दिल्ली र दक्षिणपन्थीको उक्साहटमा संसद विघटन गरिएको भन्दै प्रचण्डको संकेतः राजनीति ग्रिपबाट बाहिर – Janadesh Daily | ePaper

दिल्ली र दक्षिणपन्थीको उक्साहटमा संसद विघटन गरिएको भन्दै प्रचण्डको संकेतः राजनीति ग्रिपबाट बाहिर


जनादेश मिडिया वाच ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय र दक्षिणपन्थीहरुको ईशारामा संसद विघटन गरेको टिप्पणी गरेका छन् । ईमेज च्यानलसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले भने, “प्रधानमन्‍त्री केपी ओलीले देशभित्रका परम्परागत सामन्ती र बाह्य दक्षिणपन्थीको साथमा प्रतिनिधिसभा विघटनको कदम चालेका हुन्। हाम्रो लोकतन्‍त्र विदेशीको दलाल भयो। नेपाली राजनीति नेपालीको ‘ग्रिप’ बाहिर गयो । उपयोग भएको छ । जनता सडकमा नआए ग्रिपमा आउँदैन ।”

प्रचण्डले वर्तमान संकटबाट पार पाउन सकारात्मक बुद्धी भएकाहरु एकजुट हुनुपर्ने पनि बताएका छन् । उनले अगाडि भने, “देशमा संकट देखिएको छ। तर सबैको सहयोगले यो संकटमा पार गर्न सकिन्छ। ‘बेस्ट ब्रेन’ भएकाहरु हामीसँग र ‘कुबुद्धि’ भएकाहरू बाहिर छन्। त्यसैले राजनीतिलाई ग्रिबमा ल्याउन सकिन्छ भन्‍ने लागेको छ।”

ओलीले राष्ट्रपतिलाई महाभियोग लाग्दैछ भनेर बार्गेनिङ गरेको भन्दै प्रचण्डले यो अरोप झुटो भएको दावी गरे । “यो गलत कुरा हो। वाइयात कुरा हो। मैले राष्ट्रपतिलाई महाभियोग लगाउने भनेको छैन भनेर भेटेरै भनेको हो। यस विषयमा कुनै बैठकमा छलफल नै भएको थिएन। चर्चापनि भएको छैन, तर केपी ओलीले त्यही महाअभियोगको डर देखाएर राष्ट्रपतिलाई अफ्ठेरोमा पारिरहेका छन्” उनले भने।

प्रचण्डले ओली अरुलाई अफ्ठेरोमा पारेर निर्णय गराउने र बाध्य बनाएर लाभ लिने चरित्रका व्यक्ति भएको पनि बताए । अन्तर्वार्ताको क्रममा तत्काल पार्टी मिल्ने सम्भावना नरहेको अध्यक्ष प्रचण्डले बताए। “केपी ओलीसँग पार्टी मिल्ने तत्काल सम्भावना छैन। बामदेव विचरा मिलाउँछु भनेर लागेका छन्, तर सम्भव छैन। पार्टी मिल्ने ठाउँ छैन। दुई धार भइसक्यौ। मिलाउने प्रयास खेर जान्छ,” उनले भने।

देउवाको मन दुखेको छ तर फागुनपछि संयुक्त आन्दोलन

प्रचण्डले आफूले संयुक्त आन्दोलनका लागि कांग्रेस सभापति शेर बहादुर देउवालाई मनाउने दाबी गरेका छन् । “कांग्रेससँगको चुनावी सहकार्य तोडेकोमा सभापति देउवाजीको मन दुखाइ छ। तर मैले मेरो बाध्यता भनेको छु। उहाँले बुझ्नु भएको छ भन्ने लाग्छ। कांग्रेसका भोटरले कम्युनिष्टलाई र कम्युनिष्टका भोटरले कांग्रेसलाई भोट हाल्न अप्ठयारो मानेको निष्कर्षपछि कांग्रेससँगको सहमति छोडेर एमालेसँग तालमेल गरेको हो,” उनले भने।

“फागुनपछि नेकपा प्रचण्ड समूह, कांग्रेस र जसपा मिलेर संयुक्त आन्दोलनमा जाने सम्भावना छ। छलफल भइरहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल हुँदैछ र संयुक्त आन्दोलन गर्ने ‘अन्डरस्टेन्डिङ’ छ । एजेण्डा मिलेपछि सहमति हुन्छ,” प्रचण्डले भने।

यो पनि हेर्नुस्- सूर्य थापाले ओली समूहको आमसभा स्थगन गरिएको सूचना दिएपछि…

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्