कांग्रेसको चौधौं महाधिवेशन उद्घाटनको दिनः के छन् २ सय मान्छे अटाउने मञ्चका विशेषता – Janadesh Daily | ePaper

कांग्रेसको चौधौं महाधिवेशन उद्घाटनको दिनः के छन् २ सय मान्छे अटाउने मञ्चका विशेषता


जनादेश वाच ।

सत्तारूढ दल नेपाली कांग्रेसले नयाँ नेतृत्व चयनका लागि आज (शुक्रबार) १४औं महाधिवेशन सुरु गर्दै छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने महाधिवेशन दिउँसो १ बजे उद्घाटन गरिने कांग्रेसले जनाएको छ। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशनमा सहभागी हुन बिहीबार बेलुकासम्म देशभरबाट झन्डै ४४ सय प्रतिनिधि काठमाडौं आइसकेका छन्। साथै उद्घाटन समारोहमा सहभागिताका लागि देशभरिबाट कांग्रेसका नेता/कार्यकर्ता पनि काठमाडौं आइरहेका छन्।

कांग्रेसको नेतृत्वमा पुग्न यतिबेला उम्मेदवारहरूले महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न पनि सुरु गरिसकेका छन्। आज उद्घाटन गरिने कांग्रेसको महाधिवेशन भोलि शनिबारदेखि नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नेछ। महाधिवेशन सुरुवातका लागि सबै तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।

कस्तो छ मञ्च व्यवस्थापन
महाधिवेशन उद्घाटनका लागि सो स्थानमा करिब २ सय जना बस्न मिल्ने मञ्च तयार गरिएकाे छ । याे मञ्च ८० फिट लम्बाइ र ४० फिट चौडाइको छ । बन्दसत्र हुने प्रदर्शनी कक्ष पनि आकर्षकरूपमा सजाइएको छ । भृकुटीमण्डप छिर्ने गेटदेखि नै पार्टी सभापति, महामन्त्री, केन्द्रीय सदस्यलगायत विभिन्न पदका आकाङ्क्षी उम्मेदवारका तुल, ब्यानर टाँगिएका छन् । राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लब समेत चारतारे झण्डा र प्रचार सामग्री देख्न सकिन्छ ।

चार दिनसम्म करिब पाँच हजार कांग्रेसका महाधिवेशन प्रतिनिधिले यो स्थानमा छलफल र बहस गरी नयाँ नेतृत्व चुन्नेछन् । सोही स्थानभित्र विभिन्न पदाधिकारी र सदस्यका अकाङ्क्षीले सम्पर्क कार्यालय खोलेर प्रतिनिधिलाई आकर्षण गरिरहेका छन् । महाधिवेशनमा २०० जनालाई एकैसाथ मतदान गर्ने व्यवस्था गर्न लागिएको छ । राष्ट्रियसभागृहमा मतदान गर्न २०० बुथ राख्न लागेको कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए ।

महाधिवेशनमा सहभागी हुने चार हजार ५०० भन्दा बढी प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने छ । एक जनालाई मतदान गर्न कम्तीमा पनि एक घण्टाभन्दा बढी लाग्ने पुडासैनीले बताए । २४ मंसिरमा महाधिवेशन उद्घाटन हुने र २७ गते मतदान हुने कार्यतालिका छ ।

इन्टरनेटका लागि मञ्च स्थलमै टावर, ८६ होटेलमा बुकिङ
इन्टरनेटको सहजताका लागि महाधिवेशनस्थलमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । मिडिया सेन्टर, सहायताकक्ष तथा विभिन्न होल्डिङ सेन्टरसमेत बनाइएको छ । महाधिवेशन प्रतिनिधि बस्नका लागि राजधानीका ठमेल, सुन्धारा र गौशलामा गरी तीन ठाउँमा होटल बुकिङ गरिएको छ ।

त्यहाँ हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुकिङ गरिएको आवास तथा भोजन समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । चार हजार ३०० महाधिवेशन प्रतिनिधि बस्न मिल्ने गरी होटल बुकिङ गरिएको उनले बताए । समितिले महाधिवेशनमा सहभागी हुने आठ हजार व्यक्तिका लागि खानाको व्यवस्था गर्ने छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड र बसुन्धराको दियालो फुडल्याण्डमा भोजनको व्यवस्था गरिएको पाण्डेले जानकारी दिए । याे सुविधा आजदेखि २७ गते बेलुकासम्मका लागि हो ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्