मलाई कथाले आकर्षित गर्छ: अभिनेत्री कोइराला – Janadesh Daily | ePaper

मलाई कथाले आकर्षित गर्छ: अभिनेत्री कोइराला


अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिनुभएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त हुनुहुन्छ । उहाँले हालै सम्पन्न एक छलफलमा नेपाली चलचित्रको विषयवस्तुले आकर्षण गरेमा अभिनय गर्ने बताउनुभयो ।
“नेपाली चलचित्रमा काम गर्ने इच्छा नभएको होइन । तर समय र परिस्थिति मिलेको छैन । राम्रो कथाले मलाई पक्कै आकर्षित गर्छ”, अभिनेत्री कोइरालाले भन्नुभयो । उहाँले चलचित्रको कथा माटो सुहाउँदो हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय नेपाली चलचित्र र शृङ्खला जोडिन चाहिरहेको ओभर दी टप ९ओटिटी० मा स्थानीय कथा नै खोजिने उहाँले बताउनुभयो ।
“मैले ओटिटीमासमेत काम गरेकी छु । त्यो माध्यमले विश्वभरका दर्शकलाई सुविधा दिन्छ । ओटिटीका सञ्चालक जुन देशको कथा हो, त्यहाँको माटोसँग जोडिनुपर्छ भन्छन्”, अभिनेत्री कोइरालाले भन्नुभयो, “अन्तर्राष्ट्रियस्तरमा यदि नेपालको कथा भनेको हो भने यहाँकोे संस्कृति कस्तो छ, जीवन कस्तो छ भनेर हेर्न चाहन्छन् दर्शक । त्यसैले देशको माटो सुहाउँदो चलचित्र बनाउन जरुरी छ ।”
उहाँले आफूले अभिनयको सुरुआत गरेको समय नब्बेको दशकमा अवास्तविक प्रस्तुति रुचाइने भए पनि अहिले वास्तविकता चित्रण गर्ने अभ्यास बढेको र दर्शकले रुचाइरहनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रस्तुतीकरण जति वास्तविक भयो, दर्शकले त्यति मन पराउँछन् । अभिनय जति धेरै वास्तविक हुनसक्यो त्यति राम्रो मानिन थालेका छन् । अहिले अभिनय गर्दा आँखामा आँशु जरुरी छैन, आँखामा पीडा देखिनुप¥यो ।”
कथा शैलीमा आएको बदलावलाई ओटिटीले बढावा दिएको कोइरालाको बुझाइ थियो । “विशेषत कलात्मक चलचित्रले व्यावसायिकरुपमा चलचित्र भवनमा बलियो उपस्थिति जनाउन नसक्दा ओटिटीले प्रोत्साहन गर्नुका साथै लगानी सुरक्षित गरिदिएको छ”, उहाँले भन्नुभयो, “यसको फलस्वरुप आफूलाई स्थापित गर्नेलाई हौसला मिलेको छ ।”
"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्