पहिरोले विस्थापितको बिजोग – Janadesh Daily | ePaper

पहिरोले विस्थापितको बिजोग


राजेन्द्र कार्की

जाजरकोट : पहिरोले विस्थापित दानबहादुर नेपाली आइतबार दिनभर हेलिकप्टरको प्रतीक्षामा रहे। बारेकोट गाउँपालिका–४ मैनाका नेपाली हेलिकप्टरले खानेकुरा बोकेर ल्याउने आसमा थिए। तर, खराब मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेपछि उनको पेट भर्ने धोको अधुरै रह्यो।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहित जिल्लाका सांसद राहत सामग्री लिएर आउने हल्ला शनिबारदेखि चलेको थियो। विस्थापितहरू राहत पाउने आसमा थिए। तर, खराब मौसमका कारण गोठगाउँ पुगिसकेको हेलिकप्टर त्यहाँ अवतरण हुन नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीस्थित मकै बारीमा बस्नु परेको थियो। खाद्यान्न र गैर—खाद्यसामग्री त्यही छोडेर विस्थापितसम्म नपुगी मन्त्रीसहितको टोली फर्किएको छ।

नेपालीको ६ जनाको परिवार पहिरोको त्रासले घर छाडेर स्थानीय एक विद्यालयमा बसिरहेको छ। तर, उनीसँग खाने अन्न छैन। ‘न ओढ्ने कपडा छ न त खाने गाँस नै’, उनले भने। अन्न र कपडा नहुँदा धेरै विस्थापित परिवारको बिचल्ली भएको छ।

बारेकोट–५ भैलोखानाका पृथ्वीबहादुर नेपालीका परिवारमा १० जना छन्। उनीहरूले तीन दिनदेखि स्थानीय कालिका आधारभूत विद्यालय सिनचौरमा आश्रय लिएका छन्। यही विद्यालयमा २ सयभन्दा बढी कोचाकोच गरेर बसेका छन्। खानेकुरा नहुँदा समस्यामा परेको उनले बताए।

दानबहादुर र पृथ्वीबहादुरजस्तै ५ सयभन्दा बढी विस्थापित परिवारको बिचल्ली भएको छ। उनीहरू गाँस, बास र कपासको समस्यामा परेका छन्। विस्थापित परिवार अधिकांश विपन्न छन्। गरिबीकै कारण भिरालो जमिनमा घर बनाएर बस्न बाध्य उनीहरू पहिरोले गर्दा ठूलो विपत्तिमा परेका छन्। उनीहरू थातथलो छाडेर अन्यत्र जान सक्ने अवस्था पनि छैन।

अत्यधिक वर्षात्ले जमिन पूरै थिलोथिलो भएको वीरेन्द्र ऐश्वर्य मावि लिम्साका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए। बर्सेनि यतिबेला खाद्य संकट पर्ने बारेकोटमा पहिरोले थप संकटको जोखिम बढाएको उनको भनाइ छ। बारेकोटमा स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न सक्ने अवस्था छैन।

पहिरोले गाउँ बगाउन थालेपछि बारेकोटमा ५ सयभन्दा बढी परिवारका २ हजार ५ सयभन्दा बढी विस्थापित भएका छन्। प्रहरीले संकलन गरेको तथ्यांकअनुसार तीन दिनयता बारेकोटमा ५ सय घर विस्थापित भएका छन्। त्यसमा २ हजार ५ सयभन्दा बढी व्यक्ति रहेका जिल्ला प्रहरी प्रमुख डीएसपी किशोर श्रेष्ठले बताए।

पहिरोको त्रासले गाउँपालिका अध्यक्ष महेन्द्र शाह, वडा नम्बर ५ का वडाध्यक्ष अजवीर सिंह र निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहका परिवार पनि विस्थापित भएका छन्। अध्यक्ष शाहले आफ्नो परिवार विस्थापित भएर विद्यालयमा बसिरहेको बताए। तापनि आफू बेपत्ताको खोजी र विस्थापितको राहत तथा व्यवस्थापनमा जुटिरहेको उनको भनाइ छ।

वडाध्यक्ष र निमित्त प्रशासकीय अधिकृत पनि गाउँपालिकाको काम, उद्धार र बेपत्ताको व्यवस्थापनमा जुटिरहेका छन्। पानी निरन्तर परिरहेकाले जमिन भासिने र पहिरो नरोकिँदा बारेकोटका जिरी, तल्लो जिरी, धौलाकोट, मैना, तोलखाना, कालाखोली, भैलोखाना, धुमालगायत गाउँ बग्ने खतरा बढेको गाउँपालिका अध्यक्ष शाहले बताए।

पहिरोको डरले घर छाडेका स्थानीय विद्यालय, आफन्त, गोठ र सार्वजनिक चउरमा त्रिपाल हालेर बसिरहेका छन्। ठूलो संख्यामा विस्थापित भएकाले व्यवस्थापनमा कठिनाइ भएको अध्यक्ष शाहको भनाइ छ।

वनमन्त्री बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसद सत्या पहाडी, भैरवसुन्दर श्रेष्ठ र मायाप्रसाद शर्मासहितको टोेली त्रिपाल र खाद्यान्नलगायत राहत सामग्री लिएर आइतबार दिउँसो हेलिकप्टरबाट बारेकोट पुगेको थियो। तर, खराब मौसमका कारण हेलिकप्टर बस्न र राहत सामग्री खसाल्न तय गरिएको स्थानमा बस्न नसकेर फर्किएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले बताए। गोठगाउँ, सिनाचौर, लिम्सा र जिरीमा हेलिकप्टर बस्ने भनिए पनि बस्न नसकेर लिम्सा खोला किनार र ठकुरी जिरीमा बसेर राहत सामग्री छोडेर गएको उनको भनाइ छ। त्यहाँबाट राहत सामग्री विस्थापितसम्म पुर्‍याउन पैदलै ५–६ घण्टा लाग्न सक्ने अवस्था छ।

स्रोतः आजको अन्नपूर्ण पोष्टबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्