बामदेव गौतमको सिंहदरबार आकाँक्षाः बुधबार बालुवाटार र खुमलटारमा के भयो ? – Janadesh Daily | ePaper

बामदेव गौतमको सिंहदरबार आकाँक्षाः बुधबार बालुवाटार र खुमलटारमा के भयो ?


जनादेश काठमाडौं ।

संसद हुँदै सरकारमा जाने नेकपा उपाध्यक्ष बामदेव गौतमको यस पटकको प्रयास पनि कुरामै सीमित हुने सम्भावना बढेको छ । राष्ट्रियसभामा नवीकरण नभएका कारण अर्थमन्त्री डाक्टर युवराज खतिवडाको पदावधि सकिन लागेको समयमा बामदेव गौतम राष्ट्रियसभा हुँदै सरकारमा जाने प्रयासमा छन् ।

उनले आफ्नो मनसाय पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डसँग खुलेर राखिसकेका छन् । पटक पटक पार्टीको आन्तरिक विवादमा शीर्ष नेताहरुबीचमा कहिले कता त कहिले कताको कित्तामा उँभिएर भूमिका खेल्दै आएका बामदेव पुरानो सहमति अनुसार राष्ट्रियसभामा जान पाउनु पर्ने अडानमा छन् ।

 

बुधबार बालुवाटारमा के भयो ?
बामदेवको राष्ट्रियसभामा जाने चाहाना पुनः मुखरित भएपछि धर्मसंकटमा परेका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बुधबार अर्का अध्यक्ष प्रचण्डसँग बालुवाटारमा कुरा गरेका थिए ।

अहिलेको अवस्थामा युवराज खतिवडालाई अर्थमन्त्रालयमा निरन्तरता दिनुको विकल्प नरहेको र त्यसका लागि उनलाई नै राष्ट्रियसभामा लैजानु पर्ने परिस्थितिबारे ओलीले दाहाललाई बताएका थिए । यद्यपि दुई अध्यक्षबीच के गर्ने भन्ने विषयमा एकमत हुन नसकेको श्रोतले बताएको छ ।

 

प्रचण्डपछि ओलीको बामदेवसँग साक्षात्कार

पछिल्लो पटक सचिवालयमै अल्पमतमा परेको समयमा आफूलाई साथ दिएका बामदेवलाई चिढ्याउन प्रधानमन्त्री ओलीलाई कठीन छ । बुधबार बालुवाटार बोलाएर ओलीले बामदेवलाई राष्ट्रियसभामा लैजान नसकिने तर प्रतिनिधिसभाको बाटो भएर ल्याउन सकिने तर त्यसका लागि प्रत्यक्ष चुनाव लड्न तयार हुनुपर्ने प्रस्ताव गरे ।

तर भेटमा गौतमले राष्ट्रियसभामा जान पाउनुपर्ने अडान कायमै राखेको श्रोतको भनाई छ ।

आफूलाई सधैं अलमलमा पारिएको र अन्याय गरिएको भन्दै बामदेव रिसाएपछि प्रधानमन्त्री ओली धर्मसंकटमा परेको बताइन्छ । ओली र गौतमबीच झण्डै एक घण्टा कुराकानी भएको भएपनि सहमति जुट्न सकेको थिएन ।

ओलीले बामदेवलाई संसदमा ल्याउने प्रस्ताव सचिवालयमा लैजाने र त्यसका लागि वातावरण बनाउने आश्वासन दिएका छन् । त्यसकै लागि बिहीबार ११ बजे सचिवालय बैठक समेत बोलाइएको उनले बताएका थिए ।

तर ओलीको प्रस्तावबाट सन्तुष्ट हुन नसकेका गौतमले बुधबारै दाहालसँग पनि भेट गरेका थिए ।

खुमालटार पुगेर गौतमले आफूलाई सहयोग गर्न आग्रह गरेको बताइएको छ । यद्यपि ओलीसँग भेटेका प्रचण्डले पनि गौतमलाई मुर्त जवाफ दिन नसकेपछि गौतम निराश भएको बताइएको छ ।

यो पनि पढ्नुस् – यसकारण जटिल छ बामदेवको सिंहदरबार यात्रा 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्