पशुपति क्षेत्र विकास कोष पुनःसंरचनाको माग गर्दै आन्दोलन – Janadesh Daily | ePaper

पशुपति क्षेत्र विकास कोष पुनःसंरचनाको माग गर्दै आन्दोलन


काठमाडौँ ।


पशुपति क्षेत्र विकास कोषको पुनःसंरचनाको माग गर्दै पशुपतिका स्थानीयवासीले आज प्रदर्शन गरेका छन् । स्थानीयवासीले गठन गरेको पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा छ महिनाअघि कोष सञ्चालक परिषद्बाट पारित भएको गुरुयोजना खारेजी, कोषका पदाधिकारीको राजीनामासमेत माग गरी विरोधका कार्यक्रम अघि बढाइएको हो ।

आइतबारदेखि धर्ना, ‘ब्ल्याक आउट’ लगायत कार्यक्रम जारी राखेको समितिले आज मानव साङ्लो प्रदर्शन गरेको हो । कोषमा राजनीतिक मानिस मात्र राखेको र स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व नहुँदा पशुपति क्षेत्रको प्राचीन बस्ती हटाउने, मौलिक धर्म, संस्कृति, जात्रा, पर्व समेत नाश गर्न खोजेको जनाउँदै पुनःसंरचनाको माग गर्न आन्दोलनमा उत्रनुपरेको समिति संयोजक आशामान सङ्गतले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रमा प्राचीन स्मारक संरक्षण ऐन बाहिर गएर विकासनिर्माणका काम भएको जनाउँदै त्यस्ता काम रोकी विश्वसम्पदा सूचीमा सूचीकृतस्थलको गरिमा कायम राखिनुपर्ने माग समितिको छ ।

समितिका अर्का संयोजक कृष्णमान श्रेष्ठ कोषले १०० वर्षे गुरुयोजना बनाई पहिलेदेखि रहेको बस्ती हटाएर आधुनिक ठूला भवन बनाउन लागेको आरोप लगाउनुहुन्छ । यसअघि कोषले २०५६ सालमा बनाएको पहिलो गुरुयोजना नै पूर्ण नभएको उहाँको भनाइ छ । कोषले २०५९ सालमा सङ्कटकालको मौका छोपी पशुपति क्षेत्रका ३६० घर हटाएको स्थानीयवासीको गुनासो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले कोषलाई गत साउन १८ गते विसं २०५६ देखि २०६६ सम्मको गुरुयोजनाको प्रगति समीक्षा सार्वजनिक गर्न दिएको निर्देशनसमेत पालना नभएको स्थानीयवासीको भनाइ छ । त्यसै दिन मन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयका दुई सहसचिव र पुरातत्व विभागका महानिर्देशक सदस्य रहने गरी गुरुयोजना अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको थियो ।

कार्यदलको समय थपी गुरुयोजना अध्ययन, सरोकार भएका निकायसँग छलफललगायत काम भइरहेको मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो । रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्