विद्युत खपतलाई दीगो कसरी बनाउने भन्ने चुनौती रहेको छ – Janadesh Daily | ePaper

विद्युत खपतलाई दीगो कसरी बनाउने भन्ने चुनौती रहेको छ


नेपालको उज्यालो भनी चिनिने विद्युत प्राधीकरणका प्रबन्धनिर्देशक कुलमान घिसिङको लोकप्रियता आमजनतासम्म छ । उनी आएपछि जनताको घरघरमा उज्यालो आयो । उनको पुनर्नियुक्ति होस् भन्नेमा जनताको चट्टानी अडान छ । प्रस्तुत छ घिसिङसँग जनादेशका संवाददाताले गरेको संक्षिप्त कुराकानी :

१. विद्युत प्राधिकरणको हालको अवस्था बारे भनिदिनोस् न ।

विद्युत प्राधिकरण विगत १५/१६ वर्षसम्म घाटामा रहेको संस्था अहिले त्यो घाटा पूरा गरेर नाफामा छ । मैले विद्युत प्राधिकरणमा ठूलै परिवर्तन भयो भन्दैन । तर सुधार भने पक्कै भएको छ । यो भनेको आत्मनिर्भरता र समृद्धितिरको सुरुआत हो । अझैं धेरै गर्नु छ ।

यो सिंगो उर्जा क्षेत्र बोकेको प्राधिकरण हो । विद्युतमा आत्मनिर्भर हुँदै विद्युत निर्यात गर्ने सम्मको अवस्था सिर्जना हुन लागेको अवस्था पनि हो । हिजोको चुनौती भनेको खपत कम गराएर लोडसेडिङ घटाउने थियो । तर आज लोड सेडिङको अन्त्यसँगै विद्युत खपत कसरी गराउने भन्ने सकारात्मक चुनौती आइपरेको छ । यो वर्षभित्रै १२/१३ सय मेगावाट विजुली थप उत्पादन हुँदैछ ।

२. विद्युत खपत बढाउने उपाय के के छन् ?

खपतमा औद्योगिक क्षेत्रहरु, कुकिङ, हिटिङ, कुलिङ आदिमा पनि ध्यान पुर्याउनु पर्छ । विद्युतीय बाहनहरु सञ्चालन गरी खपत बढाउन सकिन्छ ।

३. विद्युत उत्पादन र व्यवस्थापनमा आइपरेका चुनौतीको कसरी सामना गर्दै हुनुहुन्छ ?

पूर्वपश्चिम प्रसारण लाइन निर्माण भैरहेका छन् । उत्तर दक्षिण पनि केही भएका छन् । काम गर्दा केही समस्या त आइहाल्छन् । स्थानीयको अवरोध पनि देखिएको छ । वनजंगल कटानी, खेतबारी आदिमा समस्या आउँछन् । विद्युतीय स्टेशन बाढी पहिरोले बगाउने समस्या कतै कतै देखिन्छन् ।

मुख्य चुनौती भनेको विद्युत खपत कसरी गराउने भन्ने नै हो । यसलाई दीगोरुपमा कसरी अघि बढाउने भन्ने अर्को चुनौती हो । असल शासन भएन भने पनि यी काम हुने संभावना कम हुन्छ । यो सरकारको कुरा हो । यसका साथै सही र वैज्ञानिक व्यवस्थापन, सही अभिमुखीकरण आदिको पनि उत्तिकै आवश्यकता पर्छ । संयन्त्र चुस्त र कार्यकारी बनाउने समस्या पनि छन् ।

४. कोभिड—१९ को असर केमा देखिएको छ ?

कोभिडको असर सबैभन्दा बढी दैनिक सेवामा परेको छ । कोरोना संक्रमणका कारण देशमा केही कार्यालय बन्द छन् । कर्मचारी संक्रमित भएपछि हाल घरघरमा सेवा दिन पनि गाह्रो भएको छ । मिटर रिड गर्नेदेखि कार्यालय पुग्नै नसकिने भयो । कोभिडका कारण यी हुन गएको ढिलासुस्ती पूरा गर्न नयाँ सोच बनाइरहेका छौं

५. कति प्रतिशत काम सिद्धिएको हो ?

हाम्रा काम सिद्धिएका ९० प्रतिशतभन्दा बढी जिल्ला छन् । कर्णाली र सुदुरपश्चिम प्रदेशमा काम गर्न केही बाँकी छ । यिनमा पनि काम लगभग ८६ प्रतिशत पुगिसकेको छ । विद्युतीय ग्रिडको एक्सेस पुर्याउँदै गर्दा यही वर्षभित्रै ९० प्रतिशत पूरा गर्छौं ।

६. हाल ट्रान्समिसन लाइनको काम अघि बढेको हो ?

विद्युतीकरणका लागि भौतिक पूर्वाधार निर्माण जरुरी छ । यसका लागि ट्रान्समिसन लाइन बिछ्याउनु पर्छ । पूर्वको ढल्केबरस्थित ४० केवीको ट्रन्समिसन लाइन चालु हुँदै छ । यसबाट १५ मेगावाट विद्युत आयात र निर्यात हुने छ । हाल गोरखपुर–बुटवल ट्रान्समिसन लाइनको मोडालिटी निर्माण गरी भारतको पावर ग्रिड र नेपालको विद्युत प्राधिकरणबीच काम अघि बढिरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्