काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अमेरिकाले फेरि अस्वीकार गरेको छ ।
काठमाडौंस्थित अमेरिकी राजदूतावासले बिहीबार उनलाई अन्तर्वार्ताका लागि बोलाएको भए पनि भिसा दिन नमानेको हो ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामछिानेलाई पनि टी–२० विश्व कप खेल्ने टोलीमा सामेल गराउने प्रक्रिया अघि बढाएको थियो । नेपाली टोली अमेरिका पुगिसकेको छ । तर, दूतावासले भिसा दिन नमान्दा लामिछाने जान पाएका छैनन् ।
टी–२० विश्वकप क्रिकेट खेल्न उनले दिएको आवेदन दूतावासबाट अस्वीकार यसअघि पनि भएको थियो ।
यसअघि सन् २०१९ मा पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जान लागेका लामिछानेलाई अमेरिकी दूतावासले सुरुमा भिसा दिएको थिएन । फेरि सामाजिक सञ्जालमा आलोचना भएपछि बोलाएर भिसा दिएको थियो ।
टी–२० विश्वकप क्रिकेटका लागि अन्य नेपाली खेलाडी अमेरिका छन् । नेपालले पहिलो खेल जुन ४ (२२ जेठ) मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै छ ।