कृषिमा वैदेशिक लगानीको चौतर्फी विरोध – Janadesh Daily | ePaper

कृषिमा वैदेशिक लगानीको चौतर्फी विरोध



कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णयको उद्योगी व्यवसायीले विरोध गरेका छन् । सरकारले गरेको निर्णय व्यवसायी र किसानको हितविरुद्ध भएको भन्दै त्यसको विरोध गरेका हुन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड र केन्द्रीय पशुपन्छी पालन सहकारी संघ लिमिटेडले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरी कृषिमा वैदेशिक लगानी भित्र्याउँदा स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पार्ने भएकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन सोमबार राजपत्रमा प्रकाशित गरेको छ ।

विदेशी लगानी भित्र्याउँदा ५० करोड उद्योगमा लगानी गर्नुपर्ने र त्यसबाट उत्पादित ७५ प्रतिशत उत्पादन निर्यात गर्नुपर्ने सर्तसहित सरकारले ऐन ल्याएपछि उद्योगी व्यवसायीहरूले त्यसको विरोध गरेका हुन् । निजी क्षेत्रले अर्बौं लगानी गरेको अवस्थामा सरोकारवाला निकायसँग छलफल नगरी गरिएको निर्णयले राष्ट्रहित विपरीत भएको भन्दै व्यवसायीले तत्काल फिर्ता गर्न माग गरेका हुन् । नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले स्वदेशी व्यवसायीको ८५ अर्बको लगानी जोखिम पारेर कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय व्यवसायी र किसानको हितविपरीत भएको बताए ।

यसले स्वदेशमा अर्बौं लगानी रहेका उद्योगलाई धरासायी बनाउने भएकाले तत्काल फिर्ता गर्न सरकारलाई उनले आग्रह गरे । व्यवसायीका अनुसार स्वदेशी लगानीमा फष्टाउँदै गएका मत्स्यपाल, दुग्ध उत्पादन÷प्रशोधन, पशुपंक्षी, माहुरीपालन, पोल्ट्री उद्योगमा पछिल्लो समय फष्टाउँदै गएका छन् । कुखरा पालनमा ४० अर्ब, डेरी उद्योगमा ३० अर्ब, माछापालनमा ११ अर्ब, माहुरीपालमा ४ अर्ब गरेर ८५ अर्बको लगानी जोखिम पर्ने भन्दै उनले कृषिमा वैदेशिक लगानी भित्राउने निर्णय फिर्ता गर्नुपर्ने उनको भनाइ छ । घुमाउरो पाराले वैदेशिक लगानी भित्राउन गरिएको नीतिले ग्रामीण अर्थतन्त्रमा असर पारी किसानको रोजगारी गुम्ने व्यवसायीको भनाइ छ ।

नेपाल डेरी एसोशिएसनका पूर्वअध्यक्ष सुमित केडियाले नेपालको कृषि क्षेत्रलाई तहसनहस पार्ने गरी यस क्षेत्रमा वैदेशिक लगानी भित्राउन लागिएको जानकारी दिए । वैदेशिक लगानी भित्र्याउने गरी भएको निर्णयले ग्रामीण रोजगारीमा असर पर्ने र यस पेसामा आवद्ध व्यवसायीलाई मजदुर बनाउने र त्यसको लाभ विदेशी लगानीकर्ताको हातमा जाने उनको भनाइ छ । नेपालको दुग्धजन्य क्षेत्रमा धेरै सम्भावना रहेकाले नीतिगत तहमा सरकारले साथ दिए अझ अगाडि बढ्न सक्ने भन्दै उनले कृषिमा वैदेशिक लगानी भित्र्याउने निर्णय फिर्ता गररेर उद्योगी व्यवसायीलाई आत्मविश्वास गराउनुपर्ने बताए ।

केन्द्रीय पशुपंक्षी पालन सहकारी संघका अध्यक्ष बाबुराम अधिकारीले स्वदेशी उद्योगलाई प्रत्यक्ष असर पर्ने गरी वैदेशिक लगानी भित्राउने नीति राष्ट्रको हित विपरीत भएको बताए । स्वदेशी उद्योग र किसानलाई सुविधा नदिने तर विदेशी उद्योगलाई पूर्वाधार गराइदिने निर्णयले साना उद्योगी व्यवसायीलाई धेरै मार पर्ने उनको भनाइ छ ।

मुलुक कृषि उत्पादनमा आत्मनिर्भर भइनसकेकाले यसमा कच्चा पदार्थ नपाएर ५० पदार्थमात्र उद्योग सञ्चालन भइरहेको बेला यस क्षेत्रमा वैदेशिक लगानी आवश्यक नभएको बताए । साथै यसप्रकारका निर्णयले स्वदेशी व्यवसायीहरूको उद्यमशीलता विकासमा बाधा हुने, किसानको हातमुख जोर्ने मुख्य आयआर्जनको बाटोसमेत बन्द भई देश गरिबीतर्फ धकेलिने कृषि व्यवसायीहरूको दाबी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्