निर्मला बलात्कार तथा हत्या काण्ड : मुद्दा नै दर्ता छैन – Janadesh Daily | ePaper

निर्मला बलात्कार तथा हत्या काण्ड : मुद्दा नै दर्ता छैन


जनादेश, काठमाडौं।

आजभन्दा दुई वर्षअघि कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको कुनै पनि मुद्दा दर्ता गरिएको छैन । केवल प्रमाण नष्ट गरेको आरोपमा तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टसहित ८ जना प्रहरीबिरुद्ध उजुरी दर्ता भएको थियो । त्यो मुद्दाबाट अहिले सबै ८ जना आरोपीहरुले सफाइ पाइसकेका छन् ।

सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरका नाममा दर्ता भएको उक्त मुद्दामाथि जिल्ला अदालत कञ्चनपुरले फैसला गरी आरोपीहरलाई सफाइ दिएको हो । जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्दामा प्रहरी अधिकारीलाई सफाइ दिएको थियो ।

मुद्दा लागेपछि निलम्बित गरिएका प्रहरी अधिकारीलाई जिल्ला अदालतको सफाइसँगै आफ्नो जिम्मेवारीमा फर्कने बाटो खुलेको छ । सफाय पाएका मध्ये एसपी बिष्ट र इन्सपेक्टर जगदीश भट्ट भने भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएकाले उनीहरुको पुनर्वहालीको मौका छैन ।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी बिष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकिन्द्र खड्का, जगदीश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदलाई प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

यति धेरै हल्लाखल्ला र राजनीतिकरणसमेत गरिएको निर्मला बलात्कार तथा हत्या काण्डको जग कति कमजोर पारिएको रहेछ भन्ने कुरा अहिले आएर खुलेको छ । यद्यपि सरकारका तर्फबाट उक्त घटनाबारे निरन्तर अनुसन्धान भैरहेको बताइएको छ ।

वर्तमान आईजीपी शैलेन्द्र थापाक्षेत्रीले अब यस घटनाको बारेमा सुरुदेखि अनुसन्धान थालेर टुंगोमा पुर्याउने आश्वासन दिएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्