बालुवाटारको निशानामा नारायणकाजीः सूर्य थापाले फेसबुकबाट फेरि खोले फायर – Janadesh Daily | ePaper

बालुवाटारको निशानामा नारायणकाजीः सूर्य थापाले फेसबुकबाट फेरि खोले फायर


जनादेश, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठ विवादमा नपरेका र लागेको कुरा प्रष्ट बोल्ने नेता मानिन्छन् । सरकारका राम्रा कामको प्रशंसा र सम्भावित गलत निर्णयमा पूर्व सावधानी गराउने उनको पुरानै चलन हो ।

यही क्रममा सोमबार नारायणकाजीले सामाजिक सञ्जाल ट्वीटरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको पुनर्नियुक्ति होस् भन्ने सदिच्छा प्रकट गरेका थिए ।

सरकार कुलमानलाई निरन्तरता दिन अनिच्छुक देखिएको बुझेपछि मन्त्रिपरिषद् बैठक बस्नु अघि उनले गरेको ट्वीटलाई अधिकाँश सञ्चार माध्यमले हेडलाइन समाचार बनाएका थिए ।

तर मन्त्रिपरिषद् बैठक सकिएको केही समयपछि नेकपाका प्रचार विभाग प्रमुख नारायणकाजीलाई उनकै विभागका उपप्रमुख तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा समाजिक सञ्जालबाट केही टीका टिप्पणीसहित आलोचनामा उत्रिए । कुलमान घिसिङको पुनःनियुक्ति र स्वयंमसेवक परिचालनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकारसमेत रहेका थापा आफ्नै विभाग प्रमुखमाथि खनिएका हुन्।

पार्टी प्रवक्ताको जिम्मेवारीमा बसेर पदीय दायित्व ख्याल नगरेको थापाको दाबी छ । प्रवक्ता श्रेष्ठले आइतबार आफ्नो सचिवालयले कोरोना नियन्त्रणका सम्बन्धमा स्वयंसेवक परिचालन गर्ने भन्दै सामाजिक सञ्जाल ट्विटरबाटै घोषणा गरेका थिए। त्यसमा कुनै प्रतिक्रिया नदिएका सूर्य थापाले कुलमानबारेको टिप्पणीपछि भने फायर खोलेका थिए ।

थापाले ‘काम कुरो अर्कोतिर कुम्लो बोकी ठिमीतिर भन्ने’ उखान स्मरण गराउँदै घिसिङको पुनः नियुक्तिमा पार्टी प्रवक्ता नै खुलमखुल्ला लबिङमा लाग्नु ठीक नभएको जिकिर गरेका छन् ।
‘सरकारले गर्ने काममा सल्लाह र सुझाव दिने यो विधि र तरिका संस्थागत निर्णय सार्वजनिक गर्ने कर्तव्य निर्वाह हो कि पदीय जिम्मेवारी विपरित व्यक्तिगत दबाब र लबिङ?,’ फेसबुकमा थापाले प्रश्न गरेका छन् ।


कोरोना नियन्त्रणमा स्वयंसेवक दस्ताबारे नारायणकाजीको घोषणालाई सूर्य थापाले ‘कहिले मरिन् सासु? भनेर उडाएका छन् । श्रेष्ठले आइतबार आफ्नो सचिवालयमार्फत स्वयमसेवक दस्ता परिचालन गर्ने घोषणा गरेका थिए । कोरोना रोकथाम तथा नियन्त्रणमा स्वास्थ्य मन्त्रालय,सिसिएमसी र राज्यका अरु निकायले कामगरी रहेकाले स्वयंसेवक परिचालन कार्यभाविभाजनमा कतै नभएको थापाको जिकिर छ ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fsurya.thapa.754918%2Fposts%2F3338446309581183&width=500" width="500" height="642" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allow="encrypted-media"></iframe>

कुनै बेला झलनाथ खनालको टिममा रहेका थापा ओलीको गुणगान गाएर पद पाएका व्यक्ति मानिन्छन् । थापाले यसअघि आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को र अन्य नेताविरुद्ध पनि तीखो टिप्पणी गर्ने गरेका छन् ।

यस अघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार एवं नेकपा स्थायी समिति सदस्य विष्णु रिमालले नारायणकाजी श्रेष्ठको भूमिकाबारे प्रश्न उठाएका थिए । ओलीको गुटमा नलागेर इत्तर गुटसँगका छलफलमा सहभागी भएपछि रिमाल नारायणकाजीमाथि खनिएका थिए । यसबाट नारायणकाजी बालुवाटारको निशानामा रहेको प्रष्ट भएको छ ।

यो पनि हेर्नुस्- बाबुराम भट्टराईलाई सूर्यथापाको चुनौतिः प्रधानन्त्रीको अगाडि यस्तो बोल्न सक्नु हुन्छ ? 

मन्त्रिपरिषद् बैठकः होस् भनिएको निर्णय भएन, नभए हुने ठानिएको भएरै छाड्यो 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्