सशस्त्र द्धन्द्धका घाइते अपाङगहरुको गृहमन्त्री र मुख्यमन्त्रीलाई छुट्टा छुट्टै ज्ञापनपत्र – Janadesh Daily | ePaper

सशस्त्र द्धन्द्धका घाइते अपाङगहरुको गृहमन्त्री र मुख्यमन्त्रीलाई छुट्टा छुट्टै ज्ञापनपत्र


चन्द्रप्रकाश नेपाली,

घोराही । दश वर्षे सशस्त्र द्धन्द्धका क्रममा घाइते भएकाहरुले आफूहरुको जीवन निर्वाहको व्यवस्था गर्न माग गर्दै गृहमन्त्री र मुख्यमन्त्रीलाई छुट्टा छुट्टै ज्ञापनपत्र बुझाएका छन । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल मार्फत गृहमन्त्री रामबहादुर थापा र पाँच नं प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र पछि घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी घाइते अपाङगहरुले जीवन निर्वाहमा समस्या भएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको जनक्रान्तिका घाइते तथा अपाङग यौद्धा संगठन जिल्ला समिति दाङका संयोजक खगेश्वर घर्तीले जानकारी दिनुभयो ।

सशस्त्र द्धन्द्धका क्रममा विभिन्न स्थानमा घाइते भएकामध्ये ७ सय ५० जना घाइते अपाङगहरु दाङमा बस्दै आएको उल्लेख गर्दै घर्तीले ती मध्ये हालसम्म २२ जनालेमात्रै जीवन निर्वाह भत्ता पाउने गरेको जानकारी दिनुभयो ।

सरकारले २२ जनामध्ये विशिष्ट श्रेणीका घाइते अपाङगहरुलाई मासिक १२ हजार र प्रथम श्रेणीका घाइते अपाङगहरुलाई ६ हजार २ सय दिदै आएको उल्लेख गर्दै हाल कार्यविधि परिमार्जन गर्ने भन्दै सरकारले त्यो सुविधा पनि कटौति गरेको घाइते अपाङगहरुले बताएका छन ।

टाउकोमा गोली, छर्रा बोकेर हिडिएको र कतिपय आधार शरिर नचल्ने अवस्थामा रहेको भन्दै अर्का घाइते अपाङग कुमारी नेपालीले २२ जनामात्र नभई अपाङगताको विशिष्टिकरण गरेर ७ सय ५० जनालाई सुविधा उपलव्ध गराउन माग गर्नुभयो ।
हिजो देशकै लागि लड्दा जीवन यता न उताको भएको सुनाउदै नेपालीले राज्यले घाइते अपाङगहरुको समस्या सुनुवाई गर्न माग गर्नुभयो ।

घाइते अपाङगहरुले द्धन्द्धका घाइते अपाङगहरुको विशिष्टीकरण गरेर सवैलाई निर्वाह भत्ताको व्यवस्था गर्नुपर्ने, उचित बास र स्वास्थ्य उपचार, रोजगारी र उनीहरुका सन्तानको शिक्षाको ग्यारेन्टी गर्न माग गरेका छन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्