आजको मौसमः काठमाडौंमा अपराह्नपछि वर्षा – Janadesh Daily | ePaper

आजको मौसमः काठमाडौंमा अपराह्नपछि वर्षा


जनादेश वेदर वाच।

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि काठमाडौंमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“काठमाडौंमा आज आंशिक बदली रहनेछ । र, अपराह्नपछि क्षणिक वर्षाको सम्भावना रहेको छ,” मौसमविद् सञ्जिव अधिकारीले भने । गत चौबीस घण्टामा २६६ वर्षा मापन केन्द्रमध्ये १६२ वटा केन्द्रहरूमा वर्षा भएको छ । उक्त केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा लमजुङ जिल्लाको खुदी बजार केन्द्रमा २१९.६ मिलिमिटर भएको छ । वर्षा मापन गरिएका केन्द्रहरु मध्ये ९७ वटा केन्द्रमा १० मिलिमिटरभन्दा बढी वर्षा भएको क्लाइमेट सेक्सनले जनाएको छ ।

५१ वटा केन्द्रमा २५ मिलिमिटरभन्दा बढी, १७ वटा केन्द्रमा ५० मिलिमिटरभन्दा बढी, दुईवटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी र एउटा केन्द्रमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको क्लाइमेट सेक्सनले जनाएको छ ।

बुधबार नेपाल प्रवेश गरेको मनसुन प्रणाली अहिलेसम्म गण्डकी प्रदेशको सेरेफेरोमा मात्रै पुगेको छ । त्यसबाट पश्चिमी भू–भागमा मनसुन फैलिन ससकेको छैन । मौसमविद् सञ्जिव अधिकारीका अनुसार देशभर मनसुन फैलिन अझै केही दिन लाग्नेछ ।

नेपालमा मनसुन प्रवेश गरेपछि नेपालभर फैलिन औसतमा पाँचदेखि सात दिन लाग्छ । तर, यो औसत समय मात्रै हो । मनसुन योभन्दा ढिलो वा छिटो पनि देशभर मनसुन फैलिन सक्छ ।

यो वर्ष मनसुन देशभर फैलिन केही दिन ढिलो हुनसक्ने उनको भनाइ छ । अरेवियन सागरमा रहेको चक्रवातका कारण पश्चिमी वायु स्ट्रङ भएकाले मनसुन देशभर फैलिन केही समय ढिलो हुने भएको हो । “अझै केही दिन गण्डकी प्रदेशकै वरपरसम्म मात्रै मनसुन रहने र त्यसपछि मात्रै त्यहाँबाट पश्चिमतर्फ मनसुन सर्नेछ,” उनले भने ।

अहिले नेपालको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ । आज दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा, बाँकी पहाडी भू–भागका थोरै स्थानमा र कोसी प्रदेशका तराईका भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आजराति कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशसहित बाँकी पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्