काठमाडौंमा विहानैदेखि वर्षा, यस्तो छ अन्य क्षेत्रको प्रक्षेपण – Janadesh Daily | ePaper

काठमाडौंमा विहानैदेखि वर्षा, यस्तो छ अन्य क्षेत्रको प्रक्षेपण


जनादेश वेदर वाच।

देशका विभिन्न स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । केही स्थानमा भारी र कतै अति भारी वर्षा भइरहेको छ । काठमाडौंमा गएराति देखि नै वर्षा भइरहेको छ । तराईका केही भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आठवटा जिल्लामा अति भारी वर्षा, १ बजेसम्म यात्रा गर्दा सतर्क हुन आग्रह

यसैबीच, काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौंमा आज दिनभर मौसमा बदली हुने मौसमविद् गोविन्द झा बताउँछन् । बिहानैदेखि पानी परिरहेको काठमाडौंमा दिउँसो केहीसमय वर्षा रोकिए पनि पुनः पानी पर्ने र रोकिने क्रम दिनभर चलिरहने उनको भनाइ छ । आज राति र भोलि बिहान पनि काठमाडौंमा वर्षा हुने उनले जानकारी दिए । यद्यपि, भारी वर्षाको भने सम्भावना नरहेको उनी बताउँछन् ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

विभागले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुनसक्ने जनाएको छ । त्यसैले भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्क हुन विभागको आग्रह छ ।

यसैबीच, गएराति १२ बजेदेखि लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । उक्त स्थान भई बहने स–साना खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै होचा स्थानमा डुवान हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

तिनाउ नदीमा जलसतह खतराकाे तहमाथि, ९ बजेसम्म सुरक्षित स्थानमा बस्न आग्रह

नदी तटिय क्षेत्रमा हुनेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । जल सतह बढ्दो क्रममा रहेको छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने होचा स्थानमा हुनेहरूलाई बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन महाशाखाले आुरोध गरेको छ ।

पछिल्लो ६ घण्टादेखि स्याङजा, तनहूँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलबस्तु, दाङ र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

उक्त स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । दिउँसो १ बजेसम्म यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्