सिसिएमसी बैठकका यस्ता छन् चार निर्णय – Janadesh Daily | ePaper

सिसिएमसी बैठकका यस्ता छन् चार निर्णय


कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) निर्देशक समितिले प्रदेश र जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरूलाई समावेश गर्ने निर्णय गरेको छ । सिसिएमसी निर्देशक समितिको सिंहदरबारमा शुक्रबार बसेको बैठकले प्रदेश र जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धित स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई समावेश गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्लास्तरीय सिसिएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेश गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय भएको बताए ।

बैठकमा अहिलेसम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरूको वस्तुस्थितिको बारेमा समेत छलफल भएको थियो । विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए ।

नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरूलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णयसमेत बैठकले गरेको छ ।

यस्तै जुलाई १२ तारिखसम्म उद्धारका उडानहरू भइराखेकोमा एक हप्तासम्मको उडानका तालिकाहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको गुरागाईंले बताए ।

स्रोतः नयाँपत्रिका दैनिक

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्