वित्तीय क्षेत्र र व्यवसायीबीचको सम्बन्ध – Janadesh Daily | ePaper

वित्तीय क्षेत्र र व्यवसायीबीचको सम्बन्ध


अनुत्पादनमूलक क्षेत्रमा नै लगानी गर्न बैंकहरू बढी उत्साहित छन् । त्यसले गर्दा पनि बैंक र उद्यमीबीच सम्बन्ध प्रगाढ हुन सकेको छैन ।

  • रिसव गौतम

बैंकको विश्व इतिहास हर्ने हो भने उद्योग–व्यापार सुरुवात र फस्टावटसँगै बैंकिङ क्षेत्रको पनि फैलावट भएको हो । त्यसले पनि इंगित गर्छ कि उद्योगी–व्यवसायी र बैंकबीच कति पुरानो र कति प्रगाढ सम्बन्ध हुन्छ । तर, अहिले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरसका कारण सिर्जित समस्या, लकडाउन आदिले उत्पन्न समस्याका कारण बैंक–वित्तीय क्षेत्र र उद्योगीबीचको सम्बन्धमा तिक्तता छाइरहेको छ । केही हदसम्म आर्थिक २०७७-७८ का लागि केन्द्रीय बैंकको मौद्रिक नीतिमार्फत व्यवसायीहरूलाई राहत कार्यक्रम आएपछि थोरै मत्थर त भएको छ, तर नेपालमा वित्तीय क्षेत्र र व्यवसायीबीच प्रगाढ सम्बन्ध रहन सकेको छैन ।

उद्योगी र वित्तीय क्षेत्रबीचको तिक्तताले अर्थतन्त्रमा नकारात्मक असर गर्ने गर्छ । त्यसको एउटा सानो संकेत हाल बैंकहरूमा २ खर्बभन्दा बढी अधिक तरलताको अवस्थाले देखाउँछ । सरकार कोरोना संकट टार्न लकडाउन लगाइरहने र बैंकहरू ऋणको साँवा–ब्याज उठाउन सामदाम दण्डभेद अपनाउने कारण पनि व्यवसायीहरू नयाँ ऋण लिन त्रसित देखिएका छन् । खासगरी उद्योगीहरूले पुनर्कर्जा लिन पाउने, बैंकहरूले वित्तीय संकट व्यवस्थापन गर्न सक्ने अवस्थाको खाँचो अहिले छ । त्यसका लागि दुवै पक्षले आफ्ना सम्बन्धहरूको इतिहास, महत्वबोध खुट्याउन सक्नुपर्छ ।

खासगरी नेपालमा पनि औद्योगिक विकासको प्रारम्भसँगै बैंकिङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । वि.सं. १९९३ मा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । त्यसलगत्तै बि.सं. १९९४ मा नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकको स्थापना गरियो । यसरी हेर्दा नेपालमा पनि उद्योग–व्यवसायको विकास एवं विस्तार भएसँगै बैंकिङ क्षेत्रको पनि विकास भएको हो ।

उद्योग–व्यवसायको विकासबिना बैंकहरूको पनि विकास एवं फैलावट सम्भव छैन भन्ने तथ्य स्पष्ट छ । तर, नेपालमा ५० को दशकदेखि युवाहरूको विदेशगमन तीव्र रूपमा बढ्न थाल्यो । २०५२ सालबाट सुरु भएको तत्कालीन माओवादी जनयुद्धको भुङ्ग्रोमा भएका उद्योग कलकारखाना नासिए । २०५२ देखि माओवादी शान्ति सम्झौतामा आउँदासम्म नेपालमा कुनै नयाँ उद्योग खुल्न सकेनन् । बरु भएका उद्योग–व्यवसायहरू पनि बन्द भए । त्यसको असर बैंकहरूमा प-यो । रोजगारीको क्षेत्रमा प-यो । समग्र अर्थतन्त्रमा प-यो ।

बरु २०५० को दशकबाट बिदेसिन सुरु गरेका युवाहरूले पठाएको रेमिट्यान्सको भरमा नेपालको अर्थतन्त्र थेगियो । बैंकहरू थेगिए । अझै पनि रेमिट्यान्समै मूलत नेपालको अर्थतन्त्र र बैंक निर्भर रहेको अवस्था छ । अर्थतन्त्रमा रेमिट्यान्सको योगदान ३१ प्रतिशत पुगिसकेको छ । उद्योग–व्यवसायले अर्थतन्त्रमा उल्लेखनीय योगदान राख्न सकेका छैनन् ।

तर पनि बैंक टिक्ने आधार र अर्थतन्त्र अघि बढ्ने आधार भनेका औद्योगिक विकास नै हो । रेमिट्यान्सको क्षेत्र भनेको दिगो होइन । अहिले त ६० लाख हाराहारी नेपाली युवायुवतीहरू मजदुरी गर्न बिदेसिएको अनौपचारिक तथ्याङ्क छ । समग्र अर्थतन्त्रमा उद्योग–व्यवसायको योगदान ७–८ प्रतिशतभन्दा माथि उठ्न सकेको छैन । मुलुक पूरै मजदुर उत्पादन गर्ने देशजस्तो मात्र भएको देखिन्छ ।

सीप, श्रम, साधनस्रोत र पुँजीको परिचालनबाट औद्योगिक विकास हुन सकेको छैन । त्यस हिसाबले पनि बैंकहरूले औद्योगिक क्षेत्रमा, कृषि उत्पादन र उद्योगहरूमा लगानी गर्न हिचकिचाइरहेका देखिन्छन् । तर, उद्योगी वा व्यवसायी भनेका कुनै पनि बैंकहरूका लागि पँुजी निर्माणका साधन हुन् । एउटा उद्योगीले कुनै बैंकमा आफ्नो मात्रै खाता खोलेको हुँदैन । कर्मचारी कामदारहरूको पनि खोलाएको हुन्छ । उसले समाजमा सानो वा ठूलो स्केलमा रोजगारी दिएको हुन्छ । आयात तथा निर्यात व्यापारको माध्यमबाट राज्यको आर्थिक गतिविधिलाई चलायमान बनाएको हुन्छ । त्यसकारण बैंकको उद्योगी–व्यवसायीसँगको सम्बन्ध बढी महत्वपूर्ण हुन्छ र हुनुपर्छ ।

वास्तवमा व्यक्ति वा संस्था बैंकका ग्राहक हुन् । ग्राहकसँग बैंकको वा बैंकसँग ग्राहकको अधिक विश्वासमा आधारित सम्बन्ध हुने गर्छ । बैंक र ग्राहकबीच अनेकन् आयामका सम्बन्धहरू हुन्छन् । त्यस्तो सम्बन्ध खासगरीकन कारोबारका आधारमा बढी वा कम हुने गर्छ । व्यक्तिगत ग्राहकसँग जनेरेसनको आधार पनि सम्बन्ध हुन्छ । जस्तो नेपालको सबैभन्दा पुरानो नेपाल बैंकमा जति मात्रामा बूढा–पुराना मान्छेहरूको खाता हुन्छ, त्यति मात्रामा नयाँ आएका बैंकहरूमा हुँदैनन् । त्यस कारण ग्राहक र बैंकबीच अनेकन् आयामका सम्बन्धहरू हुन्छन् । कारोबारको प्रकारका आधारमा बैंकसँगको कस्तो सम्बन्ध हुने निर्धारण हुन्छ ।

विगतमा खालि साहू र आसामी मात्रैको सम्बन्ध बैंक र ग्राहकबीच हुन्थ्यो । त्यो विचारधारा बिस्तारै परिवर्तन भएर आएको छ । बैंकको समाजप्रति, ग्राहकप्रति, सरकारप्रति, उद्योग–कलकारखानाको विकासप्रतिको उत्तिकै दायित्व हुन्छ, जुन बढेर गएको छ । नेपालमा त खासगरी उद्योग–व्यवसायको क्षेत्र कमजोर भएको र त्यो क्षेत्रको कारोबारको आकार बढन नसकेका कारण पनि बैंकहरूले त्यो क्षेत्रलाई विश्वास गर्न सकिरहेका छैनन् । तर, अब नेपालमा बैंकहरूले जसरी आफ्नो विकास र फैलावटलाई विस्तारित गर्दै लगेका छन्, त्यही हिसाबमा उत्पादनमूलक उद्योग र व्यवसायको क्षेत्रमा लगानी विस्तार गर्नुको विकल्प छैन ।

Source: https://www.karobardaily.com/news/idea/34931

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्