टुँडीखेलमा आमने-सामनेः ओलीले हेप्न खोजेपछि उपराष्ट्रपतिको पनि कडा जवाफ – Janadesh Daily | ePaper

टुँडीखेलमा आमने-सामनेः ओलीले हेप्न खोजेपछि उपराष्ट्रपतिको पनि कडा जवाफ


जनादेश मिडिया वाच ।

टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि गण र सुरक्षाकर्मी उभिएर राष्ट्रपति भण्डारीको बिदाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बिदाइका लागि पर्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पुनको अगाडि उभिएर केही भनिरहेका प्रधानमन्त्री ओलीको हाउभाउ अस्वाभाविकजस्तो देखिन्छ ।

यो दृश्यका विषयमा चासो राख्दा स्रोतले भन्यो, ‘संसद् विघटनको विरोधमा उपराष्ट्रपतिले सार्वजनिक अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग अभद्र व्यवहार नै गर्नुभयो । तपाईँले संसद् विघटनको किन विरोध गरेको ? आखिर के गर्न खोज्नुभएको हो भन्दै उपराष्ट्रपति पुनसँग आक्रोश व्यक्त गर्नुभयो ।’ जवाफमा उपराष्ट्रपति पुनले ‘तपाईंले असंवैधानिक कदम र गतिविधि गर्ने, मैले संविधान र जनताको अधिकारको कुरा गर्न किन नहुने ?’ प्रतिप्रश्न गरेका थिए ।

प्रधानमन्त्रीले बोल्दै गर्दा उपराष्ट्रपति पुनको ‘बडी ल्यांग्वेज’ नै असहज भएको थियो । पछाडिको सिटमा उभिरहेका सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना केही असहज मानेजस्तो गर्छन् । तिमिल्सिनाले सापकोटाको अनुहारमा हेर्दा सापकोटा भने पुन र ओलीको वार्तालापमा ध्यान केन्द्रित गरिरहेका थिए । करिब दुई मिनेटजति यसरी गफिएपछि ओली आफ्नो सिटतर्फ बढ्छन् । पुनले केही भन्न खोजेपछि ओली अलिकति रोकिएर सुन्दै आफ्नो सिटमा पुग्छन् ।

करिब दुई मिनेटको यो असहज वार्तापछि उपराष्ट्रपति पुन सबैलाई नमस्कार गर्दै बाहिरिन्छन् । उपराष्ट्रपतिले सबैलाई हात जोडेर नमस्कार गरे पनि प्रधानमन्त्रीले कुनै अभिभावदन फर्काउँदैनन् । बरु मञ्चबाट झरिरहेका पुनतर्फ एकोहोरो हेरिरहन्छन् ।

नयाँ पत्रिका दैनिकबाट साभार

 

यो पनि हेर्नुस्- 

ओलीलाई बाबुरामको प्रश्नः सेटिङ कसले गर्छ? यस्ता व्यक्ति प्रधानमन्त्री रहन मिल्छ ?

प्रधानमन्त्री अत्तालिएको संकेत, विघटन बदर हुने देखेपछि भने- सदर नभए आन्दोलन हुन्छ

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्