पहिरोको जोखिममा बस्ती – Janadesh Daily | ePaper

पहिरोको जोखिममा बस्ती


भक्तपुर ।  २०७२ साल वैशाख १२ गतेको भूकम्पले बस्दै आएको घर भत्कायो । घर बनाउने पैसा नहुँदा पाँच वर्ष जस्ताको टहरामा बस्दै आएको छ, १३ जनाको परिवार । पाँच वर्षपछि जग्गा बिक्री गरेर पक्की घर निर्माण शुरु गरेको दुई महिना नपुग्दै पहिरो घरको पेटीमै पुगेको छ ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीको गिरी–बस्नेत टोलमा पहिराको चपेटामा बन्दै गरेको घर परेपछि सानुभाइ गिरीका परिवार यतिखेर निकै चिन्तामा छन् । पहिराले निर्माण हुँदै गरेको घरसँगै बस्दै आएको टहरा पनि लैजाने जोखिम भएपछि परिवार आफन्त र छिमेकीको घरमा गएर रात गुजार्नु परेको छ ।
तीन दिनदेखि परेको अविरल वर्षासँगै आएको पहिराका कारण सो टोल जोखिममा परेको छ । २५ फिट परदेखि एकैपटक पहिरो गएर घर नजीकै पुगेपछि पहिराले घर लैजाने चिन्ताले पिरोलेको गिरीले बताउनुभयो ।
घर नजीकै राजेन्द्रप्रसाद दाहालले भिरालो ठाउँमा जग्गा सम्याएर प्लटिङ गरी बिक्री गरेपछि यो ठाउँ पहिराको चपेटामा परेको हो । वर्षौंदेखि पैदल हिँड्ने बाटोसमेत मासेर जग्गा कारोबारीले भएका ठूला रूखहरु तथा बाँसको झाङ्ग फँडानी गर्दै जग्गा प्लटिङ गरेपछि यस वर्ष यो ठाउँ पहिराको चपेटामा परेको हो ।
“गत वर्षसम्म यो ठाउँमा पहिरो गएको थिएन तर प्लटिङ गर्नेले जग्गा सम्याउँदै भएको रूख बिरुवा काट्दा पहिरो गयो, पहिराले घरै भेट्न लागिसक्यो”, अर्का पीडित रोशन गिरीले भन्नुभयो । जग्गा प्लटिङ गरिरहेकै बेलामा पनि दाहाललाई पहिराको जोखिमबाट बचाउन सुरक्षाका लागि अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएपछि अहिले पहिराले एकै रातमा बितण्डा मच्चाएको उहाँको भनाइ छ ।
“हिजोबाट त झन्झन् पहिरो बढ्न थाल्यो, मैले वडाध्यक्ष, प्लटिङ गर्नेलाई पनि भनेँ, वडाध्यक्ष आएर हेरेर जानुभयो, प्लटिङ गर्ने मान्छेलाई खबर पुगेपछि अहिले मोबाइल स्विचअफ गरेर बसेको छ, सम्पर्कमा आउँदैन, पहिराले घर गए, उसैले क्षतिपूर्ति तिर्नुपर्छ”, गिरीले भन्नुभयो ।
अहिले स्थानीयवासीले पहिरो रोकथामका लागि प्लाष्टिक र त्रिपालले सके जति ठाउँ छोपेर पहिरो रोक्ने प्रयास गरिरहेका छन् । आज भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापा, नेपाली सेना वीरदल गण सूर्यविनायकका गणपति कर्नेल शिव पौडेल, चाँगुनारायण नगरपालिकाका अधिकृत सिद्धान्त न्यौपाने सहितको टोलीले सो क्षेत्रको निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा प्रजिअ पाण्डेले गिरीको घरसँगै टोलबस्ती नै उच्च जोखिममा परेकाले तत्काल पहिरो रोक्ने काम गर्नुपर्ने बताउनुभयो । वीरदल गणका गणपति कर्नेल पौडेलले तत्कालका लागि पहिरो रोक्न त्रिपाल प्रदान गरेको बताउँदै यो क्षेत्रलाई दीर्घकालीन रुपमा पहिरो रोकथामको उपाय अवलम्बन गर्न जरुरी रहेको छ भन्नुभयो ।
नगरपालिकाका अधिकृत न्यौपानेले पहिरो गएको ठाउँमा छोपेर पहिरो रोक्न तत्काल प्लाष्टिक वितरण गरेको बताउँदै वर्षापछि मात्रै अन्य उपाय अपनाउन सकिने जानकारी दिनुभयो । नगरपालिकाको धेरै क्षेत्रमा पहिरो गएकाले अनुगमन गर्दै प्लाष्टिक, पाइप वितरण गरिएको उहाँको भनाइ छ । यो बस्तीको पीपलबोटदेखि गिरीबस्ती सम्मको सडकसमेत पहिराको चपेटामा परेको छ भने सडकमाथि रहेका घरहरु पोहिराको जोखिममा परेको छ ।
त्यसैगरी नेपाली सेनाको वीरदल गणले आज सूर्यविनायक नगरपालिका–५ कटुञ्जे घट्टेखोलाले सडकमा क्षति पु¥याएपछि सेनाको टोलीले बोरामा माटो भरेर रोकथाम गरेको छ । यस क्षेत्रमा भएको क्षतिको सेनाको टोलीसहित नगरप्रमुख वासुदेव थापा लगायतले अनुगमन गर्नुभएको छ ।
त्यस्तै चाँगुनारायण–४ पौवामा चार घर उच्च जोखिममा रहेको जानकारी दिँदै कर्नेल पौडेलले नेपाली सेनाले त्यो बस्तीमा १५ थान त्रिपाल र पाइप वितरण गरेको र आपत्कालीन अवस्थामा तैनाथ हुन जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो । रासस
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्