यसकारण जटिल छ वामदेव गौतमको सिंहदरबार यात्रा – Janadesh Daily | ePaper

यसकारण जटिल छ वामदेव गौतमको सिंहदरबार यात्रा


जनादेश, काठमाण्डौ ।

सत्तारुढ नेकपाभित्र मत्थर भएको भनिएको राजनीतिक उकुसमुकुसलाई सचिवालय सदस्य वामदेव गौतमले फेरि एकपटक तरङ्गित बनाएका छन् । यसपटक उनको प्रस्तावमा नेकपाका नेताहरु विभाजित हुनुपर्ने छैन बरु प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक इमानको परिक्षा भने लिनेछ ।

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन वार्तामा गौतमलाई अब माथिल्लो सदन राष्ट्रिय सभामा मनोनित गर्ने प्रसङ्ग समाप्त भएको बताएपछि गौतम झस्किएको सहजै अनुमान गर्न सकिन्छ ।

पार्टी अध्यक्ष एवं प्रम ओलीको अभिव्यक्तिलाई आधार मान्ने हो भने उनी वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै माथिल्लो सदन राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने कोटामा ल्याउन चाहन्छन नकि गौतमलाई । यदि डा खतिवडालाई नै नियुक्ति गर्ने हो भने यही भदौ २० भित्रै गर्नुपर्छ । अन्यथा सासंदबिहिन भएरै मन्त्री बनिरहेका खतिवडा भदौ २१ गतै नै घर फिर्नु कानूनी अनिवार्यता छ ।

प्रम ओलीको उक्त भनाईपछि नेता वामदेव गौतमले २०७६ फागुन १४ गतेको पार्टी सचिवालय बैठकको निर्णय कार्यान्वयनको माग गर्दै आफुलाई राष्ट्रिय सभामा मनोनयन गर्न आन्तरिक दवाबको शुरुवात गरिसकेका छन् ।

तर यसपटक पनि वामदेवले सोचे अनुसार न त पार्टीभित्र न बाहिर उनको पक्षमा माहौल छ । यसअघि दलभित्रको किचलो चरमविन्दुमा पुगेको बेला प्रचण्ड र माधव नेपालको समूहलाई धोका दिएर तटस्थ बन्ने भन्दै ओली समूहलाई साथ दिएका गौतमलाई अहिलेको घडिमा प्रचण्ड र माधव नेपालको निसर्त सहयोग उनले सोचे जस्तो सहज छैन ।

त्यसैगरि वामदेवलाई बारबार उपयोग गरेका ओलीले यसपटक पनि उनलाई नियुक्तिका लागि राष्ट्रपतिसामू सिफारिस गर्ने संभावना अति क्षीण रहेको नेकपा नेताहरु नै बताउँछन् । त्यसो त ओलीले नियुक्ति र सिफारिसको प्रवृति हेर्दा भौगोलिक रुपमा अपवाद बाहेक साविकको मेची अंचल आसपास र राजनीतिक रुपमा आफ्नो सानो कोटरी भन्दा बाहिरकाले त्यो सिफारिस पाउनु फलामको चिउरा चपाउनु सरह हुन्छ ।

त्यसो त पार्टीभित्र वामदेवलाई पटक पटक चौतर्फी आक्रमणमा परेका व्यक्ति हुन् र उनी केहि गर्न त खोज्छन तर अन्तिममा नराम्रोसगँ धोखा पाउँछन र यो पटक सोही श्रंखलाको पुनरावृति हुन्छ भन्नेहरु प्रशस्तै छन् ।

यी विविध घटनाहरुका बीच उनको राष्ट्रिय सभाको यात्रा अन्तिममा पार्टी अध्यक्षद्वय ओली र प्रचण्डको सल्लाहमा निर्भर रहन्छ । तर यसअघिको शक्ति संघर्षमा अन्तिम घडिमा आएर प्रचण्डलाई साथ नदिएका वामदेवको पक्षमा प्रचण्डले अड्डी कस्ने जाँगर गर्ने छैनन् र त्यो निहुँ नै वामदेवलाई पन्छ्याउन ओलीका लागि गतिलो हतियार बन्नेछ ।

बरु ओलीले डा खतिवडा वा अन्य कोहीलाई राष्ट्रिय सभामा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछन् भने प्रचण्डले पनि मन्त्रिपरिषद पुर्नगठनमा आफ्नो पक्षबाट नयाँ सिफारिसका लागि बाटो सहज बन्नेछ ।

तसर्थ वामदेव गौतमको नियुक्ति यसपटक पनि उनका लागि एउटा मृगतृष्णा बन्नेछ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्