एजेन्सी ।
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले ह्वाइट हाउस प्रवेशको तयारी आक्रामकरुपमा अघि बढाएका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रणको प्रयासका लागि राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले आफ्नो टास्क फोर्स घोषणा गरेका छन् र विज्ञानलाई मान्ने बताएका छन् ।
बाइडेनले अन्तरिम अवधिका लागि काम सुरु गरे पनि चुनावको नतिजा स्वीकार गर्न नमानेका ट्रम्पले अदालतमा विभिन्न मुद्दा दायर गरेका छन् ।
उनले चुनावमा धाँधली भएको आरोप लगाए पनि अहिलेसम्म ठोस प्रमाण भने भेटिएको छैन । केही राज्यमा अझै पनि मतगणना भइरहँदा बाइडेन देशव्यापी रुपमा ट्रम्प भन्दा ४५ लाख भन्दा बढि मतले अघि रहेका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित जो बाइडेन र कमला ह्यारिसले अन्तरिम कालका लागि वेबसाइट पनि तयार पारेका छन् । अन्तरिम कालका लागि जनरल सर्भिस एड्मिनिस्ट्रेसन नामक संघीय एजेन्सीको सहयोग चाहिन्छ । तर ट्रम्पले नियुक्त गरेका सो एजेन्सीका प्रमुखले सहकार्यको सुरुवात कसरी हुने छ भन्ने अहिलेसम्म कुनै जानकारी गराएका छैनन् ।
बाइडेनले तीन सह–अध्यक्ष तथा १० सदस्यसहितको कोरोना भाइरस टास्क फोर्स घोषणा गरेका छन् ।
कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म एक करोड ३६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट अमेरिकामा दुई लाख ३८ हजार भन्दा बढिको ज्यान गएको छ ।
आदेश होइन प्रार्थना गर्छु- मास्क लगाउनुस्
अति तीव्र गतिमा फैलिरहेको कोरोना भाइरस महामारी नियन्त्रणको सबैभन्दा प्रभावकारी माध्यम रहेको भन्दै सबै अमेरिकीलाई मास्कको प्रयोग गर्न बाइडेनले आग्रह गरेका हुन् ।
अन्तरिम कालका लागि कोरोना भाइरस महामारी नियन्त्रणको प्रयास सम्बन्धमा आफ्नो योजना सार्वजनिक गर्दै बाइडेनले सोमबार टेलिभिजन सम्बोधन मार्फत भनेका छन्, ‘म तपाईँहरुसँग प्रार्थना गर्छु, मास्क लगाउनु होस् । यो नै एक मात्र सबैभन्दा प्रभावकारी काम हो कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने ।’
उनले भने, ‘मास्क राजनीतिक अभिव्यक्ति होइन, यो त देशलाई एकताको सुत्रमा बाँध्ने माध्यम हो ।’
चुनावी अभियानका क्रममा पनि उनले लगातार मास्क लगाउन आग्रह गर्दै आएका थिए र निर्वाचित राष्ट्रपतिका रुपमा उनले सबै अमेरिकीलाई मास्क लगाउन अपिल गरेका हुन् ।
नोभेम्बर ३ मा भएको चुनावमा पराजित भए पनि हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने मास्कलाई लिएर सदैव आशंका व्यक्त गर्दै आएका छन् । उनले मास्क लगाउन सार्वजनिक रुपमा अपिल गरेका थिएनन् र छैनन् ।
बाइडेनले अमेरिकाले ‘सारै अँध्यारो (भयावह) जाडो याम’ को सामना गरेको र महामारीको अझै खराब लहर आउन बाँकी रहेको भन्दै अमेरिकीलाई सचेत गराएका हुन् । उनले कोभिड–१९ सँग जुध्नका लागि अमेरिकीले राजनीतिलाई पाखा लगाउनु पर्ने बताएका छन् ।
यो पनि हेर्नुस्- चीन, रुस र उत्तर कोरियासँग कस्तो होला बाइडेनको व्यवहार
जो बाइडेनले थाले ह्वाइट हाउसको तयारी, ट्रम्पका केही निर्णय तत्काल उल्ट्याउने