काठमाडौं। ललितपुरका एक जना बालकमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.युवानिधि बसौलाले अस्पतालमा उपचाररत १६ वर्षीय बालकमा हैजा पुष्टि भएको जानकारी दिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा ललितपुरको गोदावरी–१४, ठैवस्थित एक पुनर्स्थापना केन्द्रमा बसोबास गर्ने बालमा हैजा पुष्टि भएको हो । त्यही केन्द्रका अर्का एक जना झाडापखालाका बिरामी भने आइसियुमा उपचाररत छन् । उनको रिपोर्ट आउन बाँकी छ ।
अस्पतालले जनाए अनुसार उक्त ठाउँबाट हैजाका लक्षण लिएर चार जना युवा आएकोमा एक जनामा यो पुष्टि भएको हो । अर्का एक जनाको रिपोट कल्चरको लागि दिइएको छ । डा.बसौलाका अनुसार दुई जना बिरामी सोमवार राति अस्पतालबाट भागेका छन् । सरुवा रोग अस्पतालमा अहिले झाडा पखालाका कारण हरेक दिन सरदर १० जना बिरामी उपचारका लागि पुगिरहेका छन् ।
यसैबीच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले ठैबको उक्त केन्द्रमा देखिएको हैजा अन्य ठाउँमा फैलन नदिन उक्त पुनर्स्थापना केन्द्रलाई सिल गरेर अनुसन्धान गर्न निर्देशन दिइसकेको बताएका छन् ।