द कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गुराँस’ – Janadesh Daily | ePaper

द कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गुराँस’


नेपाली चलचित्र ‘गुराँस’ युरोपको प्रतिष्ठित महोत्सव ‘दी कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा पहिलोपटक प्रदर्शन हुने भएको छ । महोत्सव चेक रिपब्लिकमा जुलाई ५ मा हुनेछ ।
सो अवसरमा चलचित्रकी अभिनेत्री मेनुका प्रधान र निर्देशक सौरभ राई महोत्सवमा सहभागी हुनुहुनेछ । रङ्गमञ्चमार्फत कलाकारितामा उदाएर चलचित्रमा छुट्टै पहिचान स्थापित गर्नुभएकी अभिनेत्री प्रधान महोत्सवमा सहभागी हुन पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिनुभयो ।
“महोत्सवमा पुगेर धेरैभन्दा धेरै चलचित्र हेर्ने मन छ”, उहाँले भन्नुभयो, “गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्छु ।” चलचित्र गुँरासमा उहाँले आमाको भूमिका निर्वाह गर्नुभएको छ । “चलचित्रमा आमाको भूमिका रोचक भएकाले गरेकी हुँ, एक महिना दार्जिलिङमा छायाङ्कन हुँदा पनि एकदमै रमाइलो भएको थियो”, उहाँले भन्नुभयो ।
नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ । दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखक निर्देशक राई नै गर्नुभएको छ । चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गर्नुभएको छ भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा हुनुहुन्छ ।
लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गर्नुभएको चलचित्रको छायाङ्कन सुबल केआरले गर्नुभएको छ भने निर्देशक राईसँगै अङ्किता पुरकायस्थले सम्पादन गर्नुभएको छ ।
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्