अमेरिका-चीन चिपवारः दुबै पक्षले चालेका कदमले संसारका ठूला कम्पनीकै अस्तित्व संकटमा – Janadesh Daily | ePaper

अमेरिका-चीन चिपवारः दुबै पक्षले चालेका कदमले संसारका ठूला कम्पनीकै अस्तित्व संकटमा


जनादेश अन्तर्राष्ट्रिय वाच।

अमेरिकासँगको ‘चिपयुद्ध’ चर्किँदै जाँदा चीनले सेमिकन्डक्टर उद्योगका लागि अत्यावश्यक दुईवटा पदार्थ निर्यातमा कडाइ गर्न थालेको छ।

निर्यातमा नियन्त्रण गर्ने निर्णयपछि अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने छ। चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिन्छ। ग्यालिअम र जर्मेनिअम विद्युतीय चिप र सैन्य उपकरणहरू उत्पादन गर्न प्रयोग हुन्छन्। वाशिङ्टनले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा बेइजिङको पहुँचलाई सीमित पारिदिन थालेपछि चीनले यस्तो कदम चालेको हो।

चीन विश्वभरि ग्यालिअम र जर्मेनिअमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो। यससम्बन्धी उद्योग हेर्ने एउटा निकाय क्रिटिकल रअ मटेरिअल्स अलाइअन्स (सीआरएमए) का अनुसार चीनले विश्वमा प्रयोग हुने ८० प्रतिशत ग्यालिअम र ६० प्रतिशत जर्मेनिअम उत्पादन गर्छ। यी सामग्रीहरू “माइनर धातु” हुन्। अर्थात् ती प्रायः विशुद्ध रूपमा पाइँदैनन् र अरू रासायनिक प्रक्रियाबाट सहोत्पादनका रूपमा तिनलाई निकालिन्छ।

चीनको प्रतिक्रियात्मक कदम
अमेरिका र जापानसँगै प्रमुख चिप उपकरण निर्माता एएसएमएल रहेको द नेदरल्यान्ड्सले पनि चीनमा चिप प्रविधिको निकासीमा प्रतिबन्धहरू लगाएका छन्।

“द नेदरल्यान्ड्स र अन्य देशहरूले चिपको निकासीमा लगाएको प्रतिबन्धको सन्दर्भमा चीनको यो घोषणा संयोग होइन,” लगानीसम्बन्धी कम्पनी बीएमओ क्यापिटल मार्केट्सका कोलिन ह्यामिल्टनले बीबीसीसँग भने।

“कुरा सीधा छ – तिमीहरू चिप दिँदैनौ भने हामी पनि ती चिप बनाउने सामग्री दिँदैनौँ,” उनले भने।

विश्वका दुई ठूला अर्थतन्त्रले एकअर्कासँग “जस्तालाई त्यस्तै” व्यवहार गर्दा ‘स्रोत राष्ट्रवाद’को बढ्दो चिन्तालाई अझ बढाइदिएको छ। सरकारहरूले महत्त्वपूर्ण वस्तुहरूमा नियन्त्रण गरेर अन्य देशमा आफ्नो प्रभाव पार्न त्यसको प्रयोग गर्नुलाई ‘स्रोत राष्ट्रवाद’ भनिने गरेको छ।

“विश्वव्यापीकरणको अवधारणाबाट सरकारहरू बिस्तारै टाढिँदै गएको हामी देखिरहेका छौँ,” यूनिभर्सिटी अफ बर्मिङ्गमका शोधकर्ता ग्याभिन हार्पर भन्छन्।

“अन्तर्राष्ट्रिय बजारले सामग्रीहरूको आपूर्ति गर्छ भन्ने अवधारणा अब पुरानो भइसक्यो र बृहत्तर दृष्टिले यो परिदृश्य हेर्ने हो भने पश्चिमा उद्योगहरूको अस्तित्वमै खतरा पुग्न सक्छ।”

विकल्प के छन्?

ग्यालिअम र आर्सनिकको यौगिक ‘ग्यालिअम आर्सनाइड’ हाई-फ्रीक्वन्सीका कम्प्युटर चिप्सहरूमा र उज्यालो प्रकाश दिने एलईडी र सौर्य प्यानलहरूमा प्रयोग गरिन्छ। सीआरएमएका अनुसार विद्युतीय उपकरणमा आवश्यक चाहिने शुद्ध ग्यालिअम आर्सनाइड विश्वमा निश्चित कम्पनीहरूले मात्रै उत्पादन गर्छन्।

जर्मेनिअम माइक्रोप्रोसेसर र सोलर सेल निर्माण गर्न प्रयोग हुन्छ। ह्यामिल्टनका अनुसार यो “सेनाका लागि निकै महत्त्वपूर्ण” भिजन चस्माहरू बनाउन पनि प्रयोग हुन्छ।

“विकल्प उपलब्ध गराउन बेस मेटल (सस्ता धातुहरू) को पर्याप्त क्षेत्रीय आपूर्ति हुनुपर्छ। चीनको प्रभुत्वका कारण सबैभन्दा उच्च गुणस्तरका सेमिकन्डक्टरहरूको समस्या समाधान गर्न कठिन छ। पक्कै पनि पुनर्प्रयोगका केही प्रयासहरू हुन सक्छन्,” ह्यामिल्टनले भने।

अमेरिकासँग कति सञ्चिति छ
गत महिना पेन्टागनका प्रवक्ताले अमेरिकासँग जर्मेनिअमको पर्याप्त भण्डार भए पनि ग्यालिअमको सञ्चिति नभएको बताएका थिए।

उनले रक्षा मन्त्रालयले “ग्यालिअम र जर्मेनिअमसहितका माइक्रोइलेक्ट्रोनिक्स र अन्तरिक्ष आपूर्ति प्रणालीका लागि संवेदनशिल सामग्रीहरूको देशभित्रै उत्खनन र प्रशोधन बढाउन अग्रसरताका साथ कदम चालिरहेको” बताएका थिए।

यद्यपि चीनले निकासीमा लगाएको प्रतिबन्धको प्रभाव दीर्घकालमा सीमित हुँदै जाने ठानिएको छ।

ग्यालिअम र जर्मेनिअमको निकासीमा चीन सबैभन्दा अगाडि भए पनि कम्प्युटर चिप्सहरूका लागि आवश्यक सामग्रीका लागि यो उपकरणको विकल्प रहेको राजनीतिक जोखिमसम्बन्धी परामर्श दातृसंस्था यूरेशिया ग्रूपले जनाएको छ।

उसका अनुसार चीनबाहिर पनि यसको उत्खनन र प्रशोधन सक्रिय रूपमा भइरहेको छ।

अमेरिका र चीनबीच प्रतिबन्धको शृङ्खला
उक्त परामर्शदाता संस्थाले एक दशकअघि चीनले ‘रेअर अर्थ मिनरल’ भनिने दुर्लभ धातुको निर्यातमा रोक लगाउँदाको अवस्थासँग तुलना गरेको छ।

उसका अनुसार चीनले उक्त दुर्लभ धातुको निकासीमा प्रतिबन्ध लगाएपछि एक दशकभन्दा कम समयमै धेरैवटा निर्यातकर्ता देशहरू देखा परेका छन् र उनको निर्यात बजार ९८ प्रतिशतबाट खस्किएर ६३ प्रतिशतमा सीमित भएको थियो।

“हामी ग्यालिअम र जर्मेनिअमको वैकल्पिक स्रोतहरूको खोज र विकासको अपेक्षा गर्न सक्छौँ। सँगसँगै यस्ता पदार्थहरूको पुनर्प्रयोगका प्रयासहरूमा वृद्धि र नयाँ प्रयोगका लागि तयारी अवस्थामा रहेका विकल्पहरूको पहिचान पनि हुनसक्छ,” यूरेशियाकी चिनियाँ कर्पोरेट मामिला र अमेरिका चीन मामिलाकी निर्देशक एना एश्टनले बीबीसीसँग भनिन्।

उनका अनुसार त्यसको कारक चीनको निर्यात प्रतिबन्धको घोषणा मात्रै पनि नहुन सक्छ।

“बढ्दो मागका कारण बढ्दो अपेक्षाको परिणामले बढाएको भूरणनीतिक प्रतिस्पर्धा र अविश्वाससँगै राजनीतिक र रणनीतिक रूपमा आपूर्ति र निर्यातमा प्रतिबन्ध लगाउने चीनको चाहनाको परिणाम पनि हो,” उनले भनिन्।

अक्टोबरमा वाशिङ्टनले अमेरिकी प्रविधि, उपकरण वा सफ्टवेअरको प्रयोग गरेर विश्वको जुनसुकै ठाउँमा बनेका चिप्सको चीनमा निकासी गर्ने कम्पनीहरूलाई अनुमतिपत्र चाहिने व्यवस्था गरेको थियो।

विशेषतः वाशिङ्टनको निर्यात नियन्त्रणको प्रतिक्रियामा चीनले अमेरिकालाई प्रविधिमा आधिपत्य कायम गरेको आरोप लगाउँदै आएको छ।

पछिल्ला महिनाहरूमा बेइजिङले पनि लकहीड मार्टिनजस्ता अमेरिकी सेनासँग सम्बन्ध भएका कम्पनीहरूमाथि प्रतिबन्ध लगाउन सुरु गरेको छ।

पश्चिमा सरकारहरूले पनि चीनको जोखिम घटाउनुपर्ने विषयमा बोल्दै आएका छन्। त्यसको अर्थ कच्चा पदार्थ र तयारी उत्पादनहरू दुवैमा चीनमाथिको परनिर्भरता घटाउनु हो।

हरित प्रविधिमा असर
यद्यपि आपूर्ति प्रणालीको विविधीकरण गर्न र ग्यालिअम र जर्मेनिअमजस्ता धातुको उत्खनन तथा प्रशोधन गर्न वर्षौँ लाग्न सक्छ।

दीर्घकालमा खनिजका धनी देशहरू अस्ट्रेलिया र क्यानडाले यसको अभावलाई अवसरको रूपमा लिन सक्छन्।

विज्ञहरूले अमेरिका र चीनले जस्तो प्राविधिक स्रोतको क्षमतालाई हतियार बनाउने कदमले वातावरणको मामिलामा अन्तर्राष्ट्रिय प्रभाव पार्न सक्छ। किनभने नयाँ हरित प्रविधिहरू यस्ता प्रकारका सामग्रीहरूमा निर्भर छन्।

“यो राष्ट्रिय समस्या होइन। यो मानवीय प्रतिस्पर्धाले निम्त्याएको समस्या हो। नीतिनिर्माताहरू टेबलमा बसेर वार्ता गर्छन् भन्ने आशा गरौँ। ऊर्जा सङ्क्रमणका लागि अत्यावश्यक ती संवेदनशील सामग्रीहरूमा पहुँच सुरक्षित गर्ने छन्,” डा हार्पर भन्छन्।

पछिल्लो निर्यात नियन्त्रणको प्रभाव उद्योगहरू र उपभोक्ताका लागि त्यति विनाशकारी नभए पनि यस्तो प्रवृत्तिले कहाँ पुर्‍याउँछ भन्ने कुरामा ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्।

“बाटोमा रहेका महिला र पुरुषलाई ग्यालिअम र जर्मेनिअमबारे चासो नहुन सक्छ,” हार्पर भन्छन्।

“तर उनीहरूको कारलाई कति पैसा पर्छ र हरित प्रविधिमा त्यसलाई रूपान्तरण गर्न कति महँगो हुन्छ भन्ने चासो हुन सक्छ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्