दोस्रो वर्षमा पनि क्रेज नगुमाएका बालेनः उदाहरणीय छ उनले शिक्षा क्षेत्रमा गरेको सुधार – Janadesh Daily | ePaper

दोस्रो वर्षमा पनि क्रेज नगुमाएका बालेनः उदाहरणीय छ उनले शिक्षा क्षेत्रमा गरेको सुधार


जनादेश वाच।

३ महिनाअघि संघीय राजधानी काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर मेयरमा निर्वाचित भएका बालेन साहले सपथ लिनासाथ अवैध संरचनामाथि डोजर चलाए। मेयर बालेको डोजर महानगरका ३२ वटै वडाका साँधसीमासम्मको क्षेत्र चहारिसकेको छ। अवैध संरचनामाथि डोजर लगाउने क्रम अहिले पनि जारी छ।

मेयर बालेनको डोजर बागमती नदी किनार कब्जा गरेर घरटहरा बनाई बसेका राजनीतिक दल समर्थक सुकिलामुकिलातिर पसे पनि सरकारको असहयोगका कारण अहिलेसम्म चल्न सकेको छैन। मेयर बालेनले सरकारले बागमती वरपर अवैध रुपमा निर्माण गरिएका राजनीतिक दलका अवैध घरटहरा भत्काउन जाँदा असहयोग गरेपछि प्रशासनिक मुख्यालय सिंहदरबारमै फोहोरको डंगुरसमेत थुपारिदिए।

काठमाडौंका सडक फुटपाथमा हुने गरेको भुइँतहका नागरिकको व्यापारलाई निषेध गरेर अन्नपानी जोहो गर्ने बाटो बन्द गरिदिएपछि मेयर बालेनप्रति आलोचना र आक्रोश दुवै व्यक्त पनि भए। उनले काठमाडौंमा हुने सडक व्यापार, ठेला व्यापार सबैलाई इतिहास बनाइदिए। टुकुचा, बागमती, इच्छुमती, हनुमन्ते, विष्णमतीलगायत नदी सफा गर्न अहिले पनि डोजर चलाइरहेका छन्।

यसबीच मेयर बालेन जयनेपाल हलमुनि रहेको टुकुचा उत्खनन् गरेर सबैको आकर्षणमा परेका थिए। कहिले मन्त्रालय, कहिले अदालत, कहिले जहाज उड्ने अफिसलाई निर्माण गर्दाताकाको नक्सा मागेर मेयर बालेन चर्चामा रहिरहे। अहिले पनि मेयर बालेन भनेपछि हुरुक्कै हुनेहरुको जमात बाक्लो छ।

पछिल्लो समय मेयर बालेन बलिउड फिल्म आदिपुरुषमा सीता भारतकी छोरी हुन् भन्ने वाक्यांश राखिएपछि भारतीय फिल्म नै महानगरका हलमा बन्द गरिदिएका छन्। राजा जनककी छोरी सीताको जन्मथलो नेपालको जनकपुरधाम रहेको अकाट्य प्रमाण अहिले पनि भारतबाट प्रत्येक वर्ष रामको ससुराली डोली लिएर आउने चलन छ। आदिपुरुष निर्माता कम्पनीले समेत बालेनलाई सम्बोधन गरेर पत्र काटेको छ। बालेनका गतिविधिप्रति सरकार बेखुस भए पनि सर्वसाधारणले भने उनको भक्तिगान गाइरहेका छन्। विश्व श्रव्यदृश्य मिडियाले बालेनलाई कभर गरिरहेका छन्।

शिक्षा क्षेत्र सुधारमा लागेका मेयर बालेनले महानगरभित्रका ५०४ निजी विद्यालयलाई छात्रवृत्ति विवरण बुझाउन केही समयअघि ताकेता गरे, पत्र काटे। अटेरीलाई लाख जरिमाना र दर्तै खारेजसम्मको चेतावनी दिएपछि निजी स्कुल महानगरको शिक्षा शाखामा छात्रवृत्ति विवरणको फाइल बोकेर धाइरहेका छन्। महानगरभित्र सञ्चालित विद्यालयमा शुक्रबार बुक होलिडे प्रचलन बसाइसकेका छन्।

मेयर बालेनकै कसिकसाउले महानगरभित्रका ५०४ निजी विद्यालयमध्ये ४६५ संख्याले छात्रवृत्ति विवरण बुझाएका छन्। महानगरको इतिहासमा पहिलो पटक यति धेरी निजी विद्यालयले छात्रवृत्ति विवरण बुझाएको मेयर बालेन दाबी गर्छन्। छात्रवृत्ति नदिने ३९ स्कुलको अनुमति खारेज गरिने चेतावनी बालेनले दिइसके। यसअघि महानगरको पहलबाट लक्षित वर्गका १३ हजार बढी विद्यार्थीले विभिन्न छात्रवृत्ति प्राप्त गरेको उनले सुनाए।

पछिल्लो समय उपलब्ध छात्रवृत्ति विवरणमाथि निरीक्षण गरी सबै विद्यालयको सूची प्रकाशित गर्ने तयारी भइरहेको उनी बताउँछन्। विवरण नपठाएका विद्यालयलाई १ लाखसम्म जरिमाना तिराएर थप एक पटक मौका दिइने मेयर बालेनको योजना छ।

उनले भने, ‘त्यसपछि पनि विवरण नबुझाए काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिनेछ।’ महानगरको यो अभ्यास कानुन निर्माण र कार्यान्वयनको राम्रो अभ्यास भएको उनको तर्क छ। ‘विद्यमान कानुनी प्रबन्ध कार्यान्वयन गर्दा १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका छन्। कानुन निर्माणको महत्त्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ। त्यसैले हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा गम्भीर छौं,’ उनले भने।

गएको जेठ २६ मा शिक्षामा सीप कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिकाले कुलेश्वर माविमा आयोजना गरेको कार्यक्रम। कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न सीप सिकाइनुका साथै रैथाने परिकार खुवाइएको थियो। यसअघि २३ जेठमा पनि छात्रवृत्ति नदिने ३४२ स्कुलको अनुमति खारेज गर्ने बालेनको चेतावनी दिएका थिए। उनले छात्रवृत्ति नदिने ३४२ स्कुलको नाम सार्वजनिक गरी अनुमति खारेज गरिने बताएका थिए।

महानगरले गत २४ वैशाखमा परिपत्र जारी गर्दै १५ जेठभित्र महानगरभित्रका शैक्षिक संस्थााई छात्रवृत्ति विवरण पठाउन आग्रह गरेको थियो। १० जेठमा सार्वजनिक सूचना जारी गरी १५ जेठभित्र छात्रवृत्ति विवरण पेस नगरे विद्यालयलाई कारबाही गरिने भनिएको थियो।

विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ ले विद्यालयले कुल विद्यार्थीको १० प्रतिशतलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउनुपर्नेमा व्यवस्था छ।

बालेनको १० जेठको स्टाटस
‘हामी काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत विद्यार्थीले नियमअनुसार पाउनुपर्ने अधिकारका बारेमा गम्भीर छौं। काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था रहेको छ। सो नियमावलीको नियम ५८ मा व्यवस्था भएअनुसार विद्यालयले छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीको नामावली सार्वजनिक गर्नुपर्छ।

तर संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिका सम्बन्धमा मिति २४ वैशाख २०८० को परिपत्र र १० जेठ २०८० को गोरखापत्रमा प्रकाशित सार्वजनिक सूचनाबमोजिम मिति १५ जेठ २०८० भित्र छात्रवृत्ति वितरण गरी सोको जानकारी मिति १६ जेठ २०८० मा कार्यालय समयभित्र काठमाडौं महानगरको शिक्षा विभाग र इमेलमा अनिवार्य रूपले पठाउन सूचित गरेका छौं। धेरै विद्यालयले उक्त सूचनाका आधारमा छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्ने गरेका छ। उहाँहरूलाई हामी धन्यवाद दिन चाहन्छौं। (विद्यालयको विवरण काठमाडौं महानगरपालिकाको वेबसाइटमा हेर्न सकिनेछ)।

काठमाडौं महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ५८ र ५९ एवं काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उल्लंघन गरी हालसम्म छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने तपसिलका विद्यालय (आइएमएस कोड भएका) ले २८ जेठ २०८० भित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न आग्रह गर्दछौं।

यदि नियमअनुसार विवरण पेस नगरे काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुनबमोजिम हदैसम्मको कारबाही गरिनेछ। सबै विवरण प्राप्त भएपछि हामी छात्रवृत्तिको लिस्ट सार्वजनिक गर्नेछौं।’

शिक्षा क्षेत्र सुधारका लागि मेयर बालेनले सुरु गरेको अभियान सफल हुने चरणमा देखिन्छ। महानगरभित्र सञ्चालित ५०० बढी निजी विद्यालयले प्रतिविद्यालय १० प्रतिशत छात्रवृत्ति वितरण गर्दा करिब १३ हजार बढी विपन्नका छोराछोरीले पढ्न सक्छन्। मेयर बालेनले शिक्षा सुधारअन्तर्गत नै महानगरभित्र सञ्चालित विद्यालयमा शुक्रबार बुक होलिडे प्रचलन बसाइसकेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्