जनादेश टेकवाच।
डेभलपर्स सम्मेलन गुगल आई/ओ २०२३ को मुख्य दिन बुधबार सर्च इन्जिन एवं इन्टरनेट विज्ञापन प्रदायक गुगलले विभिन्न प्रडक्टहरुको अपग्रेडेड संस्करण र नयाँ प्रडक्ट घोषणा र सार्वजनिक गरेको छ ।
बुधबार करिब दुई घण्टा लामो गुगल कीनोटमा सार्वजनिक एवं घोषणा भएकामध्येमा बढी जसो एआई उपकरणहरु रहेका छन् । यीमध्येका केही नयाँ उपकरणहरु कयौं प्रयोगकर्ताको दैनिक जीवनमा प्राय जसो प्रयोगमा आउने देखिन्छन् ।
गुगल म्याप्समा केही सहरहरुका लागि इमर्सिभ भ्यू फिचर थपिएको छ । यो फिचरले प्रयोगकर्तालाई आवश्यक पर्ने सबै जानकारी एकै ठाउँमा उपलब्ध गराउनेछ । जसमा ट्राफिक सिमुलेसन, बाइक लेन, चोक, पार्किङ र थप कुराहरुको जानकारी समावेश छ ।
मेजिक इडिटर एन्ड कम्पोज
गुगलले गुगल फोटोजमा एआईबाट सञ्चालित मेजिक इडिटर एवं कम्पोज फिचर थपेको छ । यसले फोटोजमै सजिलै फोटोहरु इडिट गर्न मिल्ने भएको छ ।
पाल्म–२
गुगलले आफ्नो ठूलो भाषा मोडल (लार्ज ल्यांग्वेज मोडल–एलएलएम)को नयाँ भर्जन पीएएलएल२ (पाल्म२) सार्वजनिक गरेको छ । ओपन एआईको च्याटजीपीटी झैं गुगलको च्याटबोट बार्ड यसैमा आधारित रहेको छ ।
ओपनएआईले च्याटजीपीटीका लागि नयाँ लार्ज ल्यांग्वेज मोडल जीपीटी४ सार्वजनिक गरेको थियो ।
बार्ड च्याटबोट धेरैका लागि सार्वजनिक
एआईमा आधारित गुगलको च्याटबोट बार्ड १८० बढी देश एवं क्षेत्रमा उपलब्ध भएको छ । अहिले अंग्रेजी भाषामा सार्वजनिक च्याटबोट कोरियाली र जापानीसहित ४० बढी भाषामा छुट्टाछुट्टै रुपमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।
म्युजिक एलएम
गुगलले एआईमा आधारित टेक्स्टलाई म्युजिकमा रुपान्तरण गर्ने टुल परीक्षणका क्रममा सार्वजनिक गरेको छ । यो टुलमा गएर डिनर पार्टीको आत्मीय ज्याज टाइप गर्दा त्यस किसिमको संगीत सिर्जना गर्ने बताइएको छ । अहिले एआई टेस्ट किचन एपमा वेबमा उपलब्ध म्युजिक एलएम वेटलिस्टका आधारमा मात्रै उपलब्ध गरिएको छ ।
कोडे
गुगलले कोडिङ गर्न सघाउने कोडे टुल पनि सार्वजनिक गरेको छ । कोडेले गिटहबको कोपाइलट जसरी नै काम गर्ने ठानिएको छ ।
इमेजन
लेखिएका आधारमा तस्बिर तयार पार्न सक्ने र तस्बिर इडिट पनि गर्न सकिने एआईमा आधारित गुगलको टुल इमेजन र भर्टेक्सका एआईका लागि कम्पनीले नयाँ एआई मोडल सार्वजनिक गरेको छ ।
फाइन्ड माइ डिभाइस
गुगलले हराएको फोन भेट्टाउन मद्दत गर्ने फाइन्ड माइ डिभाइसमा नयाँ फिचर थपेको छ । यसले अब एप्पलको एयर ट्यागलाई सपोर्ट गर्नेछ ।
महत्वपूर्ण रुपमा तपाईँलाई कुनै अरु डिभाइसले ट्र्याक गरिरहेको छ भने, त्यसको अलर्ट समेत गराउनेछ । अज्ञात ट्र्याकर पत्ता लगाउने र अन्य ब्लुटुथ ट्र्याकरहरूसँग कनेक्टहुने फिचर यसमा थपिएको छ ।
एप्पलको एयर ट्याग गलत प्रायोजनका लागि प्रयोग हुन थालेपछि गुगलले कुनै अरु ट्र्याकरले प्रयोगकर्ता ट्र्याक भइरहेको पाइएमा अलर्ट गराउने फिचर ल्याएको देखिन्छ ।
युनिभर्सल ट्रान्सलेटर
गुगलले सार्वजनिक गरेको अर्काे महत्वपूर्ण एआई टुल भनेको परीक्षणका क्रममा रहेको युनिभर्सल ट्रान्सलेटर रहेको छ । यसले कुनै एक भाषामा रहेको भिडियोलाई अर्काे भाषामा रुपान्तरण गर्न सक्छ ।
अझ रोचक कुरा के छ भने, यो उपकरणले भिडियोमा लिप्सिङ अथवा मुख र अन्य हाउभाउ पनि भाषाअनुरुप परिवर्तन गर्नसक्नेछ । यो एआई टुलको गलत प्रयोगको जोखिम पनि बढी हुने चिन्ता पनि छ ।
प्लेस्टोरमा पनि जोडियो एआई
गुगलले प्लेस्टोरमा पनि एआईको प्रवेश गराएको छ । डेभलपरहरुले गुगलको पाल्म२ मोडलको प्रयोग गरेर एपको लिस्टिङ, प्रमोसनल कन्टेन्ट र रिभ्यूहरुको समरी लेख्न लगाउन सक्नेछन् ।
फोन र ट्याब
गुगलले पिक्सेल ७ए स्मार्टफोन र पिक्सेल ट्याबलेट र फाल्डेबल स्मार्टफोन पिक्सेल फोल्ड पनि सार्वजनिक गरेको छ । गुगलले एन्ड्रोइड प्रयोगकर्ताहरुलाई स्मार्टफोनमा एआईले बनाएका वालपेपरहरु राख्ने फिचर समेत ल्याएको छ । प्रयोगकर्ताले लेखनबाट फोटो बनाउने एआईलाई भनेअनुसारको वालपेपर राख्न सक्नेछन् ।
यस्तै, गुगलले स्मार्टवाचको अपरेटिङ सिस्टमको नयाँ संस्करण वेयर ओएस ४ सार्वजनिक गरेको छ । यसमा उच्च टिकाउ ब्याट्री र लेखनलाई आवाजमा उर्तान सकिने जस्ता फिचर एवं अन्य कार्यक्षमता थपिएको छ ।
यसबाहेक गुगलको वर्कस्पेस सफ्टवयरमा पनि एआईले प्रवेश पाएको छ । गुगल सर्चमा इमेजबारे थप जानकारीका लागि अबाउट दिस इमेजर र एआईबाट बनाइएको तस्बिरमा एआई जेनेरेटेड भन्ने लेबल लगाउने फिचर थपिएको छ । साइडकिक नामक नयाँ टुल गुगलको डकुमेन्टमा कुनै कुरा लेखिरहँदा साइडमा राख्न सकिने र यसले उपयुक्त लेखन सुझाव दिने बताइएको छ ।
लार्ज ल्यांग्वेज मोडलमा आधारित एआई उपकरणहरुको प्रयोग बढ्दै जाँदा गुगलले यिनीहरुलाई सञ्चालन गर्न सक्ने किसिमले गुगल क्लाउडले ए३ सुपरकम्प्युटर भर्चुअल मेसिन सार्वजनिक गरेको छ ।
डेभलपरहरुका लागि सुरक्षा, स्वास्थ्यसम्बन्धी विवरण राखेर सहयोग पाउन सकिने हेल्थ कनेन्ट, थ्रीडी टेलिकन्फ्रेन्सिङ भिडियो कलिङ प्रोजेक्ट स्टारलाइन र कनेक्टेड कार अनुभवलगायतमा पनि गुगलले थप सुधार सार्वजनिक गरेको छ ।
गुगल आई÷ओ वार्षिक रुपमा कम्पनीले आयोजना गर्ने डेभलपर्स सम्मेलन हो । यो सम्मेलनमा कम्पनीले आफ्ना नयाँ प्रडक्ट र योजना सार्वजनिक गर्छ । मे १० अर्थात् हिजो क्यालिफोर्नियाको माउन्टेन भ्यूमा आयोजित २०२३ को गुगल आई÷ओमा कम्पनीका एआई उपकरणहरु सार्वजनिक भएका छन् ।