दल विभाजनको अध्यादेश ल्याउन यसकारण डराए ओली – Janadesh Daily | ePaper

दल विभाजनको अध्यादेश ल्याउन यसकारण डराए ओली


जनादेश वाच ।

दुई अध्यक्षबीच तिक्ततापूर्ण पत्र आदानप्रदान पछि फुटको संघारमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपामा मंसिर ३ अर्थात् बुधबार बोलाइएको सचिवालय बैठकको प्रतीक्षा चलिरहेको छ ।

दुबै पक्ष मंसिर ३ अघि नै जितको माहौल बनाउन व्यस्त छन् । कार्यकारी अध्यक्ष प्रचण्डको पत्र प्रत्याक्रमणपछि घाइते बनेका ओलीले फकाउन मिल्ने सबैलाई फकाइरहेको भएपनि केही हत लागिसकेको छैन ।

ओलीका तर्फबाट प्रचण्डलाई मनाउन सोमबार खुमलटार पुगेका महासचिव विष्णु पौडेल निराश फर्केका छन् भने बालुवाटार बोलाइएका सबैजसो नेताले ओलीलाई नै सच्चिन सुझाव दिएका छन् ।

प्रचण्डको प्रस्ताव निष्तेज पार्न र दबाब बढाउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपनि आफूबिरुद्ध स्पष्ट बहुमत हुने देखेपछि ओली हच्किएका छन्।

प्रचण्डले प्रस्ताव फिर्ता नगरेसम्म मंसिर तीनको सचिवालय बैठक हुन नदिने या त्यसमा भाग नलिने अडान ओली पक्षले सार्वजनिकरुपमै लिइसकेको छ ।
तर भित्रभित्रै अति दबाबमा परेका ओलीले सोमबार बेलुका पूर्वमाओवादी केन्द्रका नेताहरूलाई बालुवाटार बोलाएर फकाउने कोशिस गरेका छन् । मध्यरातसम्म भएको छलफलमा पूर्वमाओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्रीलाई नै लचिलो बन्न र व्यवहार सच्चाउने सुझाव दिएका थिए ।

मन्त्री ईश्वर पोखरेल, विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ, सुवास नेम्वाङसहितका नेताहरू सहभागी उक्त छलफलमा पूर्वमाओवादी केन्द्र समूहका स्थायी कमिटी सदस्यद्वय देवेन्द्र पौडेल र टोपबहादुर रायमाझी सहभागी थिए । हरिबोल गजुरेल भने बोलाइएपनि बालुवाटार गएनन् ।

ओली पक्षीय नेताहरुले जसरी पनि पार्टी एकता जोगाउनुपर्ने भन्दै पूर्वमाओवादी नेताहरुलाई अध्यक्ष प्रचण्डलाई प्रस्ताव फिर्ता लिन मनाउन आग्रह गरेका थिए । प्रस्ताव फिर्ता भए जुनसुकै कुराका लागि लचकताका साथ संवाद गरिने उनीहरुको भनाई छ ।

नेकपाको आगामी सचिवालयको बैठक मङ्सिर ३ गतेलाई तय भएको छ । पार्टी अध्यक्षले बैठकमा पेश गरेको दस्तावेज एकलरूपमा आएको भन्दै फिर्ता नलिँदासम्म बैठकको वातावरण नबन्ने ओली पक्षको अडान छ । ओली पक्षका नेताहरूले प्रचण्डलाई दस्तावेज फिर्ता लिन आग्रह गरेका छन् । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले दस्तावेज सामूहिक निष्कर्ष भएकाले फिर्ता नहुने बताइसकेका छन् ।

यो पनि हेर्नुस्-

प्रचण्डको पत्र प्रत्याक्रमणपछि बालुवाटार रक्षात्मक, पद जोगाउन ओलीका अनेक अस्त्र

पूर्वएमाले फकाउने रणनीतिमा ओलीलाई निराशा, गौतम र नेपालले भने- आफै सच्चिनुस्

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्