एजेन्सी ।
ट्रम्प प्रशासनसँग निकै सुमधुर सम्बन्ध रहेको साउदी अरेबियाले पनि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनलाई बधाई तथा शुभकामना दिएको छ ।
साउदीका राजा सलमान बिन अब्दुलाजीज अल सउद र उनका छोरा क्राउन प्रिन्स मोहम्मद बिन सलमानले चुनावमा जित हाँसिल गरेकोमा जो बाइडेन र कमला ह्यारिसलाई बधाई दिएका हुन् ।
डोनाल्ड ट्रम्पसँग साउदी अरेबियाको सम्बन्ध राम्रो रहँदै आएको थियो । ट्रम्प र क्राउन प्रिन्स मोहम्मद बिन सलमान नजिक मानिन्छन् । ट्रम्प राष्ट्रपति बनेपछिको पहिलो विदेश भ्रमणका लागि साउदी अरेबिया गएका थिए । उनको साउदी अरेबियामा विशेष स्वागत भएको थियो ।
ट्रम्पले नतिजा स्वीकार नगरिरहेको समयमा साउदीले भने बाइडेनलाई बधाई दिएको हो ।
ट्रम्पमाथि साउदी अरेबियालाई पत्रकार जमाल खाशोग्जीको हत्याको मामिलामा ‘ढाकछोप’ का लागि सहयोग गरेको आरोप छ ।
पत्रकार हत्यालाई लिएर विश्वभरका नेताले साउदी अरेबियाको आलोचना गरेका थिए । बाइडेन पनि आलोचना गर्नेहरुमा पर्छन् ।
यो पनि हेर्नुस्- पूर्वराष्ट्रपति बुसले भने- चुनावमा धाँधली भएको छैन, ट्रम्पमाथि परिवारकै पनि दबाब