छ । यस उपलक्ष्यमा आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा म समस्त नेपाली पत्रकार र सञ्चारकर्मीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्षको वैशाख २४ को दिन नेपाली पत्रकारिता र सञ्चार क्षेत्रका लागि महत्वपूर्ण दिन हो । आजभन्दा १२२ वर्षअघि आजकै दिन गोरखापत्र साप्ताहिकको प्रकाशन सुरु भएर अखबारी पत्रकारिताको जग हालिएको थियो । गोरखापत्र दक्षिण एसिया क्षेत्रमा नै पुराना अखबारहरुको हाराहारीको पत्रिका हुनु हाम्रा लागि गौरवको विषय हो ।
कुनै बेला गोरखापत्र नेपाली अखबारको पर्याय थियो । यो नेपालको इतिहासका विभिन्न कालखण्डको प्रत्यक्षदर्शी ऐतिहासिक सामग्रीको सङ्ग्रह पनि हो । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र सम्बर्धनमा यसको भूमिका महत्वपूर्ण छ । नेपालको आर्थिक, राजनीतिक, सामाजिक विकासका लागि पत्रकारिताका माध्यमबाट गोरखापत्रले पुर्याएको योगदान अविस्मरणीय छ ।
गोरखापत्र संस्थानका प्रकाशनका रूपमा अङ्ग्रेजी भाषामा दी राइजिङ नेपाल र नेपाली भाषामा मधुपर्क, युवामञ्च र मुना मासिक गोरखापत्रका सहयात्री प्रकाशन बनेका छन् । नयाँ नेपाल दैनिक परिशिष्टमा नेपालमा बोलिने ३८ वटा राष्ट्रभाषाका सामग्रीले धेरैभन्दा धेरै भाषाभाषी समुदायमा यसको पहुँच विस्तार गर्ने प्रयास भएको छ । विद्यालय र विश्वविद्यालयका पाठ्यक्रमहरुमा पनि गोरखापत्रका समाचार सामग्री अध्ययनका विषय बनाइएका छन् । यो सबै नेपाली भाषा र साहित्य तथा पत्रकारिताको विकासमा गोरखापत्रको योगदानको परिणाम हो ।
सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको छ । गोरखापत्र अनलाइन प्रकाशनमार्फत विश्वमा नै यसको विस्तार भएको छ । गोरखापत्र र गोरखापत्र संस्थानका अन्य प्रकाशनहरुलाई पनि विधागत, माध्यमगत र प्रविधिगत रूपमा प्रतिस्पर्धी बनाउँदै चुनौती र अवसर दुबै दिएको छ । आममानिसमा विस्तार हुँदै गएको सूचनाको पहुँच र प्रविधिको सहज प्रयोगबाट गोरखापत्रले पाठक वृद्धि गर्न सक्नुपर्छ ।
नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिष्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सवल बनाउन जरुरी छ ।
आर्थिक र जनशक्ति व्यवस्थापन दुबै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो छ ।
संस्थानको पुनरसंरचना जरुरी भइसकेको छ । गोरखापत्र संस्थानको संरचना गत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्ने समय आइसकेको छ ।
सामान्यतः गोरखापत्र राज्यको अखबार हो । यसले पत्रकारिता मार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्दछ । पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजाने र जनताका आवश्यकता राज्यसम्म पुर्याउने काममा यसले आफ्ना उत्पादनहरु केन्द्रित गर्नु आवश्यक छ । राष्ट्रको उत्थान र जनताको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट के गर्न सकिन्छ, सिर्जनशीलरुपमा सामग्री उत्पादन र प्रकाशनमा अझै मेहनत गर्न म यस संस्थान अन्तर्गतका प्रकाशनमा कार्यरत पत्रकारहरुलाई आग्रह गर्न चाहन्छु ।
गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति हुन् । तिनको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा खुशी लागेको छ । यसलाई आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दछु । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ् खरो रुपमा उतार्न यो संस्थाले अझ् जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसका लागि म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– आन्तरिक ब्यवस्थापन बलियो बनाउनुपर्छ । यसमा कार्यरत सबै जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्छ ।
भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनरनिर्माण तथा लामो समयदेखि अल्झिएको बिनियावलीलाई चाँडो टुंगो लगाएर कर्मचारी वृत्ति विकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पनि पहल भइरहेको छ । यहाँ कार्यरत संचारकर्मी तथा कर्मचारीहरुलाई विश्वासमा लिएर आन्तरिक समस्याका समाधानका लागि प्रभावकारी पहल गर्न म व्यवस्थानलाई निर्देशन दिन चाहान्छु । अन्त्यमा गोरखापत्र दैनिक र गोरखापत्र संस्थानमा कार्यरत सबै पत्रकार र कर्मचारी तथा प्रत्यक्ष र परोक्ष रूपमा तिनमा संलग्न सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।