चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजी कार्य तीव्र पारिएको छ । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा शुक्रबार बिहान दुईवटा बस नदीमा खसेका थिए ।
बसमा ६५ जना सवार रहेको बताइएको छ । नदीमा पानीको सहत बढेकाले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन् ।
चितवन प्रहरी प्रमुख भावेश रिमालले नारायणगढ–मुग्लिन सडकमा दुईवटा बस पहिरोले बगाएको खबर प्राप्त गर्ने वित्तिकै घटनास्थलमा पुगेर खोजी कार्य जारी राखेको जानकारी दिए । काठमाडौंबाट आएको बसको तीनजनाको भने उद्दार गरेर उपचार भइरहेको उनले बताए।
काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेको थियो । गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए ।