राजश्वको रात्रिकालीन अपरेसनः सुन रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने मेसिन भेटियो – Janadesh Daily | ePaper

राजश्वको रात्रिकालीन अपरेसनः सुन रि-फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने मेसिन भेटियो


एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको राजश्व अनुसन्धान विभागको टोलीले शनिबार रातभर ठमेल र टोखा क्षेत्रमा अप्रेसन चलाएको छ । ठमेलको भियाना होटल र टोखाको एक फ्याक्ट्रीमा विभागनको टोलीले छापा मारेको छ ।

विभाग स्रोतका अनुसार टोखाको फ्याक्टीमा सुन गाल्ने र रि(फ्रेम गरेर अर्कै स्वरुपमा परिणत गर्ने मेसिन नै फेला परेको छ । फ्याक्ट्री छापा मारेर राजस्वको टोलीले अहिले सिल गरेर राखेको छ । विभागको टोलीले टोखाको फ्याक्टीबाट आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन पकड्ने र राख्ने ह्याण्डलहरु लगायत बरामद गरेको छ ।

त्यस्तै ठमेलको होटल भियानामा पनि राजस्वको टोलीले छापा मारेको छ । होटललाई पनि अहिले सिल गरिएको छ । राजश्व अनुसन्धान विभागको टोलीले भियनामा छापा मारेर केही कागजात र सामग्रीहरु बरामद गरेको छ । होटलबाट एक जना नेपाल मुलका तर, बेल्जिनिमका नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको छ । राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्वीन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो ।

‘यो सुन तस्करको समूह सोचेभन्दा निकै ठूलो देखियो, राजधानीमा अर्कै फ्याक्ट्री खोलेर सुनलाई अर्कै स्वरुपमा परिणत गराउने गरेको देखिएको छ’, अपरेशनमा खटिएका एक अधिकारीले भने । यद्यपि, कस्तो स्वरुपमा सुन परिणत गरिन्थ्यो भन्ने खुलिसकेको छैन ।

अपरेशनमा खटिएका अधिकारीहरुका अनुसार, टोखाको फ्याक्ट्री र त्यहाँबाट बरामद सामानहरु हेर्दा यो गिरोहले ठूलो परिणामको सुन गालेर लगेको हुनसक्ने देखिएको छ । त्यसता हालसम्म यो प्रकरणमा विभागले १८ जनालाई नियन्त्रणमा लिएको छ । ४ साउनमा यो प्रकरणमा विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक ज्यास्याङ लिन पक्राउ परेका थिए ।

हालसम्मको अनुसन्धानले सुन प्रकरणमा पक्राउ परेका १८ जनामध्ये सबैभन्दा उच्च तहका उनी नै भएको देखिएको छ । पक्राउ परेका मध्ये एक आरोपीको बयानका आधारमा विभागको टोली टोखाको फ्याक्ट्रीसम्म पुगेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्