काठमाडौं आसपासका क्षेत्रमा बर्डफ्लू फेला, सबैतिर फैलिने सन्त्रास, कसरी जोगिने – Janadesh Daily | ePaper

काठमाडौं आसपासका क्षेत्रमा बर्डफ्लू फेला, सबैतिर फैलिने सन्त्रास, कसरी जोगिने


जनादेश अपडेट ।

काठमाडौंको तारकेश्वर नगरपालिका-७ साङ्लेखोलास्थित एक फार्ममा टर्की चरामा बर्डफ्लू देखिएको छ । टर्की फार्ममा बर्डफ्लू दखिएपछि दुई हजार ५ सय ४४ वटा हाँस, खुकुरा, बट्टाई र टर्की नष्ट गरिएको पशु सेवा विभागले जानकारी दिएको छ।

फार्ममा बर्डफ्लू पुष्टि भएपछि १८६५ हाँस, ६२२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। अहिले उक्त फार्मलाई शिल गरिएको छ। बर्डफ्लू प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कान’ छर्ने काम भइरहेको छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हाँस, खुकुरा र टर्की चरा नष्ट गर्ने काम गरेका १० जनालाई निगरानीमा राखिएको जनाएको छ।

महाशाखाले ती व्यक्तिलाई कम्तिमा सात दिन निगरानी राखी उनीहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिने बताएको छ।

‘तारकेश्वरमा टर्की चरामा बर्डफ्लू देखिएको हो। २५ सयभन्दा बढी चराहरू नष्ट गर्ने काममा संलग्नलाई जोखिम नहोस् भनेर निगरानीमा राखिएको छ,’ महाशाखाका एक अधिकारीले जनादेशलाई जानकारी दिए ।

नेपाल अहिलेसम्म एक जना व्यक्तिमा मात्र बर्डफ्लू पुष्टि भएको छ। काभ्रेका एक पुरुषमा बर्डफ्लू देखिएको थियो ।

कसरी जोगिनेः सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका सुझावः

कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने

माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने

बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने

केही गरि खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने

बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने

पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने

मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने (एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्डफ्लु सर्ने सम्भावना हुँदैन)।

अण्डा राम्रोसँग उमालेर मात्रै खाने, आधा पाकेको अन्डा नखाने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्