पूर्वएमाले फकाउने रणनीतिमा ओलीलाई निराशा, गौतम र नेपालले भने- आफै सच्चिनुस् – Janadesh Daily | ePaper

पूर्वएमाले फकाउने रणनीतिमा ओलीलाई निराशा, गौतम र नेपालले भने- आफै सच्चिनुस्


जनादेश वाच ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर आरोपसहित प्रतिवेदन पेश गरेपछि दबाबमा परेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमाले फकाउने रणनीति तय गरेपनि निष्फल देखिएको छ ।

चर्को दबाबमा परेका प्रधानमन्त्री ओलीले पूर्वएमाले नेताहरुसँग परामर्श बढाएपनि अपेक्षाकृत प्रतिक्रिया पाएका छैनन् । आइतबार बिहान पार्टी महासचिव विष्णु पौडेलको उपस्थितिमा उपाध्यक्ष गौतमलाई भेटेर आफूलाई साथ दिन आग्रह गरेका प्रधानमन्त्री ओलीले अपरान्ह वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर सहमति जुटाउने प्रयास गरेका थिए।

ओलीले आइतबार त झन्डै साढे ४ घण्टा नेता नेपालसँग विमर्श गरे । नेपालसँग भेट्नुअघि बिहानै करिब एक घण्टा नेता वामदेव गौतमसँग संवाद गरेका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले वामदेव गौतमलाई सरकारमै सहभागी बनाउने गरी समर्थन प्राप्त गर्ने प्रयास गरेका छन्।

गौतम र ओलीबीचको संवाद आशातित नभएको ओली निकट श्रोतको भनाई छ । गौतम ओलीसँग कडारुपमा प्रस्तुत भएका थिए । गौतमले प्रष्टैसँग अहिले साथ दिन नसकिने बताएका थिए ।

गौतमले ‘दस्तावेज प्रचण्डको एकल नभएको मात्रै होइन, ओलीको कमजोरीलाई स्वीकार गरेर जान नसकिने’ भनाइ पनि राखेको उनका सहयोग विश्वमणि सुवेदीले बताएका छन् ।

त्यस्तै ओलीले नेता नेपाललाई अध्यक्षको अफर गरिरहेका छन् । तर नेपालले भने कुनै पद भन्दा पनि विधि र प्रक्रियामा पार्टी चलाउन ओली तयारी हुनुपर्ने पुरानै अडान दोहोर्‍याएका छन् ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजाललेनेता नेपालसँग ठोस र मूर्त कुराकानी हुन नसकेको बरु विगतका छलफलमा जस्तै गुनासो सुन्ने मात्रै काम भएको जानकारी गराएका छन् । छलफल नेता नेपालले कमिटीको बैठकबाटै समाधान खोज्न र संयम हुन आग्रह गरेका थिए ।

बामदेव र माधव नेपाल दुवैसँग निराशाजनक संवाद भएपछि ओली आक्रोशित बनेका थिए । ओलीले प्रचण्डले लगाएका आरोपको जबाफ नदिने अडान लिएका छन् । यस्तै उनले आफूलाई चिड्याउने काम जारी रहेमा आफू चुप लागेर नबस्ने धम्कीसमेत दिएका छन्।

राजनीतिक दलसम्बन्धी अध्यादेश र मध्यववधि निर्वाचनको चर्चा गराएर प्रचण्डलाई दबाबमा राख्ने रणनीतिमा राख्ने र प्रचण्डको दस्तावेज फिर्ता गराउने ओली पक्षको रणनीति छ ।

बहुमत सचिवालय सदस्यले दस्तावेज स्थायी समिति र केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरे थप समस्या हुने देखेर प्रधानमन्त्री ओली अहिले जसरी पनि गौतम र नेपाललाई फकाउने प्रयासमा छन् । तर दुबै नेताले ओली भन्दा प्रचण्ड विश्वसनीय रहेको भन्दै ओलीलाई सहयोग गर्न अस्वीकार गरेका छन् ।

यो पनि हेर्नुस्- 

प्रचण्डको पत्र प्रत्याक्रमणपछि बालुवाटार रक्षात्मक, पद जोगाउन ओलीका अनेक अस्त्र

नेकपा विवाद निर्णायक मोडमा, प्रचण्डले भने- अब पनि झुक्यो भने ढाड भाँचिन्छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्