सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बिक्री खुला भएको छ ।
कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रिमियम भाउमा जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम थप गरेर २४४ रुपैयाँ दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । जसमध्ये १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
आइपीओ बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।