सनातन हिन्दुहरुले सोमबार जनैपूर्णिमा अर्थात् रक्षाबन्धन मनाउँदै छन् । जनैपूर्णिमा वैदिक सनातन धर्मावलम्बीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् । यो दिन जनै धारण गर्नेको विशेष पर्व हो ।
यस दिन श्रावणी स्नान, अरुन्धतीसहित सप्तऋषिको पूजन तथा तर्पण, जनैको प्रतिष्ठा, नयाँ जनै धारण, पितृको स्मरण, रक्षाबन्धन पूजा र धारण आदि कर्म गर्ने गरिन्छ । यस विषय विभिन्न ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ ।
हिन्दू संस्कृतिमा जन्मदेखि मृत्युपर्यन्त १६ वटा संस्कारको वर्णन गरिएको छ । जसमा व्रतवन्ध संस्कारलाई निकै महत्व दिइएको छ । व्रतबन्धको अर्थ कुनै व्रत वा नियममा बाँधिनु भन्ने हुन्छ । कुनै पनि पूजापाठ, यज्ञ–यज्ञादिको अधिकारी बन्न जनै लगाएको हुनुपर्छ ।
क्वाँटी जनैपूर्णिमा विशेष परिकार हो । बर्खाभरि खेतीपातीमा खटिँदा थाकेको शरीरलाई फुर्तिलो बनाउनका लागि जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ ।
यसपालिको जनैपूर्णिमाका दिन भद्रा परेकाले विवादित बनेको छ । भाद्र ३ गते सोमबार पूर्णिमा तिथि ४७ घडी १९ पला रहेको छ । घन्टा–मिनेटबाट हेर्दा यस दिन १ बजेर ३१ मिनेटसम्म भद्रा परेको छ । यसमा अन्य कर्म गर्न भए पनि रक्षाबन्धन लगायत जनै लगाउन हुनेरनहुने विषयमा विवाद भएको हो ।
यस सम्बन्धमा नेपाल पञ्चांग निर्णायक विकास समितिले एक प्रेस विज्ञप्ति जारी गरेर विवादको अन्त्य गरेको छ । राष्ट्रप्रमुख वा राष्ट्र सञ्चालनमा विशिष्ट भूमिका निर्वाह गरी उच्च प्रशासनिक कार्य गर्ने व्यक्तिबाहेक अन्यले स्नान, पूजाआजा, जनै लगाउन, रक्षाबन्धन बाँध्न लगायत कर्म गर्न हुने समितिले जनाएको छ ।
जनैपूर्णिमाको अवसरमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्छन् । गोसाइँकुण्डमा हरेक वर्ष गंगादशहरा र जनैपूर्णिमा गरी वर्षको दुईपटक मेला लाग्ने गर्दछ ।