चीन, रुस र उत्तर कोरियासँग कस्तो होला बाइडेनको व्यवहार – Janadesh Daily | ePaper

चीन, रुस र उत्तर कोरियासँग कस्तो होला बाइडेनको व्यवहार


जनादेश वाच ।

जो बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भैसकेका छन् । गएको चार वर्षमा ट्रम्प प्रशासनले अमेरिका र बाँकी विश्वबीचको सम्बन्धमा ठूलो उतार-चढाव ल्याइदिएको छ ।

अमेरिकामा बाइडेनको विजयपछि अब विश्वसँग अमेरिकाको सम्बन्ध कस्तो होला भने ठूलो जिज्ञासा छ । अमेरिका फष्ट भन्ने नारा लिएका ट्रम्पले द्वन्द्ध रहेका देशमात्र होइन मित्रता रहेका देशहरुसँग पनि सम्बन्ध विगारेका थिए ।

बाइडेनको विजयपछि अमेरिकाले चीन, रुस र उत्तर कोरियाबारे कस्तो व्यवहार गर्ला भन्ने चासो चौतर्फी छ ।

चीन
बाइडेनको विजयले चिनियाँ प्रणालीसमक्ष अर्को चुनौती खडा गरिदिएको बीबीसीको विश्लेषण छ । चीन डोनाल्ड ट्रम्प ह्वाइटहाउसबाट बिदा भएको हेर्न चाहन्छ भन्ने कतिपयको आकलन रहेको थियो । किनकि दुई देशबीच पछिल्लो समय व्यापार–युद्ध चर्केको छ । त्यसका साथै कोभिड–१९ को महामारीका लागि उनले चीनलाई दोष लगाउँदै आएका थिए । तर केही विश्लेषकहरूको विचारमा चीनले ट्रम्प ह्वाइटहाउसका लागि पुनः निर्वाचित भएको भएको हेर्न चाहन्थ्यो । किनकि उनका नीतिहरूका कारण अमेरिकाको शक्ति विश्वमा क्षीण हुँदै जान सक्ने भएकाले त्यो आफ्नो हितमा हुने बेइजिङको बुझाइ छ ।

बाइडेनले चीनसँग अमेरिकी सम्बन्ध सुधारका लागि सक्दो प्रयास गर्नेछन् तर बाइडेनकै कारण विश्वशक्ति बन्ने चिनियाँ आकांक्षा पर धकेलिन सक्ने विश्लेषकहरूको भनाइ छ ।

सम्भवतः बाइडेनले नयाँ शीतयुद्धलाई अस्वीकार गर्नेछन्। किनभने त्यसले विश्वमा अमेरिकाको नेतृत्वदायी भूमिकामाथि खतरा पैदा गर्नेछ। तर, उनले चीनको बढ्दो प्रविधि र लगानी क्षमतालाई नियन्त्रणमा राख्ने प्रयास गर्नेछन्। त्यस्तै उनले चीनको ढोकैमा अमेरिकी सैन्य उपस्थितिलाई पनि बलियो बनाउने छन्।

‘चीनको विषयमा आफ्ना मित्रशक्तिसँग समान धारणा राख्न’ बाइडेनले युरोपेली मुलुकसँगको साझेदारी बलियो बनाउने उनका सल्लाहकार बताउँछन्। खासगरी गुप्तचर सूचना, लगानी र नयाँ प्रविधिका क्षेत्रमा सहकार्य हुनेछ। दक्षिण कोरियाजस्ता क्षेत्रीय साझेदारसँग पनि उनले सहकार्य बढाउने छन्।

नतिजाः चीनको सैन्य, आर्थिक र कूटनीतिक महत्वाकांक्षाका कारण उत्पन्न खतरालाई बाइडेनले कम ठानेको उनकै पार्टीका केही मानिसहरुको भनाइ छ। आफूलाई उछिन्न नदिन बाइडेन बेइजिङविरुद्ध उग्र रुपमा प्रस्तुत हुनुपर्ने उनीहरुको मत छ। युरोपेली अधिकारीहरु आफूहरुले अमेरिका र चीनलाई समदुरीमा नराख्ने बताउँछन्। तर, चीनसँगको आर्थिक सम्बन्धलाई भने कायम राख्ने उनीहरुको चाहना छ।

रुस
जो बाइडेनलाई विश्वभरबाट वधाई तथा शुभकामना दिनेहरुको भीड बढिरहेका बेला रुसले भने शुभकामना दिएको छैन । विश्वका अधिकांश मुलुकको नेतृत्वले राष्ट्रपतिमा विजयी बाइडेनलाई शुभकामना दिएपनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिक्रिया जनाएका छैनन् ।

रुसी सरकारी समाचार च्यानलले अमेरिकी निर्वाचनमाथि प्रश्न उठाउँदै कडा आलोचना गरेको छ । रुसी सरकारी च्यानलका विवादास्पद कार्यक्रम सञ्चालक दिमित्री किस्लेभले अमेरिकी निर्वाचनका बारेमा थुप्रै प्रश्नहरु उठाएका छन् । उनले आफ्नो साप्ताहिक कार्यक्रममा भनेका छन्ः ‘अमेरिकी चुनाव प्रणाली यति परम्परावादी र पुरानो छ कि यो डाइनोसर जत्तिक्कै पुरानो छ । म यसलाई लोकतान्त्रिक भन्न सक्दिन ।’

उत्तर कोरिया
ट्रम्पको कार्यकालमा अमेरिकाको उत्तर कोरियासँग बन्ने र बिग्रने अवस्थामा भएको थियो । एकपटक यस्तो समय पनि आयो जब ट्रम्पले उत्तर कोरियालाई ‘यदि सुध्रिएनौ भने नतिजा भोग्नका लागि तयार होऔ’ भनेर धम्काए पनि ।

तर केही हप्तापछि नाटकीय परिवर्तन भयो र ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई भेट गरे । यसले संसारभरी यो सन्देश दियो कि उत्तर कोरिया र अमेरिकाबीच हाल सबै सामान्य छ ।

तर नवनिर्वाचित राष्ट्रपति बाइडेन किम जोङ–उनलाई ‘ठग’ भन्छन् । राष्ट्रपति चुनावको बहसमा पनि उनले यही सम्बोधनले किमको कुरा उठाए ।

अर्थात् जो बाइडेन उत्तर कोरिया र किम जोङ–उनको विषयमा थोरै सतर्क रहनेछन् ।

विश्लेषकहरुले बाइडेन अमेरिकाको तर्फबाट बराक ओबामाको ‘रणनीतिक धैर्य’ युक्त नीति पनि लागू गर्नसक्ने मान्यता राख्छन् । यसलाई धेरै मानिसहरुले ‘रणनीतिक अज्ञानता’ वा ‘रणनीतिक कोमा’ को रुपमा बुझ्ने गर्छन् ।

सन् २०१९ मा उत्तर कोरियाको सरकारी मिडियाले जो बाइडेनले किम जोङ–उनमाथि लगाएको आरोपको निन्दा गरेका थिए र उनीमाथि अपशब्द पनि प्रयोग गरेका थिए ।

यद्यपि, अब उनले यस्तो प्रकारको भाषाको प्रयोग गर्ने सम्भावना निकै कम छ ।

युरोप
बाइडेनले यूकेसँग भन्दा पहिला युरोपेली संघ, जर्मनी वा फ्रान्ससँग सम्बन्ध अघि बढाउन सक्ने जनाइएको छ । यद्यपि अमेरिकी चुनावको केही साताअघि जोन्सनले बाइडेन निर्वाचित हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

 

यो पनि हेर्नुस्- पूर्वराष्ट्रपति बुसले भने- चुनावमा धाँधली भएको छैन, ट्रम्पमाथि परिवारकै पनि दबाब

जो बाइडेनले थाले ह्वाइट हाउसको तयारी, ट्रम्पका केही निर्णय तत्काल उल्ट्याउने

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्