ओलीको आमसभा, १६ स्थानबाट जुलुस, यस्तो छ ‘टी’ आकारको सभास्थल खोज्नुको रहस्य – Janadesh Daily | ePaper

ओलीको आमसभा, १६ स्थानबाट जुलुस, यस्तो छ ‘टी’ आकारको सभास्थल खोज्नुको रहस्य


जनादेश अपडेट ।

नेकपा ओली समूहले आज काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ । आमसभा अघि काठमाडौंका १६ स्थानबाट जुलुस निकाल्ने तयारी भइरहेको ओली समूहले जनाएको छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बागबजार, प्रदर्शनीमार्ग, महेन्द्र शालिक, घण्टाघर, सुन्धारा, त्रिपुरेस्वर, गौशाला, मातीघर मण्डला, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे, टेकू, वसन्तपुर, ज्ञानेश्वर तथा पुरानो बानेस्वरलगायतका स्थानबाट जुलुस निस्कने छ ।

२३ माघमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न कार्यक्रममा उपत्यकाका विभिन्न स्थान, बनेपा, धादिङ र मकनवापुरगायतका जिल्लाबाट र्‍याली, जुलुस गर्ने तयारी भइरहेका ओली समूहका नेता महेश बस्नेतले बताएका छन् ।

जुलुसपछि नारायणहिटीअगाडि सभा हुनेछ । सभामा प्रधानमन्त्री ओलीसहितका नेताहरुले सम्बोधन गर्ने छन् । ९ माघमा राजधानीमा प्रचण्ड-नेपाल समूहले शक्ति प्रदर्शन गरेपछि प्रधानमन्त्री ओलीले नयाँ बानेश्वरस्थित कार्की पार्टी प्यालेसबाट २३ माघमा प्रचण्ड-नेपाललाई वास्तविक जनसभा देखाइदिने घोषणा गरेका थिए ।

ओलीले कार्यक्रमको मिति तय गरे पनि कार्यक्रमस्थल तोकेका थिएनन् । तर, अघिल्लो साता पशुपतिनाथ मन्दिरमा पूजा गरेर फर्किएपछि ओली समूहले नारायणहिटी दरबारअघि कार्यक्रम गर्ने घोषण गरेको थियो ।

टी’ आकारकै सभास्थल खोज्नुको रहस्य 

ओली गुटको रोजाई हजारौंको भीड भइरहने व्यापारिक क्षेत्र दरबारमार्ग परेको छ । सभालाई लक्षित गरी नारायणहिटीअगाडिका सडकमा भएका डिभाइडर हटाइएको छ । मञ्चलाई भव्य बनाउन ओलीनिकट नेता तथा कार्यकर्ताहरु बिहीबार साँझ दरबारमार्गमा खटिएका थिए ।

नेपालमा रहेका अन्तर्राष्ट्रिय ब्रान्डका शोरुमहरुको मुख्य केन्द्र मानिने यही ‘किंग्स वे’ मा विभिन्न जिल्लाबाट ल्याइएका हजारौं सहभागीलाई राखेर ओलीले भाषण गर्नेछन्।

पुस ५ गते हठात‍् प्रतिनिधि सभा विघटन गरेका ओलीले त्यसयता दैनिकजसो आयोजना गरिने सभा तथा कार्यक्रमहरुमा आफूले सो कदम चाल्नुका कारण व्याख्या गर्ने गरेका छन् । तर शुक्रबारको सभामार्फत् उनले नयाँ घोषणा गर्ने प्रचार ओली पक्षले नै गर्दै आएको छ।

‘टी’ आकारमा बनाइने सभास्थलमा झण्डै एकलाख सहभागी अट्ने क्षमता रहेको मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठको दाबी छ । ‘एक लाख बढी सहभागी हुन्छन् भन्ने हाम्रो अनुमान हो,’ दरबारमार्गमै भेटिएका उनले भने।

सभामा उपस्थित हुनेलाई मञ्चको देब्रेपट्टि नागपोखरी खण्ड, दाहिनेपट्टी ठमेलतर्फको खण्ड र नारायणहिटीको दक्षिणतर्फ त्रिचन्द्र कलेजपट्टी ‘टी’ आकारमा राख्ने व्यवस्था मिलाइएको उनले बताए ।

नारायणहिटी दरबार अगाडिको ठाउँलाई कार्यक्रमस्थलको रुपमा रोज्नुको कारण र अर्थबारे अनेक चर्चा भइरहेका छन्। ओलीले किन रोजे त दरबारमार्ग? विनोद श्रेष्ठका अनुसार नारायणहिटी दरबारअगाडि कार्यक्रम राख्नेबारे सो स्थानको क्षमता हेरेर प्रधानमन्त्रीलाई पछि मात्र रिपोर्टिङ गरिएको हो ।

सभामा भाषण सुन्न र प्रधानमन्त्रीलगायत मञ्चमा रहेका नेताहरुलाई हेर्न सहज होस् भनेर पाँच ठाउँमा डिजिटल स्क्रिनको व्यवस्था मिलाइएको छ ।

यो पनि हेर्नुस्-

 दिल्ली र दक्षिणपन्थीको उक्साहटमा संसद विघटन गरिएको भन्दै प्रचण्डको संकेतः राजनीति ग्रिपबाट बाहिर

सूर्य थापाले ओली समूहको आमसभा स्थगन गरिएको सूचना दिएपछि…

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्