जनादेश टिप्पणी ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल उनको तिखो टीका टिप्पणीले सधैं विवाद र चर्चामा रहने व्यक्ति हुन् । ओली सचिवालयका सबैजसो सदस्य तिखो टिप्पणीका लागि चिनिने गरेपनि रिमालको चर्चा बढी हुने गर्छ ।
सञ्चारमाध्यमहरुले प्रधानमन्त्री र आफूहरुका विषयमा गलत समाचार प्रवाह गरेको भनेर नियमित गुनासो गरिरहने रिमालले केही दिन अघि फेसबुकमा अनलाइन सञ्चार माध्यमविरुद्ध कडा टिप्पणी सार्वजनिक गरे । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतसँग नेपालका समस्याबारे अध्यययन गरेर रिपोर्ट बुझाउन चीनबाट पैसा लिएको प्रमाणसहित समाचारहरु अनलाइन माध्यममा सार्वजनिक भएपछि उनले नाम नलिइकन अनलाइन सञ्चार माध्यममाथि धावा बोलेका थिए ।
पछि भट्टराईले चीनले दिएको पैसामा नेपाल-भारत सम्बन्धबारे ‘रिसर्च पेपर’ तयार गरेको भन्ने समाचारको खण्डन घुमाउरो शैलीमा गरेका थिए । भारत-नेपाल प्रबुद्ध समूह इपिजीको सदस्यका रुपमा कुनै पनि आचारसंहिता नियम उल्लघंन नगरेको दाबी उनले गरेका थिए ।
भट्टराईले सामाजिक सञ्जालमा आरोप झुट्टा र निराधार रहेको दाबी गरेपनि कुरा त्यही रोकिएन ।
‘ग्लोबल वाच एनलाइसिस’ले सन् २०१७ को अक्टोबरमा नेपालस्थित चिनियाँ दूतावासमा भट्टराईले पेश गरेको प्रोपोजलको प्रमाणसमेत प्रकाशित गरेपछि नेपालका सञ्चार माध्यममा त्यसबारे समाचार प्रकाशित भएको थियो । चीनविरुद्ध विश्वव्यापी प्रचारमा लागेको ठानिने यो संस्थाले चीनले नेपाल र नेपालका नेताहरुलाई कसरी आफ्नो नियन्त्रणमा लिइरहेको छ भन्ने विषयमा प्रकाशित गरेको एक लेखमा भट्टराईको सन्दर्भ उल्लेख थियो ।
अनलाइनहरुको सञ्चालन र लगानीमाथि संशय व्यक्त गरेका रिमालले यस्ता अनलाइनहरुलाई ‘पानी अनलाइन’को सज्ञा समेत दिएका छन् । रिमालले प्रधानमन्त्री र सचिवालयका सदस्यहरुविरुद्ध सधैं भ्रामक समाचार लेख्ने गरेको आरोप लगाएका रिमालले अनलाइन र यु-ट्युवको माध्यमबाट प्रधानमन्त्री र सचिवालयका सदस्यविरुद्ध कसरी प्रचारवाजी गरिन्छ भन्ने चरणवद्ध व्याख्या समेत गरेका थिए । यद्यपि उनको ट्वीटरमा सकारात्मक भन्दा बढी नकारात्मक प्रतिक्रिया बढी छन् ।
भट्टराईका विषयमा सबैभन्दा पहिले समाचार छाप्ने मध्येको एक देश सञ्चार अनलाइनका सम्पादक युवराज घिमिरेले भने रिमाललाई नेता र सञ्चारकर्मीको आचारसंहिता र नैतिकताबारे बहसमा आउन चुनौति दिएका छन् ।
युवराज घिमिरेको चुनौतिको भिडियो हेर्न यहाँ क्लिक गर्नुस्
१२ बुँदे सम्झौतादेखिका प्रशंग उठाएका घिमिरेले एक भिडियो सन्देशमा रिमाललाई नेताहरुको आचार र नैतिकताबारे बहस गर्न तयार रहेको तर त्यससँगै सञ्चारकर्मीको आचारसंहिता र नैतिकताबारे पनि छलफल गर्न खुल्ला रहनु पर्ने बताएका छन् ।
हरेक बहसमा खरो उत्रने र तीखो टिप्पणीका लागि चिनिएका रिमालले नेपालका चर्चित र अनुभवीमध्येका एक पत्रकार मानिने युवराज घिमिरेको चुनौति स्वीकार गर्छन् कि गर्दैनन् र गरेभने कस्तो प्रतिक्रिया जनाउँछन् भनेर मिडिया र बौद्धिक जगतले चासोका साथ हेरिरहेको छ ।
यो पनि पढ्नुस्
यसकारण जटिल छ बामदेव गौतमको सिंहदरबार यात्रा