सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो, संस्थाको स्थितिबारे जानकारी गराउन आग्रह – Janadesh Daily | ePaper

सहकारीबाट नागरिक ठगिएपछि काठमाडौँ महानगरको चासो, संस्थाको स्थितिबारे जानकारी गराउन आग्रह


काठमाडौँ महानगरपालिकाले सहकारीबाट बचतकर्ता ठगिने सिलसिला बढेपछि मातहतका सहकारीको नियमनमा चासो देखाएको छ ।

महानगरपालिकाको सहकारी विभागले आज एक सूचना प्रकाशित गरी महानगरले तोकेको समयमा सबै शेयर सदस्यलाई उपस्थित गराई साधारणसभा सम्पन्न गर्न निर्देशन जारी गरेको छ । साथै महानगरपालिकालाई संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन महानगरले आग्रह गरेको छ ।

यसैगरी महानगरप्रमुख बालेन शाहले पनि सहकारीको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन मातहतका सहकारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “वित्तीय जोखिमबाट बचौँ, सहकारीहरूलाई सङ्कटग्रस्त हुनबाट बचाऔँ ।”

सहकारी संस्था र संस्थाका शेयरधनी तथा बचतकर्तालाई अनुरोध गर्दै उहाँले मूल्यवृद्धि र मुद्रा स्फीतिले वित्तीय क्षेत्रमा पारेको तरलताबाट सहकारी क्षेत्र पनि प्रभावित बनेको उल्लेख गर्नुभएको छ । महानगरपालिकाको सहकारी विभागमा शेयर सदस्य र सञ्चालकले दिने गरेका लिखित तथा मौखिक उजुरीको चाप बढेको उहाँको भनाइ छ ।

उहाँले यस्तो संवेदनशील समयमा सहकारीले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमान्दार, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न अनुरोध गर्नुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्